coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सलाम नियारा!

डा. भीम खतिवडा

हामी आज पाथीभरा बज्यैका काखमा छौँ। आस्थाकी चुली हुन् यिनी। हामी चेतनाका चुली बनेका भानुलाई सम्झने उपक्रममा छौँ। अहिले त ताप्लेजुङको तोक्मे डाँडामा रहेको जरा होटल सायद कथा भइसक्यो अग्निदाहले। औडाह स्मृतिलाई चिथोर्न खोज्छ, हामी देवता भनेर बाँच्ने, देवता भनेर मर्ने तर यिनै देवता हाम्रा अभिशापका क्रूरतम स्रोत भइरहेछन्! हो, खरानीस्मृतिको भूगोल कल्पँदै अहिले दुई वसन्तपछि म फेरि तोक्मे डाँडामा रमाइरहेछु भवानी, निराकार, विकल्प, गण्डकी, बाला, लक्ष्मी र आन्छेनका साथमा।

बिर्केटोपीको कमाल!

 'तपाईंले जताजता जानुछ त्यतैत्यतैचैँ गाडी लान सकिन्न, बु‰नुभो?' गिँड्न खोज्दा भुत्ते खुकुरीलाई अटेर गरेर नराम्ररी फुटेको सुक्या बाँसकै जस्तो आवाजमा जिपे माइलाका साहुको जवाफ पाएर आशु–एन्सरे लक्ष्मीको पनि बातो बस्यो। शरणार्थी शिविरका भुटानी बन्धुहरूकै हालतमा अक्क न बक्क हँुदै–गफिँदै–मच्चिँदै फुङ्लिङसम्म पुग्न लागेको हाम्रो खल्बले टोलीले जिपेसमक्ष आत्मसमर्पण गर्‍यो, अव्यक्त। बोलीमा दम छ भनेर देखाउने दिदीको पालो, 'ठीक छ त, यहीँबाट हिँडेर जाने हो, भैगो रोक्नुहोस्।' जरा जरा...! हिन्दी गीतमा सुनेको या त वनस्पतिको मूल भनेर मनले बुनेको हाम्रो अर्थले हावा खायो। नामकै बारेमा गम्दागम्दै हामी ताप्लेजुङको एकमात्र नगरपालिका फुङ्लिङको तोक्मेडाँडामा भर्खरै स्थापित जरा होटल एन्ड लजभित्र पसिसकेका थियौँ।

 नेपाली नित्यकर्मै पो के र! गण्डकीहरूले गालामा पटाहा लाएपछि मेरो पनि राम्रो हुने मन पलायो। थकित मुहारमा विकल्प पनि निराकार–निराकारजस्तो, बाला ओइलाएजस्तै अनि भवानीदलकी नेता पनि भुतुक्कै! सुनुवार भाइहरू जंग र राजनको आदि अक्षरबाट राखिएको नामबाटै हाम्रो काव्यदलले मीठो अनुभव गर्न थालेथ्यो। स्नेहको व्यावसायिक विश्राम भन्नु नै भात हसुर्ने कर्म हो हाम्रो। पाथीभरा र ओलाङचुङगोलाको बीचमा रमाएका हामी मुखले खुसी बोल्दै तनले फतक्क थियौँ। झापाको कुमरखोदमा आधारातमा गोरु चोर्दैगर्दा गाउँलेले फेला पारेर हस्त पादाहतिले भकुरेपछिको जिउभरि कडवा दलेको मोदीको नागरिककै हालतमा पुगेका हामी आँखाले अझै भोकै थियौँ– रमिताहीन। बजार निस्कने तयारी त भो, दलकी नेताको घुराइ सुनेर थर्किएका मित्रहरूले खुसुक्क भने– दिदी त भुसुक्क निदाउनु भएछ, के गर्ने होला! उठाउनुभन्दा छोडेर जानु जाति भन्नासाथ बहिनी बालाले पनि दिदीलाई एक्लै नछाड्ने अड्डी लिएपछि दल टुक्रिएर मादल बन्ने भय जाग्यो! निद्रा बिथोलिँदा हप्काउने, रिसाउने, बौलाउने, झर्किने, रुने कसैकसैको बानी हुन्छ पनि। जे त होला, ३–३ दिनको संगतले भवानीभाव पढिसकेको मेरो आँटले भन्यो कोट्याएरै, 'दिदी! ए दिदी!'

