७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पपछिको पुनर्निर्माण : ढुंगामाटाका घर पनि ‘रेट्रोफिट’

सिन्धुपाल्चोक – तीन वर्षअघिको विनासकारी भूकम्पले चर्काएका ढुंगामाटाका परम्परागत घर अझै यत्रतत्र देख्न सकिन्छ। भूकम्प पीडित न सक्लो, न क्षतिग्रस्त यस्ता संरचना के गर्ने भन्ने चिन्तामा हुन सक्छन्। त्यस्ता संरचना नभत्काइकनै ‘रेट्रोफिट’ (प्रवलीकरण) गरेर भूकम्पप्रतिरोधी संरचनामा बदल्न सकिन्छ। भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा यसको सफल परीक्षण भइरहेको छ।

भूकम्पबाट चर्किएका परम्परागत घर रेट्रोफिट गर्दा पीडितलाई फाइदै फाइदा हुन्छ। त्यस्ता संरचना भत्काउँदा लाग्ने खर्च जोगिन्छ। नयाँ संरचना बनाउँदा लाग्ने लामो समय र ठूलो आर्थिक व्ययभारबाट मूक्ति मिल्छ। ऋण थपिँदैन। थोरै खर्चमा रेट्रोफिट गर्न सकिन्छ। यसबाट भूकम्पप्रतिरोधी संरचना तयार हुनुका साथै परम्परागत वास्तुकलाको समेत जगेर्ना हुन्छ।

सिन्धुपाल्चोकको साँगाचोकका तीन गाउँमा चर्किएका परम्परागत घरको रेट्रोफिट भइरहेको हो। नमूना परियोजनाका रुपमा भूकम्प प्रभावित जिल्लामध्ये यहाँबाटै पहिलो पटक ढुंगामाटोका घरमा रेट्रोफिटको परीक्षण थालिएको हो। यसले सफलता हाँसिल गरेपछि अहिले यो प्रविधि काभ्रे, धादिङ, मकवानपुर लगायत अन्य भूकम्प प्रभावित जिल्लामा विस्तार भइरहेको छ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालको साझेदारीमा साँगाचोकका एक्लेफाँट, गैह्राथोक र पौवाथोक गाउँका ३५ वटा परम्परागत घर रेट्रोफिट भइरहेका हुन्। यसमध्ये १६ घर रेट्रोफिट भइसकेको छ। बाँकी घरको रेट्रोफिट अन्तिम चरणमा पुगेको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरु समेतको संलग्नतामा तयार पारिएको परम्परागत घर रेट्रोफिट ‘डिजाइन’लाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत स्वीकृति प्रदान गरिसकेको छ। ‘चर्किएका घर रेट्रोफिट गर्दा नयाँ जत्तिकै बलियो बन्छ,’ रेट्रोफिटमै इन्जिनियरिङ गरेका वल्र्डभिजनका इन्जिनियर निकेश महर्जनले भने। 

नमूना निजी आवास पुनर्निर्माण परियोजना अन्तर्गत भूकम्पले चर्काएका ढुंगामाटाका घरको रेट्रोफिट भइरहेको हो। यो परियोजना हेरिरहेका इन्जिनियर महर्जनका अनुसार पहिला संरचना बनाउँदाका खराबी सुधार्दै त्यसमा भूकम्पप्रतिरोधी सामग्री थपेर रेट्रोफिट गरिन्छ। ‘रेट्रोफिट मर्मतभन्दा फरक छ,’ उनले भने। 

उनका अनुसार मर्मतमा चर्किको भाग लिपपोत गरेर टालिन्छ भने रेट्रोफिटमा सबैभन्दा पहिला काम नलाग्ने भाग फालिन्छ र नयाँ थपिन्छ। संरचनाका चार कुना र घरको आकार अनुसार बीच–बीचमा ‘सपोर्ट’ दिइन्छ। ठाउँ–ठाउँमा विभिन्न बन्धन दिएर घर कसिलो बनाउँदै एक ढिक्का बनाइन्छ। यहाँ रेट्रोफिट भइरहेका संरचनामा भने छड, सिमेन्ट, बालुवा र गिटीको मसलासहितको पिलरद्वारा सपोर्ट दिइएको छ।

‘यसो गर्दा संरचना पहिलाको भन्दा पनि बलियो र नयाँ जस्तै हुन्छ,’ इन्जिनियर महर्जन भन्छन्, ‘प्रविधि अपनाइने भएकाले रेट्रोफिट गरिएका संरचना भूकम्प प्रतिरोधी समेत हुन्छन्।’ उनका अनुसार ढुंगामाटाका घर रेट्रोफिट गर्दा परम्परागत वास्तुकला जीवन्त रहन्छ अर्थात संरचना पूर्ववत रुपमै देखिन्छ। मिलेसम्म झ्याल, ढोका, भ¥याङ, निदाल, दलिन र चोटा (तला)हरु जस्ताको त्यस्तै राखेर रेट्रोफिट गरिन्छ।

रेट्रोफिट परियोजना लिएर संस्था पहिलो पटक गाउँ पुग्दा भूकम्प प्रभावितले यसमा अरुची देखाएका थिए। ४० घर रेट्रोफिट गर्न मिल्ने देखिए पनि त्यतिबेला पीडित द्विविधामा परेको परियोजना संयोजक द्वारिका घिमिरे बताउँछन्। ‘सुरुमा एउटा घर रेट्रोफिट गरेर देखायौँ,’ उनले भने, ‘यसबाट कम समय र थोरै खर्चमै नयाँ जत्तिकै भूकम्पप्रतिरोधी संरचना बन्ने बुझेपछि पीडित रेट्रोफिटमा आकर्षित देखिए।’

यहाँ रेट्रोफिट गरिएका संरचना पूर्ववत स्वरुपमै थप आकर्षक देखिएका छन्। केही घरका क्षतिग्रस्त रहेका तला फालेर रेट्रोफिट गरिएको छ भने कम क्षति र चिरिएका अधिकांश संरचना रेट्रोफिटपछि भूकम्पभन्दा पहिलेको जस्तै जस्ताको त्यस्तै अवस्थामा पुगेका छन्। प्राधिकरणले भूकम्पमा चर्किएका घर मर्मत शीर्षकमा पीडितलाई १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। 

मर्मत अनुदानमा त्यति नै या बढीमा दुई लाखसम्म थप्दा ढुंगामाटाका संरचना रेट्रोफिटद्वारा बलियो र भूकम्पप्रतिरोधी बनाउन सकिने प्राविधिक बताउँछन्। ‘त्यत्रै (पहिलाको जत्रै) संरचना बनाउन १० लाख रुपैयाँसम्म खर्च हुन्छ। सरकारले दिने ३ लाखले एउटा घर बन्दैन,’ इन्जिनियर महर्जन अनुभव सुनाउँछन्, ‘चर्किएका ढुंगामाटोका संरचना भत्काएर नयाँ बनाउनुभन्दा रेट्रोफिट गर्दा ७ लाख रुपैयाँसम्म खर्च जोगिने देखियो।’

प्रकाशित: ३० फाल्गुन २०७४ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App