८ वैशाख २०८१ शनिबार
कला

‘गोप्य अंगमा संगीतकारको हात’

यौन दुव्र्यवहारबारे मोडल र हिरोइनका खबर त ‘ओपन सेक्रेट’ नै भइसक्यो तर धेरैलाई थाहा नहुन सक्छ– संगीतकारबाटै यौन शोषण र दुव्र्यवहारमा पर्ने गायिकाको संख्या पनि कम छैन । बाहिरबाट हेर्दा संगीत जगत् जति सुरिलो लाग्छ, यसको अँध्यारो पाटो त्यति नै रुखो छ । अनिल यादवस्मृति ढुंगानाले सुरको बहानामा चलिरहेको गायिकाको यौन दुव्र्यवहारको डरलाग्दो तस्बिर प्रस्तुत गरेका छन्।

००० ०००

संगीतकारको घृणित हर्कत व्योहोरेकी गायिका एन्जिला रेग्मीलाई लाग्छ– यहाँ संगीतकारलाई स्वर मात्रै दिएर पुग्दैन, शरीरै सुम्पिन तयार हुनुपर्छ ।

गायिका मिना सिंहको अनुभवले भन्छ, ‘सम्मानजनक स्थानमा पुगेका संगीतकारहरु पनि गीत गाउने बहानामा गायिकाहरुको गोप्य अंग नै ताक्ने रहेछन् ।’

गायिका सरु गौतमको धारणा पनि उस्तै छ, ‘निःस्वार्थ भावनाले सपोर्ट गर्ने संगीतकार यहाँ कम छन् । सबैको आ–आफ्नै स्वार्थ हुन्छ ।’

०००

बाहिरबाट हेर्दा नेपाली संगीत जगत् जति सुरिलो लाग्छ, यसको अँध्यारो पाटो त्यति नै रुखो छ । माथि तीन गायिकाले दिएको अभिव्यक्ति जति रुखो सुनिए पनि यो क्षेत्रको एउटा कालो पाटो यही हो । संगीत क्षेत्रमा हुने यौन दुव्र्यवहारबारे करिब एक दर्जन गायिकासँग कुराकानी गरेपछि संवाददाताको निष्कर्ष निक्लियो– यहाँ गायिकाहरुलाई संगीतकारबाट जोगिनै गाह्रो छ ।

सबै संगीतकार त्यस्ता छैनन् तर केही छन् जसले पेसाकै बदनाम गराइरहेका छन् ।
अहिलेकी व्यस्त गायिका मेलिना राईले सुरको आवरणमा भइरहेको गायिकाहरुको यौन शोषण र दुव्र्यवहारबारे धेरै सुनेकी छन् । ‘धेरैले भोगेको सुनेकी छु,’ उनले भनिन्, ‘धेरैजसो संघर्षको चरणमा रहेका गायिकाहरु शोषित हुने गरेका छन् ।’

एक्लै भेट्न आउनु है !

थुप्रै गायिकाले संगीतकारको मुखबाट सुनेको वाक्य हो, ‘एक्लै भेट्न आउनु है !’ दुई वर्षअघि गायिका एन्जिला रेग्मीलाई एक जना नाम चलेका संगीतकारले काठमाडौंस्थित पुतलीसडकको कार्यलयमा यसैगरी भेट्न बोलाएका थिए । त्यतिबेला एन्जिला १७ वर्षकी मात्रै थिइन् । गीत दिने बहानासहित रेग्मीको बाबुको उमेर समानका संगीतकारले कार्यालय बोलाएर दुव्र्यवहारको प्रयास गरेको तीतो अनुभव साटिन् उनले ।
‘पुतलीसडक, सेयर मार्केटनजिकै मुख्य चोकबाट थोरैभित्र अँध्यारो कोठामा रहेको कार्यालयमा पु¥याएर ती संगीतकारले हात समातेर काखमा बसाउन खोजे,’ उनले कहालीलाग्दो क्षण सम्झिइन्, ‘बाउसमान मान्छेको नियत मैले बुझिहालेँ । भोलि आउँछु, आज काम प¥यो भनेर तत्काल बाहिर निस्किएँ ।’
अहिले पनि ती संगीतकारसँग स्टुडियोतिर आक्कलझुक्कल उनको भेट हुन्छ । अहिले पनि ‘काम गर्नुपर्छ है’ भन्न छाडेका छैनन् उनले ।
संगीतकारले गीत दिने बहानामा गायिकालाई आफ्नो व्यक्तिगत अफिसमा बोलाउने प्रवृत्तिप्रति गायिका प्रविशा अधिकारीलाई चित्त बुझ्दैन । १० वर्षदेखि संगीत क्षेत्रमा सक्रिय उनको चित्त नबुझ्नुको कारण अस्मिताको सुरक्षाको चिन्ता देखियो ।
‘एकजना चलेकै संगीतकारको फोन आयो । फोनमा उहाँले ‘दुई–चार वटा गीत छ, अफिस भिजिट गर्नुस्, आउनुस् भन्नुभयो,’ उनले सम्झदै भनिन्, ‘अफिस बोलाएकै उचित लागेन । म गइनँ । पछि तिनै संगीतकारबारे अरुको मुखबाट नराम्रो बानी सुनेँ ।’
उनको निष्कर्ष छ, ‘यहाँ केही संगीतकारको नियतमा खोट देखिन्छ ।’  
शुक्रबारकर्मीले भेटेका अन्य गायिकाले पनि अवसरको प्रलोभनमा हुने दुव्र्यवहार र यौन शोषणबारे त्रासद अनुभव साटे तर उनीहरु प्रविशा र एन्जीलाझैँ सार्वजनिक हुन चाहेनन् ।
‘प्रायः संगीतकर्मीलाई भेट्न जाँदा  बुबालाई लिएर जान्छु, त्यतिबेला केही संगीतकारले एक्लै भेट्न आऊ भन्दै थर्काउँछन् । नत्र अवसर नदिने धम्की पनि दिन्छन्,’ एक गायिकाले भनिन् ।

