६ वैशाख २०८१ बिहीबार
समाज

कर्णाली आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न माग

जुम्ला– संघीय संरचनामा कर्णाली अञ्चललाई सुदूरश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्न माग गरिएको छ। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै आन्दोलनमा होमिएर मृत्युवरण गर्ने ताम्ती गाविस १ का १९ वर्षीय हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरिएको हो। कर्णाली आन्दोलनको एक वर्ष बितेको अवसरमा सरकारसँग यस्तो माग गरिएको हो।

पहिचानको आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएका हरिबहादुर कर्णालीको नायक भएको भन्दै राज्यले उनलाई तत्काल सहिद घोषणा गरी कर्णालीप्रति सम्मान गर्न माग गरिएको युवा समिति जुम्लाका अध्यक्ष रतननाथ योगीले बताए। सरकारले विदेशमा मृत्यु भएका, भीरवाट खसेका र सवारी दुर्घटनामा परेका समेतलाई सहिद घोषणा गरेको भन्दै उनले कर्णालीको पक्षमा लड्दा ज्यान गुमाउने हरिबहादुर कुँवरलाई राज्यले बेवास्ता गर्न नमिल्ने बताए।   

उक्त आन्दोलनमा घाइते भएकाहरुलाई क्षतिपूर्ति समेत माग गरेका छन्। कर्णालीको अधिकारको लागि लड्दालड्दै प्राण आहुती गर्ने उनी प्रथम सहिद भएको उनको दाबी छ। भदौ ६ गते कर्णाली आन्दोलनका क्रममा उनको मृत्यु भएको थियो।

यसैबीच जुम्लाबासीले कर्णाली आन्दोलनका सहिद हरिबहादुर कुँवरको स्मृति दिवस मनाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लामा मृतक कुँवरका आफन्तजन र घाइतेलाई सम्मानसमेत गरिने भएको छ । आन्दोलनका क्रममा ४ जना घाइते भएका थिए।

यसैबी कर्णाली आन्दोलनका सहिद कुँवरको सम्झनामा कुडारी ताम्ती सडकलाई हरिबहादुर मार्ग बनाउने निर्णय भइसकेको छ। त्यो सडक उनको गाविस हँुदै जाने र हरिबहादुर मार्गको रुपमा स्थापित गराउन सके सच्चा सम्मान हुने आन्दोलन परिचालन समितिको धारणा छ।
जिविस जुम्लामा बसेको आन्दोलन परिचालन समितिले राज्यले हरिबहादुरलाई कर्णालीकै पहिलो सहिदको रुपमा घोषणा माग गरेको हो। सदरमुकाम खलंगाको उपयुक्त स्थानमा  शालिक निर्माण गर्ने र हरिबहादुर कोष निर्माण गर्नेसमेत निर्णय भएको थियो।

कर्णाली आन्दोलनका मृतकलाई सहिद घोषणा, गोली हान्ने प्रहरीलाई कार्वाहीको लागि छानविन समिति निर्माण र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था नभए कर्णालीमा अर्को आन्दोलनको हुने कर्णालीवासीले चेतावनी दिएका छन्।  

 

प्रकाशित: ५ भाद्र २०७३ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App