ढाडमा पछ्यौरीले नानी च्यापेर एउटी गोरी लिम्बूनी मञ्चतिर आइन्। सीता किराँतीलाई कविता वाचन गर्न बोलाउँदा उठेकी तिनी त खरानीले छोपेको आगो पो रहिछन्। स्यानी छोरी शब्दबिम्बमा  काठमाडौँभन्दा ओजिलो आवाजको सौन्दर्यकुसुम फुलाउँदै कवयित्री आमा। जात्तेरी, एकोहोरिए भानुभक्तहरू। नपत्याउँदी लिम्बूनीको कविताबलका अघि राजधानी फिकाफिका लाग्यो सबैलाई। 

लेखनीले जनकर्ममा समर्पित दिदी मैले सोचेभन्दा पनि हल्का, नरम र फुर्तिली पो पाएँ। मुसुक्क हाँस्तै जुरुक्क उठेर झोलीकाँधे यात्रामा तयार हुँदै अघिअघि पो लाग्नुभो। मनमनै भनेँ मैले 'टोली अघि बढ्।'

 वनको गस्तीजस्तो हाम्रो यात्रा। आगो लिएर फर्कने हतारजस्तो। मेचीको तालु टेकेर छाती न्यानो बनेको बेला शरीर गलेको बिर्सने सल्लाह भो। एक बजेपछि काव्यवार्तामा जुट्नु नै छ। अबको पालो समय बोकेर पैतालामा, फुङलिङ बजारको आँखे परिक्रमामा समर्पित। हाम्रो टोलीमा सम्झनाको सम्झनैमात्र बाँकी थियो। गण्डकीले बिजुली संसारको तरंगमा बग्ने भनेपछि पनि लक्ष्मीको टाउको साथमा लिएर छ नाके दल ओरालो लाग्यो। हाम्रा लागि फाल्गुनन्द चोक, पराजुली चोक, वीरेन्द्र चोक र शान्तिचोकहरू आँखाका शीतल बिसौनी बने। बजारै त हो, उस्तै रंग उस्तै रूप, केही बचेका पुराना बान्कीका गारे–काठे घरबाहेक सिमेन्ट संसारले छपक्क छोपेपछि विर्ता–विर्ता गन्ध छ फुङिलङ बजारभरि।

 टिम्मुर, विख्मा, छुर्पी जताजतै थोक–खुद्रा पसलमा होलान् भन्ने मेरो विश्वासमा एउटा कुनाको पसलमा पुगेर बिराम लाग्यो। गन्धहीन टिमुरसँग बरु विख्माको टुक्रा साट्नु चिनो भनेर जाती लाग्यो। अघिपछिको दलीय विच्छेदयात्रा छुर्पीमोही बन्यो। यो सफा सक्कली ग्रामीण चौरीगोठे फुङलिङको छुर्पी एक नम्बर भन्ने अर्को विश्वासको धुक्धुकी चल्दैछ अझै, कसले कुल्चिएर मार्ने हो! यस्तै आशंकाबीच कोसेली चिनो पोक्याए'सि बाला र मैले, हाम्रो बाटो अघि बढ्यो।

