७ वैशाख २०८१ शुक्रबार
समाज

'पत्रकारको सुरक्षा प्रत्याभुति हुनेगरि सरकारले निर्देशिका ल्याउँछ'

काठमाडौं-सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सञ्चारकर्मीहरुको सूरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने स्पष्ट पारेका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘पत्रकारहरुको सुरक्षा, चूनौति र समाधानका उपायहरु’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव थपलियाले भने,‘संविधानले नै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकारले छिट्टै नयाँ निर्देशिका वा नीति ल्याउँदैछ।’

उनले उक्त निर्देशिकामा पाँच किसिमिका सुरक्षाका विषयहरु समेटिने जनाए । उनका अनुसार ती सुरक्षाका विषयहरुमा पहिलो नम्बरमा पत्रकारको सेवा सुरक्षा, दोस्रो कार्यगत सुरक्षा, तेस्रोमा सामाजिक सुरक्षा, चौथोमा कार्यस्थल सूरक्षा, पाँचौमा व्यक्तिगत सुरक्षा रहनेछन्।

गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाले फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षामा खटिने अधिकारीहरुले नियतवश दुर्व्यवहार नगरेको स्पष्ट पारेका छन्।

कोइरालाले भने,‘शान्ति सूरक्षाका लागि योगदान पुर्याउने सुरक्षाकर्मीहरुले नियतवश कसैलाई पनि दुव्र्यवहार गर्दैनन्, जानाजान कसैले पनि कुटपिट गर्दैन्, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ।’

सशस्त्र प्रहरी बलका प्रवक्ता अतिरिक्त महानिरिक्षक शैलेन्द्र खनालले अहिले समस्या र विवाद समाधान गर्नको लागि पत्रकार र प्रहरीवीच आरोप प्रत्यारोप गर्नुभन्दा एक अर्कावीच सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए। उनले भने,‘ पत्रकारहरुको क्यामरा नफोडिने र नतोडिने लगायतका कुराहरु द्धिपक्षीय छलफलबाट पहिचान गरि समाधान गर्न सकिन्छ।’

नेपाल प्रहरीका प्रवक्ता नायव महानिरिक्षक माधव जोशीले फिल्डमा खटिएका पत्रकारहरुमाथि प्रहरीबाट दुव्र्यवहार भएको ठहरिए तत्काल छानविन गरी त्यसलाई कारवाही गर्ने स्पष्ट पारे। उनले अघि थपे,‘गल्ती भएको छ भने त्यसलाई स्विकार्नुपर्छ, अनिमात्रै सुधार हुन्छ।’ 

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय सुरक्षा र संवेदनशिलताको बहाना बनाएर पत्रकारमाथि आक्रमण गर्न नपाईने स्पष्ट पारेका छन्।

विष्टले भने,‘पत्रकारहरुको पेशागत हकहित र सुरक्षाको बारेमा संविधानमा नै स्पष्ट व्यवस्था गरिएको छ, पत्रकारहरुमाथि गरिने सबै खाले ज्यादती र दुव्र्यहार तत्काल बन्द गरिनुपर्छ, यदि घट्ना हुन्छ भने दोषीमाथि कडा कारवाही गरिनुपर्छ।’

उनले अघि थपे,‘पत्रकारले पटक–पटक दण्डहिनता सहन सक्दैन, घट्नामा जसको संलग्नता हुन्छ उसैबाट क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।’ अध्यक्ष विष्टले रिपोर्टिङ्मा खटिने पत्रकारहरुको लागि मिडिया हाउसले नै क्यामेरा लगायतका अन्य आवश्यक सामानहरु व्यवस्था गर्नुपर्नेमा जोड दिए।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमालाले सुरक्षा निकाय र पत्रकारहरुवीच समन्वय, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने धारणा राखे।

फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले फोटोपत्रकारहरुको भौतिक सुरक्षा खतरा रहेको उल्लेख गर्दै राज्य पक्षले यसबारेमा गम्भिरता अपनाउनुपर्ने बताए। कार्कील भने,‘’समाचार संकलन गरेकै आधारमा पत्रकारमाथि किन भौतिक आक्रमण हुन्छ, खासगरी फोटोपत्रकारहरु अहिले असुरक्षित छन्।’

उनले २००७ सालदेखि अहिलेसम्मको ईतिहास हेर्दा राज्यपक्षबाट नै पत्रकारहरुमाथि दुव्र्यवहार भएको गुनासो पोखे । उनले अघि थपे,‘प्रहरीले उद्धार तथा राहतजस्ता राम्रा काम गर्दा हाम्रो साथ चाहिन्छ, तर आन्दोलनमा जनतामाथि दमन गर्दा उहाँहरु हामीमाथि नै खनिनुहुन्छ।’ उनले पत्रकारमाथि भएको दुव्र्यवहारको उचित छानविन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरे । राज्यले आफूहरुलाई पूर्ण सुरक्षाको प्रत्याभुति गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले कार्यस्थलमा खटिने पत्रकारहरुको सुरक्षाको पूर्ण प्रत्याभुति गर्नेबारे रिभ्यु गरिनुपर्ने माग गरे।

 

प्रकाशित: ५ भाद्र २०७३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App