८ वैशाख २०८१ शनिबार
विचार

आफूलाई २९, समाजलाई एक

तराईका सिरहा, सप्तरी, उदयपुर र पहाडका धादिङ, गोर्खा, लमजुङलगायतका एक दर्जन जति जिल्लामा सामाजिक परिवारको नाममासीमान्तीकृत पारिएका गरिब, निमुखा, अछूत र विभेदमा पारिएका महिला–पुरुष संगठित भएका छन् । यस्ता सयौँ संस्थाहरूदुई दशकदेखि स्वतन्त्र रूपमा सञ्चालनमा पनि रहिरहेका छन् ।गाउँ गाउँमा संगठित यी संस्थाहरूएक, दुई र पाँच रुपियाँ मासिक बचत गरेर करोडौँरुपियाँसञ्चित गरेर आफूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन सफल बनेका छन् । आफ्नो अधिकारको खोजी गर्दै सामुदायिक विकासका क्षेत्रमा पत्यार नै नलाग्ने उदाहरणीय काम गरिरहेका छन् भन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थ हो ।

विपन्न बस्तीका बहुसंख्यक महिला र पुरुषहरू संगठित भएर जाँडरक्सी, जुवातास, छुवाछूतविरुद्ध र नागरिकको नैसर्गिक अधिकारका लागि चलायमान भइरहेछन् । सामाजिक परिवार र यिनले गरेका सामूहिक कामहरूबारे बढी थाहा पाउने हो भने तत्तत् जिल्लामै पुग्नुपर्छ । समग्र विकास सेवा केन्द्रले सामाजिक परिवार गठन, सञ्चालन र गतिशीलता दिन सहयोग–समन्वय गरिरहेको छ । 

यतिखेर चर्चा गर्न लागिएको भने भर्खर संसद्बाट विश्वासको मत आर्जन गरेको सरकारले सामाजिक परिवारले दशौँ वर्षदेखि एक दर्जन बढी जिल्लामा प्रयोग गर्दै आइरहेका धेरैमध्ये दुईवटा सफल कार्यक्रमलाईदेशव्यापी विस्तार र परिचालन गर्ने अग्रसर देखायो भने मुलुकभर छरिएर रहेका र समग्र पुग्न नसकेका गाउँ/सहरका सीमान्तीकृतजनताको भलाइ हुनसक्नेथियो भन्ने हो ।यसो गर्दा समाजमा सामाजिक सौहार्द्रबिथोलिने होइन, झन् बलियोसँग कायम हुनेथियो कि भन्ने सरोकारवालालाई अवगत गराउनु हो ।

हिमाल, पहाड, तराईमा बसोवास गर्ने सात प्रदेशका नेपाली पालैपालो एकअर्का प्रदेशमा सामाजिक परिवारका सदस्यहरू जस्तै अध्ययन भ्रमणमा घुमफिर गर्न थाले भने दुई करोड पर्यटक स्वदेशमा परिचालन हुनेछन् । 

सामाजिक परिवारले नियमित रूपमा व्यावहारिक रूपमा पालना गरिरहेको ज्यादै सफल कार्यक्रम हो–महिनाका २९ दिन आफूलाई, एक दिन सामाजिक परिवारलाई !अर्को हो– वर्षमा कम्तीमा एक पटक तराईका सामाजिक परिवारका सदस्यहरूको पहाडी क्षेत्रका सामाजिक परिवारहरूमा भ्रमण र पहाडका सामाजिक परिवारहरूको तराईका सामाजिक परिवारहरूमा भ्रमण आदानप्रदान । 

सामाजिक परिवार जहाँसुकैको होस्, प्रत्येक परिवारले महिनाको २९ दिन आफ्ना लागि खर्च गर्छन् । आफ्नो समृद्धि, आयआर्जन र विकासका लागि पूरै महिना खट्छन् तर महिनाको एक दिन भने सामाजिक परिवारका लागि अर्थात् समाजको उत्थानका लागि सबैजना मिलेर काम गर्ने गर्छन् । जसअन्तर्गत उनीहरूटोल सरसफाइ, असक्त परिवारलाई सहयोग, समाजका जटिल समस्याबारे छलफल, शिक्षा–स्वास्थ्य–कृषि–पशुपालनका उत्कृष्ट कामबारे हेर्ने–सिक्ने–सिकाउने काम गर्छन् । सकेसम्म त्यो दिन सबैजना एकै ठाउँमा बसेर सहभोजन वा खाजा खाने काम पनि गर्छन् ।

