८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीले आज विश्वासको मत लिने, दुईतिहाइभन्दा बढी समर्थन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुईतिहाइभन्दा बढी मत पाउने भएका छन्। प्रतिनिधिसभाको आइतबार अपराह्न बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्ने छन्। त्यसपछि प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ। शनिबार साँझसम्मको राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पक्षमा मतदान गर्ने सम्भावना भए पनि निर्णय भने गरिसकेको छैन। नेमकिपाले पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ । यस हिसाबले ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् । यसअघि २०१५ मा सम्पन्न संसदीय चुनावमा नेपाली कांग्रेसले १ सय ९ सदस्यीय प्रतिनिधिसभामा ७५ सिट जितेको थियो । त्यसपछि बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।  
समयक्रममा ६ दशकपछि नेपाली कांग्रेसबाहेक सबैजसो राजनीतिक दल सरकारको पक्षमा एकै ठाउँमा उभिएका छन् भने कांग्रेसमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएको छ । त्यसो त नयाँ शक्ति पार्टी  पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा. बाबुराम भट्टराई विदेश भ्रमणमा भएका कारण मतदानमा सहभागी हुने छैनन् । उनी आइतबार साँझमात्रै स्वदेश फर्कंदै छन्। 

राष्टिय जनता पार्टी (राजपा) ले पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ । राजपाले शनिबार यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभामा १७ सिट जितेको राजपाका १६ जनाले मात्रै मत दिन पाउने छन् । निर्वाचित एक सदस्य रेशमलाल चौधरी भने ‘टीकापुर घटना’ का कारण पुर्पक्षका लागि  थुनामा छन् । उनीमाथि फौजदारी अभियोग छ । यसै कारण उनले प्रतिनिधिसभा सदस्य पदको सपथ पनि लिन पाएका छैनन्। अर्को मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। 

राष्टिय जनमोर्चा नेपाल (राजमो), राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने भएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि दुई वर्षसम्म उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन। एमाले अध्यक्ष ओली फागुन ३ गते माओवादी केन्द्रको  समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैअनुरुप उनले आइतवार विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतका लागि आइतबार ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संविधानबमोजिम आफूलाई विश्वासको मत  दिन प्रस्ताव गर्नेछन्। उनले आफू प्रधानमन्त्री भएको कारण,  आफूले गरेका र गर्ने कामबारे पनि बैठकलाई जानकारी गराउने छन्। प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमा छलफल भएपछि मतदान हुने कार्यक्रम छ। 

यसैबीच, प्रतिनिधिसभा सदस्य पदको सपथ लिन बाँकी रहेका टोपबहादुर रायमाझी र धर्मशिला चापागाईंले शनिबार सपथ लिएका छन्। 

सरकारको पक्षमा उभिएका दल 
एमाले १२१  
माओवादी केन्द्र ५३ 
राष्टिय जनता पार्टी  १६ 
संघीय समाजवादी फोरम १६ 
राष्टिय जनमोर्चा १ 
राष्टिय प्रजातन्त्र पार्टी  १ 
स्वतन्त्र (छक्कबहादुर लामा) १ 
जम्मा २०९
खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १ 

विपक्षमा 
कांग्रेस ६३, 
नयाँ शक्ति १ 

प्रकाशित: २७ फाल्गुन २०७४ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App