४ वैशाख २०८१ मंगलबार
अर्थ

दुर्घटनापछिको अफवाहले पर्यटकमा अन्योल

पोखरा – जोवाक्विम जोस लुजिया परेरा पोर्चुगलबाट घुम्न आएका हुन्। त्यहाँको एउटा चर्चित व्यापारिक समूहमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कार्यरत परेराको यो नेपाल भ्रमण पहिलो हो। केही दिनअघि आएका उनी एक महिना यतै रहनेछन्। 

परेराको घुमघाम रोमाञ्चक रुपमा चलिरहँदा गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बांगला जहाज दुर्घटनामा प¥यो। दुर्घटनामा जहाजका धेरै यात्रुले ज्यान गुमाए। जहाज दुर्घटनालगत्तै नेपालमा रहेका परेराप्रति परिवार चिन्तित बन्यो र तत्कालै घर फिर्न दबाब दियो।

पोर्चुगलमा रहेका उनका आफन्त र साथीभाइ जहाज दुर्घटनापछि निकै नै तर्सिए। कारण थियो– जहाज दुर्घटनापछि सामाजिक सञ्जालमा नेपालको हवाई यात्राबारे भ्रामक सन्देश फैलिनु। नेपालको हवाई यात्रा असुरक्षित रहेको सन्देश हावा झैं फैलिएको उनले बताए। विदेशी सञ्चार माध्यमबाट पनि नेपालको हवाई यात्रा असुरक्षित रहेको सन्देश तत्काल फैलिएको उनले बताए। 

‘दुर्घटनामा परेको जहाजका क्याप्टेन र विमानस्थल टावरका एअर ट्राफिक कन्ट्रोलर (एटिसी) बीचको कुराकानीको अडियो फैलिनु झनै गलत थियो। त्यसले नेपालको हवाई यात्रा जोखिमपूर्ण रहेछ भन्ने भ्रम छ¥यो,’ परेराले भने, ‘त्यही भएर मेरो परिवार आत्तियो।’ धेरैको चासो अब उनी कसरी घर फिर्छन् भन्ने थियो। दुर्घटनाको समाचार थाहा पाएलगत्तै आमाले आत्तिएर फोन गरेको उनले सुनाए।

साथीभाइले पनि चिन्ता जनाउँदै सम्पर्क गरेको उनले सुनाए। ‘जहाज दुर्घटनापछि यति छिटो नराम्रो सन्देश पैmलियो कि नेपालमा रहेका हामी सबै असुरक्षित छौं भन्ने परिवारलाई लागेछ,’ बिहीबार विहान नागरिकसँगको भेटमा परेराले भने, ‘जहाजका यात्रुबाहेक सबै सुरक्षित थियौं। तर, सन्देश गलत तरिकाले फैलियो। भूकम्प गएको बेला जस्तै नेपालमा सबैजना असुरक्षित छन् भन्ने भएछ।’

परेराको विचारमा सामाजिक सञ्जालमा जहाज दुर्घटनामा परे पनि आफू सुरक्षित रहेको सन्देश पोस्ट गरिनु डरको अर्काे कारण थियो। ‘विदेशी सञ्चार माध्यमले ‘कन्फ्युजन’ हुँदा दुर्घटना भएको भन्ने समाचार दिए,’ विदेशी सञ्चार माध्यममा जहाज दुर्घटनाबारे आएको समाचार देखाउँदै उनले भने, ‘एटिसीले क्याप्टेनलाई गलत निर्देशन दिएका रहेछन् भन्ने तरिकाले समाचार फैलिएछ।’

गलत सन्देशका कारण जहाज दुर्घटनालाई पनि भूकम्प जस्तै ठानिएको उनको बुझाइ छ। ‘मेरो सम्पर्कमा रहेका धेरै विदेशी नेपाल आउन डराएका छन्,’ उनले भने, ‘नेपालको हवाई यात्रा पूरै असुरक्षित छ भन्ने खालको सन्देश फैलिएको छ। यो भ्रम चिर्न ढिलो भयो भने नेपालले पर्यटक गुमाउनेछ।’

परिवारजनलाई विश्वास दिलाउन आफूलाई गाह्रो परेको उनले बताए। ‘सबैजना अन्योलमा परेर मलाई सम्पर्क गरे,’ उनले भने, ‘दुर्घटना हुनु र ज्यान जानु दुखद थियो। तर, नेपालको आकाशमा हुने हवाई उडान निकै असुरक्षित छ भन्ने गलत सन्देश छरियो।’

दुर्घटनापछिको भ्रम चिर्न सबै पर्यटन व्यावसायी र सरकारले जहाज दुर्घटना हुँदैमा नेपाल भ्रमण असुरक्षित छैन भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाइ छ। 

आफन्तले नेपालमा अवस्था कस्तो छ, कसरी बसिरहेका छौं, बाहिर हिँडडुल कस्तो छ। घर फर्किन कत्तिको सुरक्षित छ भनेर सोधेको उनले सुनाए। ‘तर, मैले बाहिर फैलिएको सन्देश वास्तविक होइन। यहाँ सबै सुरक्षित छन्। घुमाइ रोमाञ्चक चलिरहेको छ। एउटा जहाज दुर्घटना हुँदैमा सबै असुरक्षित हुुँदैनन भन्ने सन्देश दिएको छु,’ उनले भने, ‘दुर्घटना जहाँसुकै हुन्छ, एउटा दुर्घटना हुँदैमा सबै डराउनु पर्दैन भनेर सम्झाएको छु।’
 
पर्यटन व्यवसायीका अनुसार पोखरामा रहेका विदेशी दुर्घटनापछिको सन्देशले तर्सिएका छन्। नेपाल आउने तयारीमा रहेका पाहुना पनि दोधारमा छन्। ‘नेपाल आउजाउ नै असुरक्षित छ भन्ने सन्देश फैलिएको छ,’ नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चल च्याप्टर अध्यक्ष सन्तोष पोखरेलले भने, ‘नेपालमा हुने जति सबै पाहुनालाई तिमी सुरक्षित छौ त ? भनेर आफन्तले सोधेका छन्। ‘दुर्घटनापछि नेपालको हवाई यात्राबारे झनै प्रश्न उठ्यो।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा पनि सबैतिर नेपालको हवाई यात्रा असुरक्षित छ भन्ने सन्देश फैलिएको बताउँछन्। ‘अडियो बाहिरिएपछि त झनै नेपालको हवाई यात्राबारे प्रश्न उठेको छ,’ उनले भने, ‘विमानस्थल टावरबाट जहाजलाई सही निर्देशन हुँदैन र त्यसले दुर्घटनाको जोखिम छ भन्ने सन्देश फैलिएको छ। यो चिर्न जरुरी छ।’ उनले सरकारले जतिसक्दो छिटो गलत सन्देश चिर्न नसक्ने हो भने त्यसको मार पर्यटनमा पर्ने उनले बताए।

प्रकाशित: २ चैत्र २०७४ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App