७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन र पुनर्लेखनले पुग्दैन संविधान नै परिवर्तन गरौंः वैद्य

सुरेश यादव–नेकपा माओवादी (क्रान्तिकारी) पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेकै संविधानलाई संशोधन र पुनर्लेखन गरी काम नचल्ने बताउँदै संविधान नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरेर वैद्यले संघीय जनगणतन्त्र स्थापना नभएसम्म मुलुकको अस्थिर राजनीतिक समाधान हुन नसक्ने दावी गरे ।

‘दश वर्षे जनयुद्ध लडेर पनि पुरानै राज्यसत्ता पुनःस्थापित भएपछि एक पटक फेरी निर्णायक आन्दोलनको विकल्प छैन’ वैद्यले भने, ‘मधेशी, आदिवासी जनजाति, थारु र मुस्लिम लगायत सम्पूर्ण उत्पीडित समुदायलाई एकसुत्रमा बाँधेर वर्गीय आन्दोलनको तयारीमा लागेका छौं ।’

आफ्नै सहयात्री पुष्पकमल दाहालले हजारौंको बलिदानी बिर्सेर संसदवादी राज्यव्यवस्थाकै कित्तामा फर्किदिएपछि पार्टीमा विचलन देखिएपनि संघीय जनगणतन्त्र स्थापना नहुन्जेल आफूले विश्राम नलिने उनले जिकिर गरे ।

उनले उपेन्द्र यादवको फोरम पनि आफूहरुले नै अर्ध सामन्ती अर्ध उपनिवेशिक सत्ता विरुद्ध गठन गरेको बताउँदै अहिले मधेशी दलहरुले पनि संशोधनवादमा लागेर उत्पीडित जनतालाई भ्रममा पार्ने काम गरेको आरोप लगाए ।

‘हिजो उपेन्द्रजी लगायत मधेशवादी दलका साथीहरुले सँगै मिलेर यो संविधानले निकास दिँदैन भनेर जलाएका थियौं’ वैद्यले भने, ‘अहिले संशोधनवादमा लागेर मधेशवादी दलहरु आफैं उदेश्यप्राप्तीको बाटोबाट विमुख हुँदैछन्, तर हामीलाई यो संविधानले समाधान देला भनेर रत्तिभर भरोसा छैन ।’

उनले संशोधन र पुनर्लेखनको लागि संघर्ष गरेर उर्जा र समय खर्चिनु भन्दा पूरै संविधान नै परिवर्तन गर्न निर्णायक आन्दोलनको लागि हातेमालो गर्न सम्पूर्ण संघर्षरत दल तथा समूहलाई एकजुट गर्ने तयारीमा लागेको बताए ।

प्रकाशित: ५ भाद्र २०७३ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App