१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दौरा–सुरुवाल

प्रतिनिधिसभाको सभामुख पदमा भर्खरै निर्विरोध निर्वाचित हुनुभएका कमरेड कृष्णबहादुर अकस्मात दौरा–सुरुवालमा प्रकट भएपछि पूरा संसद् सचिवालय नै चकित हुन पुग्यो । सचिवालयको भित्र–बाहिर, तलतिर माथितिर, उतातिर, यतातिर, चारैतिर एउटै कुराको चर्चा चल्यो– सभामुखज्यू त दौरा–सुरुवालमा आउनु भएछ, के भो आज ? वा के भएन ? दिनभरिको चर्चा त्यसैमा केन्द्रित रह्यो।

सबैलाई थाहा भएकै कुरा हो, कमरेड महरा यसअघि मन्त्री पनि बनिसक्नुभएको छ । मन्त्रीपछि उपप्रधानमन्त्री पनि बन्नुभयो । जे बने पनि दौरा–सुरुवाल चाहिँ लगाउनुभएन । कमरेड प्रचण्डले त झन् प्रधानमन्त्री हुँदा पनि दौरा–सुरुवाल लगाउनुभएको थिएन । ‘दौरासुरुवाल सामन्तीहरूको प्रतीकजस्तो लाग्छ,’ एकपटक प्रचण्डले भन्नुभएको थियो।

जनयुद्ध चलिरहुन्जेल माओवादीका कुनै पनि नेताले दौरा–सुरुवाल लगाएका थिएनन् । नेताको के कुरा कार्यकर्ताले पनि लगाएको थिएन । तर, अहिले स्थितिमा बदलाव आएको छ । बदलाव आउनु स्वाभाविक पनि हो । किनभने माओवादीले जनयुद्ध गरेकै बदलावका लागि हो । जसले देशमै बदलाव ल्याउन खोजिरहेको छ, सबैभन्दा पहिले त ऊ आफैँ बदलिनुपर्‍यो । माओवादीले त्यसै गरेको छ । माओवादीमा अहिले ठूलो बदलाव आएको छ । र, त्यसको झलक माओवादीको दौरा–सुरुवालमा देखिइरहेको छ ।
माओवादी नेतालाई दौरा–सुरुवालमा देखेपछि मानिसहरू छक्क पर्नु स्वाभाविकै हो । कमरेड महरालाई देख्दा पनि त्यस्तै भयो।

मानिसहरू छक्क । एउटाले सोधिहालेछन्, ‘कमरेड, तपाईं पनिदौरा–सुरुवालमा?’कमरेड महराले भन्नुभयो, ‘हजुर, यो पहिचान पनि हो ।’सोध्ने अलि जिराहा परेछन्, फेरि सोधेछ, ‘हैन, कमरेडले त योभन्दा पहिले कहिल्यै दौरा–सुरुवाल लगाएको देखेको थिइनँ, कसरी तपाईंको पहिचान भयो ?’‘अहिले होइन पहिले,’ उहाँले कुराको सार मिलाउनुभयो, ‘बच्चा बेला म सधेँ दौरा–सुरुवाल नै लगाउँथेँ । बीचमा छाडेँ । अहिले फेरि लगाएँ । यो लगाउन मलाई कुनै अप्ठेरो छैन ।’

कमरेडको यो स्पष्टोक्ति सुनेर मलाई एकाएक गाउँको मेरा मित्र दुकुको सम्झना भयो । गाउँमा हुँदा दुकुको चर्तिकला वारि र पारिको गाउँमा समेत प्रख्यात थियो । कहिलेकाहीँ कतै दुकु महात्म्य चल्यो भने यदाकता त्यसमा मेरो पनि जोडिएर आउने गथ्र्यो । ठूलो हुँदै गएपछि दुकुको त्यो चर्तिकला पनि हराउँदै जान थाल्यो । म त सानैमा सहर आइहालेँ । दुकुचाहिँ सहरमा स्कुल जानुपर्ला भनेर बाउआमाले पठाउँदा पनि आएनन् । गाउँमै बसे । खेतीपाती नै गरे । नराम्रो भएन।

धेरैलाई दौरा–सुरुवालले चिटिक्क पारे पनि कसै–कसैलाई चाहिँ त्यही दौरा–सुरुवालले नांगेझार पनि पार्न सक्दो रहेछ । जस्तो कि अहिले कमरेड महरालाई पारिदियो ।
 

