५ वैशाख २०८१ बुधबार
राजनीति

जिनपिङ आउँछन् : महरा

काठमाडौं- चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण निश्चित गराएर फर्किएका छन्। नयाँ सरकार गठन हुनेबित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूत बनेर बेइजिङ पुगेका महराले उच्च चिनियाँ अधिकारीसँग भएको छलफलमा भ्रमण टुंगो लगाएका हुन्। चिनियाँ राष्ट्रपतिको भ्रमण निश्चित भए पनि मिति भने टुंगो लागिसकेको छैन। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री महराले भने, 'दुवै देशका परराष्ट्र मन्त्रालयलाई स्ट्यान्डबाई राख्ने सहमति भएको छ। भ्रमणको मिति भने नेतृत्वसँग छलफल गरेर मात्रै टुंगो लाग्ने छ।' यसअघि नै असोज अन्तिम साता चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने समाचार आएका छन्।

सोमबार साँझ बेइजिङ प्रस्थान गरेका उपप्रधानमन्त्री महराले चीनमा रहँदा त्यहाँ चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको तर्फबाट क्रमशः चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री लीको भ्रमणको निम्तो बुझाएका थिए।

चिनियाँ अधिकारीसँगको भेटमा उपप्रधानमन्त्री महराले चीनसँग भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यो विषयले चिनियाँ अधिकारीलाई उत्साही बनाएको उनको प्रतिक्रिया थियो। 'भेटमा चिनियाँ प्रधानमन्त्री लीले नेपालले दिँदै आएको सहयोग निरन्तर जारी रहने र सहयोगको नयाँ क्षेत्र खोजिने बताउनुभएको छ,' महराले भने।

चीनसँग केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापार तथा पारवहन सम्झौतासहित १० बुँदे सहमति गरेको थियो। चिनियाँ अधिकारीले भने भेटमा संविधान तथा चुनावसहितको विषयमा जिज्ञासा राखेका थिए। दुई दिन बेइजिङ र दुई दिन चेङ्दु रहँदा उपप्रधानमन्त्री महरासहितको टोलीले अन्य चिनियाँ नेतासँग भेट गरेका थिए। स्वदेश फर्किने क्रममा ल्हासा ट्रान्जिटको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्षसँग एक घन्टा कुराकानी भएको उनले बताए।

प्रकाशित: ५ भाद्र २०७३ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App