 रमेश घिमिरेको नेतृत्वमा दाहाल, भट्टराई, निरौला, पौडेल, बराल थरका मेरा पिण्डेश्वरकालीन ताप्लेजुङे मित्रहरू मनमा आए। प्रमाणपत्रीय उमेरमा कुमारचेतनाको जागृत प्रेम मित्रताको सूत्रबाट यतैकतै पोखिएथ्यो मेरो पत्रहरूमा। तोक्मेको मुकाम बनाएको मेरा आँखा सिकारी डाँडाको छेउछाउतिर गफी मित्र टुनानाथलाई खोज्दैथिए। २० वर्षअघि कीर्तिपुरे पढाइनिम्ति छात्राबासप्राप्तिको सहजता सम्झेर मेरो नाटकीय बसाइसराइ गरिदिने आत्मीय मित्रहरूले दोखु–९ मा कागजी घरजम गराइदिएको सम्झेर एक्लै–एक्लै हाँसो उठ्यो। मेरा कुरा बु‰न खोज्ने पो को छ र यहाँ! छन् त काव्यमित्रहरू, भानुभक्तहरू निर्दोष आँखाले मलाई हेर्दै अघि बढ्ने सबैजसोको बलको हावा फुस्केजस्तै भा'छ। इलामसम्मको बसको टिकट लिइसकेको हाम्रो दलका उपनेता निराकारको अर्को फुच्चे गाडीको भाडाबारेको चासोप्रति चमूपतिको असन्तुष्टि स्वाभाविकै थियो।

 असारको १५ आज, न धान, न हिलो, न पर्म, न घुम, न बीउ, न रोपार! छि! हिलोसँग खेल्न नपाउँदाको बाख्रे जीवन ओभानो र सफा भएर पनि नराम्रोजस्तो। ती दिन कता गए दिदी! ठूली–बहिनी सँगसँगै धान रोप्न तम्सिने म पर्म तिर्नसम्म जान्थेँ। कत्ति छिट्टो छुपुछुपु पार्थें –आमाहरू पनि मख्ख पर्नुहुन्थ्यो। बाबाले हाम्रै साइजका अलग–अलग घुम बनाइदिनुहुन्थ्यो। रोबसँग हामी घुमभित्र टाउको लुकाएर योग गर्थ्यौं छुपुछुपु। केटा मान्छेले जोत्ने र बीउ काड्ने अनि केटी मान्छेले मात्र रोप्ने चलनमा मैले ल्याएको आयाम त अहिले सम्झँदा सानोतिनो सांस्कृतिक क्रान्ति पो रहेछ नि दिदी!

 तीन दिन जो ज्यूँदा थिए, अहिले सपना भएका छन्। अहिले चन्द्रा बूढीजस्ती भैसकी। मेरी बहिनी भएर के नातिसँग आँगनमा असारे बिहान बिताउँदै होली ऊ। चिल्लागढ गाउँमा ओभानो खेतको बुकुल्टोमा दाइहरू आकाश हेरेर पसिना पुछ्दै हुनुहोला। खुट्टामा झिँगा बस्यो भनेर दगुर्दै मेलोमा हिलो खेल्ने सानी नक्कली बहिनी कान्छी अहिले उसकै कम्मर–कम्मर आउने  छोराकी आमा भैसकी। उबेला हामीले अधियाँ कमाउने गरेको टिनघरे खेत र परिवारसँगै कन्काइले बालुवाको इतिहास लेख्दै विस्थापित गरिदियो। गोपालकित्तामा अधियाँ खेती जोत्न गोरु लिएर को जला है माधव भाइ हिजोआज? साँच्चै त झोडामा अहिले खाडीका पैसा फल्छन् र मोबिलो कराउँछ– नो नेटवर्क कनेक्सन प्लिज!

 ओहो! मनका आँखा डुल्न थालेपछि मान्छे दार्शनिक पो बन्दोरहेछ त! असारको महŒव देवकोटाले भन्दा कम त मेरा दाजुहरू र अचार्ज बाबैहरूले पक्कै बु‰या होइन, तर लक्ष्मीप्रसादले कलमले बोलेे हाम्राहरूले त अझै हत्केलाका ठेला र गोरुका काँधले बोल्छन्। असार–साउनको साधनाले फागुनसम्मको जोहो मात्रै त हो। हैन कस्तो कृषि हाम्रो? न फुर्सद् मिल्छ एक दिन, न ता खानै पुग्छ वर्षभरि! ए भवानी दिदी! मदनपथ, प्रचण्डपथ, वैद्यपथ, सुशीलपथ कि ओलीपथ– कुन बाटो हिँड्दा हलोबाट भलो हुने हो भन्न सक्नुहुन्छ? साँच्चै सोध्दैछु– कम्युनिस्ट पार्टी, चाउचाउ र बोर्डिङ स्कुलमध्ये कुनचाहिँ बढी दिगो देशभक्त? मनको प्रश्न पनि सुन्न सक्ने तागतका आँखाले मतिर पुलुक्क हेरेर निरुत्तर हाँस्नुभो दिदी मेरो टाउकाको नमिलेको बिर्केटोपी, कारण रहेछ अर्कै पो।

