coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्वास्थ्यको पहुँचमा अगाडि

कोहलपुर – प्रदेश नम्बर ५ प्रदेश अन्य प्रदेशका तुलनामा स्वास्थ्य पहुँचमा सुविधाजनक देखिएको छ। यहाँका १२ जिल्लामा सानाठूला सरकारी र निजीसहित ५७ वटा सुविधाजनक अस्पताल सञ्चालनमा छन्। साविक भेरी, राप्ती, लुम्बिनी अञ्चलका अञ्चल र क्षेत्रीय अस्पताल निजी र सरकारी संरचना प्रदेश नम्बर ५ मा रहेकाले अन्य प्रदेशभन्दा स्वास्थ्य सेवा, सुविधा र पहुँचमा अगाडि देखिएको हो। 

प्रदेश नम्बर ५ का जनताले राजधानी र भारतका अस्पतालमा उपलब्ध क्यान्सर, मुटु, मृगौला, मस्तिष्क, हाडजोर्नीका जलिट रोगको उपचारका लागि बाहिर जान नपर्ने देखिएको छ। नवलपरासी, रूपन्देही, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दियाका सरकारी र निजीसहितका पाँच दर्जनको संख्यामा रहेका ठूला निजी र सरकारी अस्पताल पर्याप्त छन्।

आठ हजार ६ सय पाँच (८,६०५.४) बर्गकिलोमिटर क्षेत्रफल र ४८ लाख ९१ हजार २५ जनसंख्या रहेको प्रदेश नम्बर ५ का लागि अहिलेको स्वास्थ्य पहुँच र संरचना पर्याप्त रहेको चिकित्सक तथा स्वास्थ्य सेवा सञ्चालक बताउँछन्। समग्रमा प्रदेश नम्बर ५ को मेडिकल कलेज र समग्र स्वास्थ्य अवस्था अब्बल रहेको छ।

यहाँ शिक्षण मेडिकल कलेज, क्षेत्रीय, अञ्चल, जिल्ला अस्पतादेखि निजी अस्पताल र नर्सिङ, एमबिबिएस, एचए, सिएम, फार्मेसी अध्ययन गर्ने स्वास्थ्य संस्थासमेत प्रशस्त रहेका छन्।

प्रदेश नम्बर ५ को बाँकेमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, भेरी अञ्चल अस्पताल, सुशील कोइराला क्यान्सर अस्पताल खजुरा, वेस्र्टन हस्पिटल, वैष्णवी अस्पताल, सिद्धार्थ अस्पतालदेखि आएनएफको क्षयरोग अस्पतालसमेत सञ्चालनमा रहेको छ। बाँके जिल्लामा मात्र साना ठूला अस्पताल १९ वटा सञ्चालनमा रहेका छन्।

उता दाङमा राप्ती अञ्चल अस्पताल तुल्सीपुर, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, आयुर्वेदिक अस्पताल दाङ ठूला अस्पतालका रुपमा रहेका छन्। दाङमा मात्र नौवटा निजी अस्पताल सञ्चालनमा छन्। भैरहवामा लुम्बिनी अञ्चल अस्पताल बुटवल, क्रिमसन अस्पताल, भैरहवा अस्पताल रहेका छन्। कपिलवस्तुमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, सर्पदंश अस्पताल रहेका छन् । पाल्पामा लुम्बिनी मेडिकल कलेज समेत रहेको छ। नौवटा जिल्लामा जिल्लास्तरका अस्पताल रहेका छन्। नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडिया प्रदेश नम्बर ५ अन्य प्रदेशभन्दा स्वास्थ्य सेवा र उपचारकालागि अगाडि रहेको बताउँछन्। यहाँ एमबिबिएस अध्ययन गर्ने अस्पतालदेखि मुटु, क्यान्सर, मृगौला, टाउँको, मानसिक रोगीका लागि समेत उपचार हुने अन्तराष्ट्रियस्तरको सेवा सुविधा रहेको स्वास्थ्य संस्था रहेको उनी बताउँछन्।

प्रदेश नम्बर ५ समग्रमा अन्य प्रदेशभन्दा स्वास्थ्य संरचना, सेवा, उपचार र शिक्षणमा पछि नरहेको उनको भनाइ छ। प्रदेश नम्बर ५ लाई स्वास्थ्य सेवा र शिक्षणको हव बनाउन सकिने उनको भनाइ छ। अहिले प्रदेश नम्बर ५ मा तीनवटा शिक्षण अस्पताल रहेका छन् । त्यस्तै यहाँ निजी अस्पतालदेखि १५ सयका पोलिक्लिनिक र उपचार केन्द्रका साथै अस्पताल समेत खुलिरहेका छन्। त्यसबाहेक प्रदेश नम्बर ५ को बाँके, दाङ र बुटवलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका आफ्नै अस्पताल समेत सञ्चालनमा छन्। यस्तै निजी  तथा संस्थागत रुपमा खोलिएका सर्पदंश, कुष्ठरोग, आयुर्वेदिक अस्पताल समेत रहेका छन्। 

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सको केन्द्रीय महासचिव तथा भेरी नर्सिङ कलेज नेपालगन्जका संस्थापक संजय सिंहले प्रदेश नम्बर ३ र ५ देशकै अब्बल स्वास्थ्य विकास र पूर्वाधार रहेको बताउँछन्। पश्चिममा बुटवल र नेपालगन्जमा धेरै स्वास्थ्यसम्बन्धि प्राविशिक शिक्षालय र कलेज रहेकाले प्रदेश नम्बर ३ राजधानीको हाराहारीमा स्वास्थ्य संस्था रहेको उनी बताउँछन्। प्रदेश नम्बर ५ मा मात्रै ३४ वटा नर्सिङ र हेल्थ कलेज सञ्चालनमा रहेको उनले बताँए।

स्वास्थ्य उपचारका अस्पतालजस्तै अध्ययनका लागि समेत यो प्रदेश अगाडि रहेको उनको भनाइ छ। वार्षिक ८० जना एमबिबिएस डाक्टर उत्पादनदेखि सँयौको संख्यामा स्वास्थ्यकर्मी उत्पालन यही प्रदेशबाट हुने गरेको उनले बताए। यो प्रदेशबाट फार्मेसी, बिएस्सी नर्सिङ, सिएमए, एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी, पिएसएल नर्सिङ, स्टाफ नर्स र बिएन नर्स उत्पादन भईरहेको सिंहले बताए।

बर्सेनि तीन सयदेखि चार सयको संख्यामा स्वास्थ्यकर्मी उत्पादन भइरहेको उनको भनाइ छ। अबको चुनौती भनेको प्रदेश ५ बाट अध्ययन गर्न जाने विद्यार्थीलाई यही क्षेत्रमा रोक्न सक्नुपर्ने देखिन्छ। अझैपनि प्रचारप्रसारमा कमी र कमजोर व्यवस्थापनका कारण प्रदेश नम्बर ५ का बिरामी उपचारका लागि राजधानी र भारतीय अस्पताल धाउन बाध्य छन्।

बाहिरी देशमा चिकित्सा र स्वास्थ्य पढ्न र उपचारका लागि जाने देशको अर्बको रकम ५ नम्बर प्रदेशमा रोक्न प्रदेश सरकारको आवश्यक कमद आवश्यक रहेको यो क्षेत्रका स्वास्थ्य सञ्चालक बताउँछन्।

प्रकाशित: २ चैत्र २०७४ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App