८ वैशाख २०८१ शनिबार
समाज

जोखिम मोलेरै हनुमानढोका दरबार खुला

काठमाडौं- नेपालको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको राजधानीको मुटुस्थित हनुमानढोका दरबार सर्वसाधारणको घुमफिरका लागि खुला गरिएको छ। २०७२ वैशाख १२ को महाभूकम्पले भत्किएर अलपत्र परेको दरबार क्षेत्रका केही क्षेत्र एक वर्ष ३ महिनापछि जोखिम मोलेरै सर्वसाधारणका लागि खुला गरिएको हो। वसन्तपुुर दरबारका नामले पनि चिनिने यो क्षेत्र विश्वसम्पदा सूचीमा समेत सूचीकृत छ।

 ‘भूकम्पले भत्केर पुरै बनाउनुपर्ने बाहेकका केही क्षेत्र खुल्ला गरिएको हो,' हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सरस्वती सिंहले भनिन्, ‘जीर्ण रहेका अरु क्षेत्र भने खोलिएका छैनन्।' खुला गरिएका स्थान भने सामान्य मर्मतपछि खोलिएको उनले उल्लेख गरिन्।

गत वर्षको पर्यटक सिजनमा महाभूकम्पका कारण सुनसान रहे पनि यो वर्ष खाली नपार्नका लागि दरबारक्षेत्रका केही क्षेत्रका पर्यटकलाई देखाउन पनि खोलिएको जनाइएको छ। दरबारक्षेत्र देखाएरै नेपालमा पर्यटक भित्याउने अरु संघसंस्थाको काम समेत दरबारक्षेत्रको अलपत्रका कारण रोकिएको थियो।

त्यही भएर केही जोखिम मोलेरै पनि दरबारक्षेत्र सर्वसाधारणका लागि खुल्ला गरिएको जनाइएको छ। केही क्षेत्र खोलिएपछि पर्यटक बोलाउने ती निकायलाई समेत राहत भएको टिकट काउन्टरमा बसेका सर्वज्ञरत्न शाक्य बताउँछन्।

‘यो पाला युरोपियन देशका पर्यटक आउँदैन, त्यसै पनि दुई हप्ता ढिला भइसक्यो,' उनी थप्छन्, ‘अझै हाम्रा संास्कृतिक सम्पदा बन्न नसकेकाले पर्यटकलाई सन्तुष्ट पार्न सकिएको छैन।'

उनी बसेको न्युरोड क्षेत्रको काउन्टरमा दिनको ७० जनासम्म पर्यटक आउने गर्छन्। जहाँ पर्यटकका लागि मात्र टिकट काटिन्छ। तर पर्यटकलाई शाही संग्रहालय देखाउन नपाउँदा भने उनी निराश छन्।

आन्तरिक पर्यटक पनि दरबारस्थित ऐतिहासिक संग्रहालय हेर्न नपाउँदा खिन्न छन्। सर्लाहीबाट परिवारका सदस्यका साथ आएका दानु तिमल्सिनाले भने, 'संग्रहालय हेर्न आएको त्यै चाँहि बन्द रहेछ अब जति खुलेको छ त्यही हेरेर जानुपर्‍यो।'

चीनबाट आएकी फैजा अरु दुई साथीसँग दरबार परिसरमा फोटो खिचाउँदै थिइन्। ‘दरबार राम्रो छ,' नेपाली सारी लगाएकी उनले भनिन्, ‘यहाँको लुगा पनि राम्रो छ।' स्थानीयलाई ३० रुपैयाँ र बाह्य पर्यटकलाई एक हजार रुपैयाँको टिकट काटिने गरेको छ। भूकम्पले घुमफिरमा रोक लाग्दा सरकारी आम्दानीसमेत घटेको छ।

हनुमानढोका दरबार शाहकालीन राजाहरुको तत्कालीन जीवन दर्शाउने स्थल हो। त्रिभुवन मेमोरियल ग्यालरी, महेन्द्र मेमोरियल ग्यालरी, वीरेन्द्र मेमोरियल ग्यालरीजस्ता क्षेत्रमा उनीहरुका बाल्यकालदेखि वृद्धावस्थासम्म प्रयोग भएका विभिन्न ऐतिहासिक वस्तुहरु राखिएका छन्।

यीबाहेक नेपालको इतिहासमै महत्व बोकेको पृथ्वीनारायण शाहका हातहतियार तथा उनले बनाउन लगाएको नौतल्ले दरबार समेत यही रहेको छ। राणाकालीन अवस्थामा चर्चित बनेको कोतपर्व, भण्डारखाल पर्व जस्ता भाइभारदारबीचको कलह र हत्याको षडयन्त्र भएको समेत यही दरबारक्षेत्रमा हो। जसको प्रत्यक्ष चिन्हहरु अझै पनि यहाँ देख्न पाइन्छ। तत्कालीन राजाको सिंहासन लगायत पुरातात्विक महत्वका गरगहना र पैसाहरु संग्रहालयमा रहेका छन्। मोहनकाली चोक, नासल चोक, सुन्दरी चोक, लोहन चोक, दाख चोक लगायत क्षेत्र पुराना देवीदेवताका मूर्ति र देवलहरुले सुजज्जित छन्। नेपालमा राणाकाल हटेलगत्तै पहिलो मन्त्रिपरिषदको बैठक बसेको ऐतिहासिक क्षण दर्शाउने हलको संरक्षण यहीँ गरिएको छ।

दरबार नै ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले पनि पर्यटकहरु यो क्षेत्रमा घुमफिर गर्न लालायित हुन्छन्। तर भूकम्पले अत्यधिक रुपमा भत्किएको र जोखिममा रहेको हुनाले ठाउँठाउँमा टेको लगाइएको छ।

‘भवन, मन्दिर, देवल गरी एकदर्जन पूर्ण रुपमा भत्केको छ,' दरबार हेरचाह अड्डाकी प्रमुख सरस्वती सिंह उल्लेख गर्छिन्, ‘अरु साना निर्माण त कति छन् कति।' दशअवतार देखाउने चोक र च्यासिङ देवल निर्माणका लागि टेन्डर आह्वान भएर निर्माण सुरु हुने क्रममा छन्।

अन्य क्षेत्रका लागि भने अध्ययन अनुसन्धान चलिरहेको छ। पुरातत्व विभागका अनुसार भूकम्पका कारण क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको नौतल्ले दरबार र नुवाकोटको साततले दरबारको पुनर्निर्माणको जिम्मा चीन सरकारले लिएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्र भएकाले पनि वसन्तपुर दरबारक्षेत्रको पुननिर्माण युनेस्कोको निर्णय र कानुन तथा नेपाल सरकार मातहत बनेको मापदण्ड अनुसार गरिने पुरातत्व विभागका सूचना अधिकृत दामोदर गौतम बताउँछन्। ‘कतिसम्म भत्काउने, कुन विधि अपनाउने, सामग्री, आर्ट क्राफ्ट आदि कस्तो हुने समेत सम्पदा पुननिर्माण कार्यविधिको मापदण्ड अनुसार हुनेछ,' गौतमले थपे।

पुरातत्व विभागको अध्ययन अनुसार भूकम्प प्रभावित १४ जिल्लामा ८ सय ५० सम्पदामा क्षति पुगेको छ। जसमा १ सय ३९ सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पूर्णरुपमा ध्वस्त भएका छन्।

प्रकाशित: ५ भाद्र २०७३ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App