जरामा जोडिएका सितारा

 'पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो

 छरिएर बसे के भो सन्तान त एउटै हो।'

  साझे नेपालीभाव बोल्ने यही गीतमा स्थानीय लिटिल बुद्ध स्कुलका चस्मिना, दिप्ती र रूपा नानीहरूको ज्यूँदो नृत्यले हाम्रो तोक्मे डाँडाको बसाइले स्वागतमात्र पाएन, आँखामा ज्यानै भरिदियो सबैको। अम्बिका हाङ्वाङको कुशल सञ्चालनमा केबी किराँतीका शब्दबाट प्रारम्भ भएको आदिकवि भानुभक्त आचार्यको २००औँ जयन्तीको जिल्लास्तरीय प्रतियोगितामूलक कविता गोष्ठीमा काठमाडौँ पछार्ने शब्दको तागत देखेर हामी छक्क पर्‍यौँ। मणि शम्भु, देविन तामाङ, सुमन गुरागाइँ, तुलसी खतिवडा, नवीन गुरागाइँ,  लेकाली कान्छा 'मुकुम'जस्ता जोसिला कविका आवाजमा हामी मेची–कालीको भरोसा पाएर आश्वस्त भयौँ। दिदी केशकुमारी खतिवडाको अक्षरहीन, लेखोटहीन कण्ठे काव्यवाचनले सबैमा जाँगर थप्यो। रोशन लिम्बूको नृत्यलाई मोनिका लिम्बूकै नृत्यले मात्र बिर्साउने शक्ति राख्यो। यस्तै नुमा, सुषमा र नरेनका एकल नृत्यले मुनलाइट कला केन्द्रको मेहनत सफलीभूत पारेको मान्यौँ हामीले।

 यत्तिकैमा ढाडमा पछ्यौरीले नानी च्यापेर एउटी गोरी लिम्बूनी मञ्चतिर आइन्। सीता किराँतीलाई कविता वाचन गर्न बोलाउँदा उठेकी तिनी त खरानीले छोपेको आगो पो रहिछन्। माइकको फुँदामा टुक्टुक हिर्काउँदै–कोट्याउँदै स्यानी छोरी, शब्दबिम्बमा  काठमाडौँभन्दा ओजिलो आवाजको सौन्दर्यकुसुम फुलाउँदै कवयित्री आमा। जात्तेरी, एकोहोरिए भानुभक्तहरू। नपत्याउँदी लिम्बूनीको कविताबलका अघि राजधानी फिकाफिका लाग्यो सबैलाई। न प्रकाशनको मुख, न अध्ययनको सहज सुख, हाङ्देवा जहाँ कान्तिपुर र गोर्खे खबरकागतहरू महिनाभरि हिँडेर पनि पुग्न सक्दैनन्, त्यहाँको कविता पो हर्बल कविता!

 च्यातिदिए हुन्छ मधुपर्क र गरिमाहरू, भत्काइदिए नि भो प्रज्ञा–हलहरू, भंग गरिदिए नि भो विकृतियुक्त प्रवृत्ति बोकेको संस्कृति मन्त्रालय! बरु सबै भेला भएर सुन्नू एकपटक सीता किराँतीको कविता– हेर्दै स्यानी नियारा फुङको निर्दोष मुहार। भवानी दी र मेरो मात्र होइन कवि गण्डकीपुत्रका मनले पनि आफ्नो काव्यसामर्थ्यमा खोट गम्ने बेला यो। विकल्प र निराकारहरूसमेत आँखे–समाधिमा लिन भएको बेला। हामीले आज साँच्चै अर्ग्यानिक कविता पान गरिरहेछौँ, जहाँ सहरी रसायनको कुनै स्पर्श छैन। नेपाली धर्तीको यो कलाबारीमा अलिकति गोडमेल, थोरै मलजल र हेरचाह गर्न पाए मुरीका मुरी भानुभक्त, मोतीराम, देवकोटा, घिमिरे र पारिजातको फसल लाग्नेछ भन्ने मेरो विश्वास।