एकदिन दुकु सहर आए । आउन त उनी मामा भेट्न भनेर आएका थिए । खाने–बस्ने भने मकहाँ भयो । मामा त नामै मात्र भयो । एकपटक दुकुलाई काठमाडौं देखाउँ भनेर घुमाउँदै थिएँ । धरहरा देखाएर उनलाई टुँडिखेल नजर गराउँदै थिएँ, उनी त टुँडिखेलको एउटा बारनेर गएर मजाले तुक्र्याउन पो पुगेछन् बा ! टुँडिखेलको बारमा तुक्र्याउनु, सानो कुरा त होइन यो ।‘ओई दुकु ! के गर्‍याे यो ?’ मैले बीचैमा तान्न गएँ।‘के गर्या, देखिनस् ? यहाँ मान्छेको बमै फुट्लाजस्तो भइसक्यो । खोइ छाड् !’ दुकु झर्के ।‘बम फुट्न लाग्यो भन्दैमा जहाँ पायो त्यहीँ तुक्र्याउन पाइन्छ ?’ मैले हप्काएँ ।

‘बच्चा बेला त तुक्र्याइन्थ्यो नि,’ दुकुले तर्क गरे, ‘म त बच्चाबेला जहाँ पायो, त्यहीँ तुक्र्याइदिन्थेँ । पछि  त्यसरी तुक्र्याउन छाडेँ । अहिले फेरि तुक्र्याएँ ।’तिनै दुकु ठूलो भएर अहिले कमरेड महरा हुन पुगेका त होइनन् । तर पनि दुवैको तर्क ठ्याक्कै मिलेको देखेर म पुलकित छु।

अब जहाँसम्म दौरा–सुरुवालको कुरा छ, त्यो त एउटा पोसाक हो । भन्न त यसलाई राष्ट्रिय पोसाक भनिएको छ । तर पोसाक राष्ट्रिय भए पनि अराष्ट्रिय भए पनि त्यसको एउटै मात्र काम भनेको मानिसको लाज छोप्ने हो । जोसँग लाज छ, उसको लाज त सामान्य पोसाकले पनि छोपिदिन्छ । तर, जोसँग लाज छैन,  उसको पनि दौरा–सुरुवालले छोप्न सक्छ । लाजै नहुनेहरूको लाज पनि यदि कुनै पोसाकले छोप्छ भने त्यो दौरा–सुरुवालले मात्र छोप्छ । यस्तो शक्ति हुन्छ, दौरा–सुरुवालमा।

तर कमरेड महराको सन्दर्भमा भने दौरा–सुरुवाल अलि भिन्नै ढंगले प्रकट भएको मैले पाएँ । उहाँले दौरा–सुरुवाल लगाएको देखेर सबैको आँखा दौरा–सुरुवालमै केन्द्रित भइरह्यो । मेरो आँखा भने दौरा–सुरुवालमा होइन, अलि अन्तैतिर गइरहेको थियो ।

अब कहाँ गइरहेको थियो, त्यो यहाँ भन्न अलि अप्ठेरो छ । माथि भनिहालेँ, पोसाकको काम मान्छेको लाज छोप्ने हो । तर महरा कमरेड त दौरा–सुरुवालमा पूरा ‘एक्सपोज’ पो हुनुभएको रहेछ । उहाँको जिउमा दौरा–सुरुवाल त छ, तर प्रकटमा भने यस्तो देखिइरह्यो मानौँ उहाँको जिउमा कुनै पोसाकै छैन ।

अर्थात् दौरा–सुरुवालमा उहाँ पूरा नांगै देखिइरहनुभएको थियो । अरु पोसाकमा उहाँलाई मैले यस्तो देखेको थिइनँ । तर दौरा–सुरुवालमा उहाँ नांगो देखिनुभयो । के भएको यो ? यस्तो त हुनुनपर्ने।धेरैलाई दौरा–सुरुवालले चिटिक्क पारे पनि कसै–कसैलाई चाहिँ त्यही दौरा–सुरुवालले नांगेझार पनि पार्न सक्दो रहेछ । जस्तो कि अहिले कमरेड महरालाई पारिदियो ।

प्रकाशित: ३ चैत्र २०७४ ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App