coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुपाल्चोक पुनर्निर्माणमा दैनिक डेढ लाख जनशक्ति

सिन्धुपाल्चोक- भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको पुनर्निर्माण दिनप्रतिदिन तीव्र बनिरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ता अनुदान लिने समयसीमा थपेपछि पुनर्निर्माण द्रुतरुपमा अघि बढेको छ।

पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्मै पुनर्निर्माणको चटारो छ । भूकम्पले खण्डहरमा बदलिएका गाउँ, बस्ती पुनर्निर्माणमार्फत ठडिएर आकार लिइरहेका छन् । टहरो बिस्थापित गर्दै तेस्रो बर्खाअघि पक्की संरचनामा छिर्न हतारिएका छन् भूकम्प पीडित । यत्रतत्र घर बनाउने लहर र चटारो हेर्दा आउँदो असारभित्रै सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुग्ने देखिन्छ । 

 ‘पुनर्निर्माणले उत्साहप्रद तीव्रता लिइरहेको छ,’ सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख टंक गौतमले नागरिकसँग भने, ‘यो दर दिनप्रतिदिन बढ्दो छ ।’ हालसम्म जिल्लामा ५७ हजारभन्दा बढी घरको पुनर्निर्माण भइरहेको उनले बताए । डिभिजन इन्जिनियर रहेका गौतमका अनुसार दैनिक कम्तिमा डेढ लाख जनशक्ति पुनर्निर्माणमा परिचालित छन्।

 ‘पुनर्निर्माणले तीव्रता लिइरहेकाले यो संख्या अझै बढ्न सक्छ,’ उनले भने । एउटा घर निर्माणमा दैनिक औसतमा चार–पाँच कामदार खटिने उनको प्राविधिक विश्लेषण छ । तर आलोपालोमा घर पुनर्निर्माण भइरहेकाले दैनिक खटिने जनशक्तिको संख्या अस्थिर छ । ‘दैनिक ३० हजार घरको मात्र पुनर्निर्माण हुँदा १ लाख ५० हजार जनशक्ति परिचालित हुन्छन्,’ उनले भने।

       टोल–टोल, बस्ती–बस्ती र गाउँ–गाउँमा पुनर्निर्माणको चटारो छ । भूकम्प पीडितको तनमनमा पुनर्निर्माणबाहेक अर्थोक देखिँदैन । त्यसैले उनीहरु बेफुर्सदिला छन् । प्राधिकरणले दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म पुर्‍याएपछि पीडित पुनर्निर्माणमा जुरुक्कै जागेका हुन् । यसअघि यो समय पुस मसान्तसम्मलाई तोकिएको थियो।

       जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार गत पुसभित्र घर बनाउन थाल्ने पीडितको संख्या ५० हजार थियो । चैतको समयसीमा थपिएपछि दुई महिनामा थप ७ हजार पीडितले पुनर्निर्माण थालेका छन् । भुँईँ तह (डिपिसी) तहको संरचना तयार भएपछि पीडितलाई दोस्रो किस्ता अनुदान लिने बाटो खुल्छ।

       २०७२ वैशाख १२ को विनासकारी भूकम्पको एक वर्षपछि सिन्धुपाल्चोकबाटै सरकारले पुनर्निर्माण अभियान थालनीको घोषणा गरेको थियो । त्यसयता कति घर पुनर्निर्माण भए भन्ने विश्वसनीय एकीन तथ्यांक भने सरकारी निकायसँग छैन । कार्यान्वयन इकाइको तथ्यांकअनुसार अभियान अन्तर्गत र आफूखुसीसमेत जिल्लामा ११ हजारभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

       तर यो तथ्यांक सरकारी अधिकारी नै स्वीकार्दैनन् । उनीहरुका बिचारमा योभन्दा ठूलो संख्यामा घरको पुनर्निर्माण भइसकेको छ । ५१ हजार घर निर्माणको लागि दोस्रो किस्ता निकासा भइसकेको कार्यान्वयन इकाइको तथ्यांक छ । भुँईँ तहको संरचना बनेपछि पीडितले दोस्रो किस्ता माग गर्छन् । विभिन्न प्रक्रिया हुँदा किस्ता निकासा हुन दुई महिनासम्म समय लाग्ने प्राविधिक बताउँछन् । उनीहरुका अनुसार त्यतिञ्जेल निर्माणाधीन संरचना अन्तिम चरणमा पुगिसक्छ ।

       ‘दोस्रो किस्ता लिएका ५१ हजारकै संख्यामा घर पुनर्निर्माण भएको हाम्रो अनुमान छ,’ इकाइ प्रमुख गौतमले भने । उनका अनुसार डिभिजनले विभिन्न निकाय र संस्थासँग मिलेर ९ हजार जनशक्तिलाई सिकर्मी र डकर्मी तालिम दिएर अर्धदक्ष बनाएको थियो । एक–दुई अर्धदक्ष कामदार लिएर परिवार–परिवारै पुनर्निर्माणमा खटिरहेका छन् ।

       एकैसाथ ठूलो संख्यामा घर बनाउनु पर्दा कामदारको चर्को अभाव भएपछि जिल्लैभर आलोपालो गरेर पीडितले पुनर्निर्माण हाँकिरहेका छन् । गत भदौ–असोजताका जिल्लामा कामदारको चर्को अभाव थियो । छिमेकी मुलुक भारत र मुलुकभित्रकै विभिन्न जिल्लाबाट ठूलो संख्याका कामदार भित्रिएपछि पुनर्निर्माणमा निकै सघाउ पुगिरहेको छ ।

       सिन्धुली, महोत्तरी, बारा, पर्सादेखि तराईका जिल्लासँग सीमा जोडिएका भारतीय कामदार ठूलो संख्यामा भित्रिएका छन् । धेरै दाङ, रुकुम, कैलाली, सुर्खेत लगायत जिल्लाका छन् । कामको खोजीमा परिवारसहित आएका उनीहरु जिल्लाका विभिन्न गाउँ छरिएर पुनर्निर्माणमा सक्रिय छन् ।

       पुनर्निर्माण अनुगमनको क्रममा ठूलो संख्यामा बाहिरी जिल्लाका कामदार पाइए पनि तथ्यांकमा भन्न र बताउन कठिन हुने इकाइ प्रमुख गौतम बताउँछन् । ‘पुनर्निर्माणमा बाहिरी जिल्लाका कामदारको ठूलो बल मिलेको छ। साथै उनीहरुले रोजगारी पनि पाइरहेका छन्,’ उनले भने।

प्रकाशित: ५ चैत्र २०७४ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App