७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

शून्यतिर खस्रे रोग

काठमाडौं – अन्धो बनाउने खस्रे रोग (ट्रकोमा) नेपालमा निवारण हुने अवस्थामा पुगेको छ । नेपाल नेत्रज्योति संघको अगुवाइमा गरिएको एकीकृत विशेष अभियानपछि यो रोग निवारणको चरणमा पुगेको हो।

सरकारले संघलाई सन् १९८१ देखि आँखा स्वास्थ्य सेवाको राष्ट्रिय दायित्व सुम्पेको थियो। नेपालमा उपलब्ध आँखा उपचार सेवाको ९० प्रतिशत हिस्सा संघअन्तर्गत छ। यो संस्था आँखा उपचारका क्षेत्रमा ४ दशकदेखि क्रियाशील छ।

राष्ट्रिय नीतिअनुसार सन् २०१७ भित्रमा खस्रे रोग निवारण गर्ने लक्ष्य राखेर संघले शल्यक्रिया, एन्टिबायोटिक्स खुवाउने, हातमुख धुने र वातावरणीय सुधारका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरेको थियो। यो रोग क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको संक्रमणबाट सर्छ। संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल र झिँगामार्फत पनि यो रोग सर्ने गर्छ। खुला दिसा वा खानेपानी र फोहोर वातावरणले यो रोग फैलिन सघाउँछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार एक १ देखि ९ वर्षभित्रका बालबालिकामा ५ प्रतिशतभन्दा कममा र १ हजारजनामा एकभन्दा कममा संक्रमण भएमा त्यसलाई निवारण भनिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार एक १ देखि ९ वर्षभित्रका बालबालिकामा ५ प्रतिशतभन्दा कममा र १ हजारजनामा एकभन्दा कममा संक्रमण भएको अवस्थालाई निवारण भनिन्छ। संक्रमणपछि  आँखा चिलाउने र माथिल्लो ढकनीमुनिको भाग खस्रो हुँदै जीवाणुले बिस्तारै ५÷७ वर्षभित्र आँखाको नानीमा असर गरेर अन्धोपन गराउँछ। अन्धोपनअघि नै रोग पहिचान भएमा शल्यक्रियाबाट निको हुन्छ।

सन् १९८१ को पूर्ण जनसंख्यामा आधारित सर्वेक्षण (प्रिभ्यालेन्स सर्भे) मा कुल जनसंख्याको ६.९ प्रतिशतमा खस्रे रोग पाइएको थियो भने ट्रकोमाका कारण २.४ प्रतिशत दृष्टिविहीन बनेका थिए। २० भन्दा बढी जिल्लामा १० प्रतिशत जनसंख्यामा खस्रे रोग संक्रमण भइसकेको (एक्टिभ ट्रकोमा) थियो । यस आधारमा ट्रकोमा अन्धोपनको दोस्रो प्रमुख कारण थियो। त्यसपछि सरकारले संघलाई जिम्मा दिएर कार्यक्रम सञ्चालन गरेको थियो।

संघका अनुसार १५ वर्ष अवधिमा खस्रे रोग भएका ३० हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिएको थियो। १० प्रतिशतभन्दा बढी संक्रमण भएका २० जिल्लाका एक करोड ४७ लाख जनसंख्यालाई एन्टिबायोटिक्स खुवाउनुका साथै लाखांैमा सरसफाइ र चेतना विस्तारपछि निवारण सम्भव भएको संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले बताए।

संघअन्तर्गतका १८ आँखा अस्पताल र ८० वटा उपचार केन्द्र छन्। अस्पताल, केन्द्र र स्वयंसेवकमार्फत बढी प्रकोप रहेका जिल्लामा विशेष कार्यक्रम गरिएको थियो। संघका अनुसार बैतडी, डोटी, कञ्चनपुर, कैलाली, अछाम, दैलेख, सुर्खेत, बर्दिया बढी संक्रमण भएका जिल्लामा पर्थे। बाँके, रुकुम, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी, चितवन, रसुवा, पर्सा, बारा रौतहट र सर्लाही जिल्लाका १० प्रतिशतभन्दा बढी जनसंख्यामा खस्रे रोगका संक्रमित थिए। ‘जनसंख्याको ०.८४ प्रतिशतमा अन्धोपन थियो, अहिले ०.३५ प्रतिशतमा मात्रै छ,’ संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले भने, ‘अहिलेको अन्धोपनको ८० प्रतिशत कारण मोतीबिन्दु हो।’

विनाशकारी भूकम्प, तराई क्षेत्रमा आएको बाढी एवं राजनीतिक संक्रमणजस्ता कारणले लक्षितसमयभन्दा केही ढिला निवारणको चरणमा पुगिएको संघले जनाएको छ। संघले खस्रे रोग निवारण अवस्थामा रहेको विभिन्न सर्वेक्षण रिपोर्ट, प्रमाण एवं दस्तावेज स्वास्थ्य मन्त्रालयलाई बुधबारै हस्तान्तरण गरेको संघका कार्यकारी निर्देशक मिश्रले जानकारी दिए। स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघले दिएको दस्तावेजका आधारमा निवारणको आधिकारिक प्रमाणपत्र पाउन विश्व स्वास्थ्य संगठनलाई पत्राचार गर्ने बताइन्।

संघले नेपालका सबै जिल्लामा खस्रे रोगसम्बन्धी सर्वेक्षण सम्पन्न गरेपछि निवारणको अवस्थाको यकिन भएको कार्यकारी निर्देशक मिश्रले बताए। मिश्रका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा खस्रे रोग निवारण भइसकेको बताए। ‘अब प्रक्रिया पूरा गरेर विश्वव्यापी रूपमा प्रमाणीकरण गराई घोषणा गर्न मात्रै बाँकी छ,’ उनले भने।

खस्रे रोग विश्वका ४१ देशका प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। विश्वभर १९ लाख मानिस दृष्टिविहीन वा दृष्टिदोष पीडित छन्। यसको प्रमुख कारक खस्रे रोग हो । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा १९ करोड २० लाख मानिसमा खस्रे रोगको उच्च जोखिम रहेको जनाएको छ।

मानिसको संसर्गबाट सहजै सर्ने खस्रे रोगको प्रकोप न्यूनीकरण गर्न सन् १९९८ मा  विश्वव्यापी उन्मूलनसम्बन्धी प्रस्ताव पारित भएको थियो। डब्लुएचओले सन् २०२० सम्म खस्रे रोग विश्वबाटै उन्मूलन गर्ने लक्ष्य लिएको छ।

निवारण घोषणापछि पनि रोगको निरन्तर निगरानी राख्ने र नयाँ बिरामी खोजी, कुनै ठाउँमा शंकास्पद प्रकोपको सम्भावना रहे विशेष कार्यक्रम चलाउनुपर्ने कार्यकारी निर्देशक मिश्रले बताए। ‘अहिले पनि भारतका धेरै जिल्लामा खस्रे रोगको संक्रमण दर उच्च छ। खुला सिमाना भएको पनि सर्भिलेन्स र नयाँ केस खोजी जारी राख्नुपर्छ,’ उनले भने।

प्रकाशित: ४ चैत्र २०७४ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App