८ वैशाख २०८१ शनिबार
खेल

तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

बुटवल– विभागीय टिम नेपाल पुलिसलाई हराउँदै बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ। बुटवल ११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनलमा थ्री स्टारले नेपाल पुलिस क्लबलाई २—० ले पराजित गर्दै उपाधि उचालेको हो। 

पहिलो हाफसम्म गोल रहित बराबरी भएको खेलको ६६ औ मिनेटमा पुलिसका टिम क्याप्टेन रविन श्रेष्ठले आत्मघाती गोल गरेपछि थ्रि स्टारले अग्रता लिएको थियो। थ्री स्टारका बिमल घर्तीको पासलाई जोगाउन खोज्दा श्रेष्ठको आत्मघाती गोल भएको थियो। सुरु देखिनै आक्रामक खेलेका थ्री स्टारका खेलाडीलाई अग्रताले झनै हौस्यायो। खेलको ७९ औं मिनेटमा थ्रि स्टारका सुनिल बलको आकर्षक पासमा टिम क्याप्टेन निराजन खड्काले गोल गर्न सफल भएका थिए।

पुलिसका युवा खेलाडीहरु माथि थ्रि स्टारका अनुभवी खेलाडी हावी भइदिँदा यसअघि ४ पटक तिलोत्तमा गोल्डकपको उपाधि उचालिसकेको नेपाल पुलिसले यसपटक उपबिजेतामै चित्त बुझाउन बाध्य भयो। खेल अवधिभर राम्रो प्रदर्शन गरेको भएपनि पुलिसका खेलाडीले धेरैवटा राम्रा अवसर गुमाएका थिए।

उपाधि बिजेता थ्री स्टारले ७ लाख ७७ हजार ७७७ नगद सहित गोल्डकप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो। उपबिजेता नेपाल पुलिसले नगद ४ लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्यो। 

प्रतियोगिताको बिजेतालाई बुटवल नगरपालिकाका मेयर सिवराज सुवेदी, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख केन्द्रका प्रमुख कृष्णहरी शर्मा, आयोजक एन्फा रुपन्देहीका अध्यक्ष दीर्घ बहादुर केसी, मुख्य प्रायोजक यशोदा फुडका संचालक नरिश्वर शर्मा लगायतले पुरस्कार प्रदान गरे। 

प्रतियोगितामा थ्री स्टारका क्याप्टेन निराजन खडका सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले होण्डाको स्कुटर पुरस्कार पाए। प्रतियोगितामा उत्कृष्ट कोच थ्री स्टारकै मेघराज केसी भए। उत्कृष्ट स्ट्राइकर नेपाल पुलिसका रेजीन सुब्बा, उत्कृष्ट किपर थ्री स्टारका एलन न्यौपाने, नेपाल पुलिसका रेजिन सुब्बा उत्कृष्ट स्ट्राइकर र रुपन्देही ११ का पूर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर भइ पुरस्कृत भए । 

उत्कृष्ट खेलाडीलाई जनही २१ हजार १११ नगद पुरस्कार प्रदान गरियो। खेलको सम्पूर्ण नगद पुरस्कार सौजन्य लाली चाउचाउको उत्पादक एसोधा फुड प्रालिले गरेको थियो। चैत २४ बाट सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो।

प्रकाशित: ३ चैत्र २०७४ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App