१२ बजेपछि...

संगीतकारले गर्ने दुव्र्यव्यवहारको पीडादायी अनुभव गायिका मीना सिंहसँग पनि छ । एकदिन उनलाई एकजना चलेका संगीतकारले साँझ पाँच बजे फोन गरेर ‘काम छ अफिस आउनू’ भने । त्यतिबेला उनको खासै कमाइ थिएन । हस्याङफस्याङ गर्दै उनी ती संगीतकारको डिल्लीबजारस्थित अँध्यारो अफिसमा पुगिन् । उनले चर्चित गायक–गायिकाको नाम लिँदै आफ्नै बखानबाट कुरा सुरु गरे, ‘फलानी चर्चित गायिकालाई मैले बनाएको हो । अब तिमी पनि त्यस्तै चर्चित बन्नुपर्छ । यो गीत मैले तिम्रा लागि सोचेर तयार गर्न लागेको हुँ । त्यसपछि त तिमी मालामाल हुन्छौ ।’
चुपचाप सुनिरहिन उनले । त्यसपछि संगीतकारले आफ्नो इच्छा व्यक्त गरे, ‘यो अवसर दिएबापत मैले के आशा गरौं ?’
काम नपाएर हैरान भएको बेलामा मीनाले उनलाई बिच्काउन चाहिनन् । नबुझेझैं गरेर ‘गीत गाएबापत पैसा लिन्नँ’ भनिन् । रिसले मुर्मुरिँदै कोठामा फर्किइन् । केही दिनपछि तिनै संगीतकारले मध्यराति १२ बजे फोन गरेर चर्चित संगीतकारहरु भेट्न पर्खिरहेको बताउँदै पुतलीसडकस्थित कुमारी क्याफेमा तुरुन्त ट्याक्सी लिएर आउन भने ।  
‘१२ बजे राति कसरी आउनु ? भोलि भेट्दा हुन्न ?’ भनेर जवाफ फर्काउँदा ती संगीतकारले मीनाको मुटु नै बिझाउने जवाफ दिए, ‘गायिका र नायिकाको लाइफ राति १२ बजेपछि त सुरु हुन्छ !’

चान्सको बदलामा मलाई के ?

एन्जिलाले भनेजस्तै यहाँ केही संगीतकारलाई गायिकाको मीठो र सुरिलो स्वर मात्रै भएर पुग्दैन । गीत गाउने अवसर बापत शरीर सुम्पनसमेत राजी हुन सक्नुपर्छ ।
५ वर्ष संगीत शिक्षा लिएपछि ८ महिनायता सक्रियतापूर्वक संगीतमा लागिरहेकी गायिका सुशीला पाठकको अवसरको बहानामा ‘चान्स’ मार्न खोज्ने संगीतकारसँग सामना भइसक्यो ।
सुशीलाको सूचीमा ती संगीतकार अहिलेका चल्तीका पाँचमध्येमा पर्छन् । ती संगीतकारले उनीसँग ‘मसँग यस्ता–यस्ता फिल्मी गीत छन्, भेटेर कतै घुम्न जाऊँ, गीत सुनौँ अनि खाँदै रमाइलो गरौैँ’ भन्दै प्रस्ताव राखेछन् । ‘मेरो गीत गाइसकेपछि हिट हुन्छौँ’ सम्म भनिरहेका थिए तर उनको खराब नियत बुझेपछि प्रस्ताव सिधँै अस्वीकार गरेको बताइन् उनले ।
‘मलाई संगीतकारहरुले मुभीको गीत धेरै सुनाउँछन् । गाउन दिन्छु पनि भन्छन् । पछि ‘यो त्यो’ भन्न थाल्छन् । ठीक लाग्दैन,’ उनले दुःख पोखिन् ।