पारस्परिक भ्रमण त्यस्तो कार्यक्रम हो, जसअन्तर्गत कहिल्यै पहाड नदेखेका तराईका सामाजिक परिवारका सीमान्तीकृत, दलित र अवसरबाट वञ्चित महिला–पुरुषहरूपहाडमा एकदुई साता घुमफिर गर्न पुग्छन् । तराईका सामाजिक परिवारका सदस्यहरू पहाडका सामाजिक परिवारका विभेद, समानता र अनुकरणीय विशेषताहरूबारे छलफल र विचार आदान प्रदान गर्छन् । त्यसैगरी कहिल्यै तराई नदेखेका हिमाल र पहाडका मानिस तराईका सामाजिक परिवारमा भेटघाट, छलफल र सामाजिक परिवारले गरेका कामहरूबारे जानकारी लिन्छन् । आफ्नो सामाजिक परिवारमा सुल्झाउन नसकिएका समस्याहरूबारे सल्लाह र एकअर्काका अनुभवहरू साटफेर गर्छन् । 

पहाड र तराईका भिन्नता, समानता तथा समस्याहरूबारे यात्रा गर्नेहरूलेती ठाउँबारे जान्न–सुन्न र बुझ्न पाउँछन् । यात्राबाट फर्किएपछि आ–आफ्ना सामाजिक परिवारमा फर्किएर अनुभव आदानप्रदान गरेर पर्गेल्छन् । भ्रमणमा नगएकाहरूलाई पनि पुगेकाहरूले वर्णन गर्नेछन् । 

यो कार्यक्रम पहाड र तराईमा द्वन्द्वका बेलामा पनि रोकिएन । जारी नै रह्यो, समग्रका डोरनाथ न्यौपानेले बताए । हेर्दा साधारण लाग्ने यी असाधारण समाजसेवीलाई यो अभियानको नायक यिनै हुन् भन्दा सहजै कसैले पत्याउँदा पनि पत्याउन्न । मुटुको ओपन हर्ट सर्जरी दुई पटक भइसकेका मसिनो काँटीका न्यौपाने अहोरात्र स्याँस्याँ गर्दै खट्ने र समाजमा न्यूनतम अवसरबाट वञ्चितहरूलाई अभिप्रेरित गर्ने वास्तविक मियो हुन् । यिनले सीमान्तीकृत पारिएका, गुट फुट र राजनीतिक विभाजनले आक्रान्त गरिब, दलित, महिलालाई कसरी संगठित गर्न सके ? सबै दल वा समूहका व्यक्ति सामाजिक परिवारमा कसरी मिलेर बस्न सक्छन् ? सबैलाई आश्चर्य लाग्छ । तर न्यौपाने भन्छन्–देशमा दलीय संसदीय व्यवस्था छ । यसलाई हामी पनि स्वीकार्छौं तर सामाजिक परिवारमा कुन दल र गुटको भनेर विभेद गरिँदैन । राजनीतिक मतभेद र विभाजन जो जुन पार्टीमा छन्, त्यहीँगरून् सामाजिक परिवारमा होइन, उनले दृढ बनेर भने–सामाजिक परिवारमा सामाजिक, आर्थिक, विकास, सरसफाइ, शिक्षा, मानव भएर विपन्नले पनि बाँच्न पाउने हक, अधिकार र कर्तव्यबारे वाद–विवाद–संवाद र काम हुनेगर्छ । त्यसैले सामाजिक परिवारमा राजनीतिक खिचातानी, झँैझडा र गुटबन्दी हुँदैन । बरू विभिन्न दलका तर्फबाट सामाजिक परिवारका सदस्यहरू गाउँ÷नगर, प्रदेश र प्रतिनिधिसभामा समेत पुगेका छन् । मन्त्री पनि बनेका छन् । 

