coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चट्याङले ९७ भेडा मरे

म्याग्दी- जिल्लाको अति दुर्गम गुर्जा गाविसको चरन क्षेत्रमा चट्याङ पर्दा १५ लाख बराबर नोक्सानी भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ। गत मंगलबार राति माथिल्लो बुकीमा ९७ भेडाबाख्रा चट्याङ लागेर मरेका थिए। जिल्ला सदरमुकाम बेनीबाट २६ कोस टाढाको गुर्जा गाविसबाट करिब डेढ दिनको पैदल यात्रापछि पुगिने खर्कमा प्रहरी सहितको टोलीले क्षतिको विवरण संकलन गरेको पशु सेवा कार्यालयका प्राविधिक डिल्लिराम रेग्मीले बताए।

'गाउँमै दुई दिनपछि खबर आएको थियो। चट्याङले दुईजना गोठाला समेत घाइते भएकाले समयमै सूचना आउन पाएन,' उनले भने। चरन क्षेत्रमा घाइते भएकासमेत दुई दिनपछि मरेको रेग्मीले बताए। पशुसेवा कार्यालयबाट प्राविधिक तारानाथ जैसीको नेतृत्वमा र ताकम प्रहरी चौकीबाट समेत टोली खटिएका थिए। खर्कमा समय समयमा ठूला चट्याङ पर्ने गरे पनि यसपालि सबैभन्दा ठूलो क्षति भएको कृषकको भनाइ छ।

पशुसेवा कार्यालयले घटनामा क्षति बेहोरेका किसानलाई आवश्यक सहयोगका लागि केन्द्रमा पहलसमेत गरेको छ। चट्याङले ९ कृषकका भेडाबाख्रा मरेका थिए। ४ देखि ३५ हजार रुपैयाँसम्म मूल्य  पर्ने भेडा  मरेपछि कृषक चिन्तित भएका छन्। भेडीखर्कका विभिन्न स्थानमा ६ सय ५० हाराहारी भेडाबाख्रा छन्। भेडालाई महिलाको पर्व तीजलगत्तै बजारमा लैजाने तयारीमा रहेका कृषकले मरेका भेडालाई खाल्टोमा गाडेको गुर्जा गाविसका बालकुमार छन्त्यालले बताए।

'राहतको पखाइमा छन्। सामान्य आय भएका किसानले धेरै क्षति बेहोरेका छन्,' उनले भने। चरन क्षेत्रमा ५६ वटा भेडा, ३६ खसी र ५ साँडे मरेका छन्।  जसमा सबैभन्दा धेरै नरे विकको २५, मानवीर विकको १९, अमृत छन्त्यालको १६, दिलु विकको १२, दुर्गा विकको ७, खिमसरा विकको ६, याम छन्त्यालको ५, प्रेम छन्त्यालको ४ र मोतीलाल विकको ३ वटा भेडाबाख्रा मरेका छन्। गत आर्थिक वर्षमा समेत चरन क्षेत्रमा विभिन्न रोग देखिएका कारण जिल्लाको उत्तरी क्षेत्रका कृषकले व्यापक क्षति बेहोरेका थिए। जिल्लाको शिख, खोप्रा, दोवा,  मुना, गुर्जा, पाखापानी, कुइनेमंगले, मुदी लगायत माथिल्लो क्षेत्रमा करिब ७२ हजार भेडाबाख्रा रहेको अनुमान छ।

बिमा नगर्दा नोक्सानी किसानकै टाउकोमा

चट्याङले ठूलो संख्यामा भेडा बाख्रा मरे पनि बिमा नगरेका कारण भेडापालक किसानले उक्त क्षति आफैंले बेहोर्नुपर्ने भएको छ।

केही महिनाअघि चरन क्षेत्रमा फैलिएको झुसिलकिराले उत्तरी क्षेत्रको बेगखोला, चिमखोला, कुइनेमंगले सहितका गाविसमा ठूलो संख्यामा भेडाबाख्रा सहित पशु चौपाया मर्दा पनि किसानले यही नियति बेहोरेका थिए।

नेपाल सरकारले पशु बिमामा अनुदान घोषणा गरे पनि जिल्लामा प्राकृतिक प्रकोप सहित रोगको संक्रमणले बर्सेनि किसानले लाखौं क्षति बेहोर्छन्। कृषकलाई बिमाबारे जानकारी नहुँदा र बिमा कम्पनीहरु सहरमै मात्र सीमित हुँदा बिमा गरेर क्षतिबाट बच्ने अवसर किसानले पाएका छैनन्।