किन बोल्दैनन् कलाकार ?

हलिउड÷बलिउडमा कलाकारमाथि हुने यौन दुव्र्यवहारबारे खुलेर आवाज उठ्न थालिसकेको छ तर नेपालमा अझै कलाकारहरु खुलेर बोल्न चाँहदैनन् ।
थुप्रै गायिकाहरुले शुक्रबारकर्मीसँग ‘अफ द रेकर्ड’ आफूले भागेको दुव्र्यव्यवहारको अनुभव सुनाए तर खुलेर बाहिर आउन डराए । ‘हाम्रो संगीत क्षेत्र सानो छ, चलेका संगीतकार पनि थोरै छन्,’ एक गायिकाले भनिन्, ‘जति नै नराम्रो व्यवहार गरेपनि भोलि तिनैसँग काम गर्नुपर्ने अवस्था छ । त्यसैले आवाज उठाएर केही फाइदा हुने वाला छैन ।’
गायिका सुशीला भने गायिकाहरुले आफूमाथि हुने यौन दुव्र्यव्यवहारको खुलेर विरोध नगरेसम्म समस्या समाधान नहुने बताउँछिन् । ‘तर यहाँ विरोध गर्ने माहोल नै छैन, मैले त्यसरी प्रस्ताव गर्ने संगीतकारको नाम सार्वजनिक गरिदिएँ भने भोलि मलाई मेरै साथीहरुले सहयोग गर्दैनन् । उल्टै म एक्लै हुन्छु,’ उनले गुनासो पोखिन् ।

गायिका मेलिना कसैले यौन दुव्र्यवहार गर्छ भने त्यसको प्रतिकार गर्नुपर्ने पक्षमा देखिइन् । ‘कसैको दुव्र्यवहार सहेर अघि बढ्न जरुरी छैन, अहिले त झन् मिडियाको धेरै ठूलो सपोर्ट छ,’ उनले भनिन् ।

शोषण किन हुन्छ ?

नेपाली समाजमा लैंगिक विभेद महिला र पुरुष दुवैमा छन् । तर, महिला बढी प्रताडित छन् । कला क्षेत्रमा व्यावसायिक रूपमा लाग्न महिलालाई अभिप्रेरित गर्ने वातावरण अझै देखिन्न । जो हिम्मत गरेर प्रवेश गर्छन् उनीहरु यस्तै विकृतिले हतोत्साहित हुन्छन् । कला क्षेत्रको काला कथाका कारण परिवारबाट अनुमति पाउनै संघर्ष गर्नुपर्छ ।
गायिका एन्जिलालाई केही–केही कलाकार खराब भएका कारण अरुले दुव्र्यवहार खेप्नु परेको लाग्छ । ‘केही केही महिला कलाकारहरु सम्झौता गर्न तयार हुँदा यस्तो प्रवृत्ति हावी भएको हो जस्तो लाग्छ,’ उनले भनिन्, ‘यदि हामी सबैले दुव्र्यवहारको खुलेर प्रतिकार गर्ने, आवाज उठाउने हो भने संगीतकारले छुन त के हामीलाई गलत नजरले हेर्न पनि सक्दैनन् ।’
फिल्म समीक्षक मनोज पण्डितको मतअनुसार यही कारण थुप्रै नयाँ अनुहारहरू लुकेर र जबर्जस्ती यो क्षेत्रमा आउनु परेको छ ।
‘यहाँ धेरै गलत बाटोबाट प्रवेश गरिरहेका छन्,’ उनी भन्छन्, ‘प्राविधिक र सामाजिक रूपमा दक्ष मानिस यो क्षेत्रमा प्रवेश गरिरहेको अवस्था एकदमै न्यून छ । अदक्ष भएर आएका कारण नयाँ महिला कलाकारहरू यौन शोषणबाट पीडित भइरहेका छन् ।’

 

प्रकाशित: ३ चैत्र २०७४ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App