सामाजिक परिवारले गरेका कामहरूलाई नियालेर हेर्ने हो भने विपन्नहरूलाई अधिकारसम्पन्न पार्न कसरी हातेमालो गरेर विपन्न, दलित, महिलाहरू सामाजिक परिवारको रूपमा संगठित बनेपछि आफ्नो आवाज र शक्तिलाई सशक्त बनाउँछन् ? यो हेर्न र अनुकरण गर्न मात्र होइन,भताभुंग भएको ठानिएको विभेदपूर्ण समाजमा कसरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने काममा विपन्नहरूलागिरहेका छन् भन्ने देख्न सकिन्छ ।छोटो समयमा भएका ठूलाठूला उथलपुथलका बाबजुदनेपाली समाज जीवन्त रहिरहनु मात्र होइन, अग्रगामी हुँदै अगाडि बढ्नुको वास्तविक कारण सामाजिक परिवारका क्रियाकलापहरूबाट छर्लंग हुनेगरी थाहा पाउन सकिन्छ ।

नेपाली समाज यतिठूलो द्वन्द्वबाट गुज्रिँदा गुज्रिँदै पनि वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेद र जातीय छुवाछूतको अन्त्यका लागि समाजमा बढेको चेतना, प्रभावकारिता, स्वावलम्बीपन, पारस्परिक सहयोग, शिक्षा क्षेत्रमा मारिएको फड्को खास गरेर छोरी बुहारी पढाउने लहर जस्ता सकारात्मक परिवर्तनका गुह्य कारणबारे सामाजिक परिवारबाट थोरै भए पनि जानकारी पाउन सकिन्छ । सधैँको झैँझगडा, कुलत, बेमेल, बेरोजगारी, अभाव र भेदभाव हुने ठाउँमा सामाजिक परिवारमा सौहद्र्रता, विकास, समानता, मानव अधिकारको सचेतना र नेतृत्व विकास गर्दै सामाजिक, आर्थिक, शैक्षिक अभियान सञ्चालन गर्दै प्राप्त सफलता र चुनौतीसाँच्चै राष्ट्रव्यापी बनाउनुपर्ने खालको देखिन्छ । 

के कारणले यति लामो संक्रमणकाल, द्वन्द्व बेहोर्दाबेहोर्दै पनि पहाड, तराई, हिमालको सामाजिक सद्भाव खल्बलिन पाएन ? समाजमा बेग्ल्याइएकाहरूको गरिमा कसरी कायम हुँदैछ ? एकअर्काका कुरा सुन्ने र आफ्ना कुरा लोकतान्त्रिक तरिकाले राख्ने चलनले समाजमा कसरी जरा फैलाउँदै छ ? यसको सुरुवात कसरी भयो ?यसमा को लागिरहेको छ ?कसरी सञ्चालन भइरहेको छ ?राज्य र सरकारले समाजका विपन्न, सीमान्तीकृत र अवसर नपाएकाहरूका लागि सञ्चालन गरेका कार्यक्रममा उनीहरूको पहुँच स्थापित गर्न उनीहरू नै कसरी सक्रिय बन्न थालेका हुन् ?के यसका कारणहरूपहिल्याएर सामाजिक परिवारमा प्राप्त सकारात्मक परिवर्तनको ज्ञान र अनुभवलाई मुलुकभर विस्तार गर्न सकिँदैन ?