जिल्ला पशुसेवा कार्यालयले हरेक कार्यक्रममा बिमा सम्बन्धी विषेश जानकारी दिने गरे पनि कृषकले वास्ता गरेका छैनन्।

गत आर्थिक वर्ष जिल्ला सदरमुकाम बेनीमा कार्यालय स्थापना गरेको प्रभु इन्स्योरेन्स कम्पनीले पशुसेवा कार्यालयले सिफारिस गरेका धेरैजसो पशु चौपायाको बिमा गरे पनि आवश्यक र बढी क्षति हुने क्षेत्रमा पुगेर प्रचारप्रसार सहित बिमाको महŒव बुझाउन सकेको छैन। 'गाउँका कृषकलाई पशु बिमाबारे जानकारी नै छैन। बर्सेनि नोक्सानी बेहोर्नुपरेको छ,' गुर्जाका सामाजिक परिचालक झकबहादुर छन्त्यालले भने। उनले कृषि कार्यालय र पशुसेवा सहित बिमा कम्पनीले समेत गाउँ अभियान सञ्चालन गरे बर्सेनि लाखौं रुपैयाँ नोक्सानीबाट कृषक बच्ने बताए। जिल्लामा यस वर्ष बाढीपहिरो, चट्याङ सहित  विभिन्न रोगबाट कृषकले ठूलो क्षति बेहोर्नुपरेको छ।

यता जिल्ला पशुसेवा कार्यालयले सञ्चार माध्यमसहित सेवा केन्द्रसम्मबाट अभियान सञ्चालन गरिएको जनाएको छ। 'अहिलेसम्म भएका सबै बिमा हाम्रो प्रयासमा हो। हामीले धेरै प्राथमिकता दिए पनि बिमा कम्पनीमा पर्याप्त कर्मचारी छैनन्,' वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईँले भने। उनले तालिम, गोष्ठी सहित गाउँ अभियानमा समेत हरेक कार्यक्रममा बिमाको महŒव बुझाउने गरेको दाबी गरे।

यता प्रभु इन्सुरेन्स कम्पनी म्याग्दी शाखाका प्रमुख धुव्रबहादुर चोखालले गाउँ तहसम्म पुगेर बिमा गरेको दाबी गरे। उनले पशुसेवा कार्यालयसँग सहकार्य गरी जिल्लामा बिमा गरिरहे पनि जनशक्ति अभावले अपेक्षा अनुसार काम गर्न नसकिएको बताए। 'गाउँबाट एकजनाले बिमा गर्छु भन्दा समय व्यवस्थापन गर्न सकिएको छैन। केन्द्रमा कर्मचारी थपको प्रस्ताव गरेको छु,' चोखालले भने। बेनी नगरपालिका र ३५ गाविसमा एकजना कर्मचारी रहेको भन्दै पशुसेवा कार्यालय समेत असन्तुष्ट छ। जिल्लामा बिमा गर्न इच्छुक कृषक प्रशस्त रहेको बताइन्छ।

पशु चौपायाको बिमाबारे कृषकले समेत चासो नदेखाउँदा समस्या भइरहेको कम्पनीको भनाइ छ। एउटा पशु चौपायाको बिमा गर्दा बिमा शुल्कको २५ प्रतिशत कृषकले तिनुपर्छ भने बाँकी ७५ प्रतिशत सरकारले तिर्ने गरेको छ। एक लाख  मूल्यको भैंसीको बिमा गर्दा किसानले १२ सय ५० रुपैयाँ तिर्नुपर्ने सन्देश प्रवाह गरेपछि आकर्षित भएका कृषकले दैनिकजसो फोन गर्ने गरेको पशुसेवा कार्यालयको भनाइ छ। भेडा, बाख्रा, गाई, भैंसी, घोडा, खच्चड, बंगुर लगायत पशु तथा कुखुरा, हाँस जस्ता पक्षीहरुको बिमा गर्न सकिने व्यवस्था छ। हालसम्म जिल्लामा १४ सय ५० कुखुरा, १ सय ३३ बाख्रा, ३७ गाई, ११ खच्चड र ८ भैंसीको बिमा गरिएको छ।

प्रकाशित: ५ भाद्र २०७३ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App