विपन्न, जातीय छुवाछूतका कारण भेदभावमा पारिएका, बेरोजगार, कृषि मजदूर र अझ दासप्रथाको झल्को दिने शोषणमा परेकाहरू सामाजिक परिवारमा समावेश भएपछि उनीहरूमा जुन परिवर्तन आएको छ, त्यो साँच्चिकै देशव्यापी बनाउनुपर्ने खालको छ । भनौँन, मुलुकका समृद्ध र शिक्षित व्यक्तिहरू बसोवास गरिरहेका सहर बजारमा विकराल समस्या आए भनेर जुन हाइतोवा मच्चाइरहेका छन्, ती समस्या सामाजिक परिवारहरूले सजिलै सबै सदस्यको समान सहभागितामा समाधान गरेका छन् । 

उनीहरूले महिनाका २९ दिन आफ्ना लागि, एक दिन समाजका लागि भनेर जसरी छुट्याएका छन्, त्यो नै सामाजिक समस्या समाधानको अचुक उपाय हो । यो उपाय देशभरका ७ सय ५१ स्थानीय निकाय, ७ प्रदेश र संघीय सरकारले पालना गर्न थाले भने आफ्नो समाजका समस्या आफैँले समाधान गर्ने नयाँ युगको सुरुवात हुनसक्छ । यसले समाजलाई अनुशासित, समृद्ध र आकर्षक बनाउन मेरो पनि सहभागिता छ भन्ने सन्देश घरघर र प्रत्येक व्यक्तिलाई दिने छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकारले अहिलेसम्म सीमान्तीकृत पारिएका दलित, महिला र विपन्न मानिसहरूले सुरु गरेको कार्यक्रमलाई देशभर विस्तार गर्न सक्यो भने राष्ट्रव्यापी स्वयंसेवी अभियानको सुरुवात हुनसक्छ ।

भनौँन, सामाजिक परिवारका प्रत्येक सदस्यले महिनामा एक दिन सामाजिक काममा एक दिन दिएजस्तै नेपालका ३ करोड मानिसमध्ये दुई करोड व्यक्तिले मात्रै पनि एक दिन समाजका लागि काम गरे भने त्यो दिन देशभर कति पैसाको काम हुनेछ ? एक दिनको एकजनाको कामको ज्याला पाँचसय रुपियाँ मात्र पनि मान्ने हो भने दुई करोड मानिसले एकै दिन समाजका लागि काम गर्दा दश अर्बरुपियाँको योगदान दिन सक्छन् । यस्तै काम एक वर्षमा बाह्र दिन हुने हो भने त्यो योगदान समाजलाई एक सय बीस अर्ब रुपियाँको हुन्छ । 

त्यसै गरी हिमाल, पहाड, तराईमा बसोवास गर्ने सात प्रदेशका नेपाली पालैपालो एकअर्का प्रदेशमा सामाजिक परिवारका सदस्यहरू जस्तै अध्ययन भ्रमणमा घुमफिर गर्न थाले भने दुई करोड पर्यटक स्वदेशमा परिचालन हुनेछन् । दुई करोड मानिस सात दिन घुमफिर गर्दा दिनको हजार रुपियाँ खर्च गरे भने कति पैसा खर्च गर्लान् ?सर्वसाधारणले गरेको यति खर्चले नेपाली पर्यटन उद्योगले कुन गतिमा विकास गर्ला ?कति बेरोजगारलाई यो अभियानले रोजगारी देला ?

यो त भयो, महिनामा २९ दिन आफूलाई र एक दिन समाजलाई तथा हिमाल, पहाड र तराई भ्रमणका आर्थिक गतिविधिको सामान्य हिसाब किताब । तर सामाजिक परिवारले गरिरहेको कार्यलाई देशव्यापी रूप दिँदाका असली फाइदा माथि हिसाब गरेर निकालिएको पैसा भन्दा कैयौँ गुना अमूल्य छन् । यसले प्रत्येक नागरिकलाई समाजप्रति जिम्मेवार बनाउनेछ । त्यसैगरी देशलाई बलियो एकताको सूत्रमा बाँध्नेछ । अनि समृद्ध नेपाल नेपालीको सपना होइन, यथार्थ बन्नेछ । आशा गरौँ, नयाँ सरकारले सामाजिक परिवारले सुरुवात गरेको एक दिन समाजलाई र हरेक वर्ष देश दर्शन कार्यक्रम सञ्चालन गर्ने आँटलाई प्रोत्साहन गरेर विपन्नहरूले सुरु गरेको सामाजिक परिवार अभियानलाई देशव्यापी रूपमा फैलाउनेछ ।

प्रकाशित: १ चैत्र २०७४ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App