पोको पारेर कविता–कुरा कोइराला, काइँला र बल्लभहरू तोक्मे डाँडामा आऊन्, कसेर रुमालमा गजलहरू देवी नेपाल, एटम र बलिभद्रहरू हिँडून् पाथीभरातिर अनि प्रयोग भन्दै प्याट्टै नबुझिने रंग लेख्ने धर्मेन्द्रहरू चढून् उकालो एकपल्ट। साँच्चै त ए रामप्रसाद ज्ञवाली! लय विधानको एकाहा लाइदिनुहोस् न एकपल्ट यता पनि।

बिर्केटोपी ओढेर मैले अपराध सोचेँछु सत्ते— गोली ठोकिदिए हुन्छ चोरेर रचना छाप्ने र छपाउनेहरूलाई, प्रतिभाको दोहन गर्नेहरूलाई, विज्ञापनमा वरिष्ठ हुनेहरूलाई, बजारमा हल्ला बेचेर स्याबासी कमाउनेहरूलाई, लाटाहरूको आवादीमा तन्नेरी हुने गाँडेहरूलाई, बरु अरू हामी सबैलाई तर, एकपल्ट अन्तिमपल्ट होस् साँच्चै एक पल्ट मुक्कुम र सीताका कविता सुन्न दिनू, नियारालाई नियाल्न दिनू। साँच्चै आडम्बरी सान त्याग्ने शपथ खानेछन् सबैले त्यतिबेला, कविताको ल्यागत बुझेपछि। नढाँटी भन्नोस् त हो कि होइन भवानी दी!

 'नाना, दाना र छाना' कवितामा कार्यक्रमका संयोजक कवि चन्द्र मादेन 'आन्छन' को समाजबोध कलात्मक सम्बोधनमा कत्ति सफल! दाजु नरेन्द्र मादेनलाई अस्पतालको कक्षमा छोडेर हाम्रो सद्भावपूर्ण सत्कार गर्ने र भानुभक्तप्रति ताप्लेजुङे सर्जकहरूको सम्मान–श्रद्धाको मेलो जुटाउने जटिल कर्मका योजकको बोलीमा पनि हामी कविता पाउन थाल्यौँ। विकल्पको शब्द र निराकारको अभिव्यक्तिपश्चात् लक्ष्मी चुडालको गायनले बिर्केटोपी त जुरुक्कै उठेर नाच्न पो थाल्यो। अचम्म, उत्सुकता नानीहरूमा प्रेरणा जगाउनका लागि हुँदो हो, तर बिर्सेर टाउकोको रङ उठौँ लागिहाल्छ, दिदी! मनले अराए'सि ठाउँ–कुठाउँ ऊ यसरी नै पोखिन्छ। पछि पो थाहा भो दिदीले'नि आँट गर्नमात्र नसक्या'रेछ। 'तानेर नचाए'नि हुन्थ्योजस्तो भैरहेथ्यो मलाई पनि।' दिदीको प्रत्युत्तरमा 'सरी त्यातातिर त होसै पुर्‍याइएन छ' भन्नु मात्र।

 प्राविधिक मित्र तीर्थ निरौलाको माटोप्रेमप्रति स्याबास भनेर हामी कविता मूल्यांकन समूहको निष्कर्षसँगै एउटा जटिल प्राविधिक कर्म सकेर प्रोत्साहनको पोको बनेका शब्दहरूलाई बाँडेर आनन्दित बन्यौँ। जरा होटलसँग गाँसिएको यो सुन्दर साँझ अब त जीवनको कथा हुने भो पक्का! सानो सभाकक्ष, सानो भीड, सानो संसार तर विविध सांगीतिक परिकार पस्कँदै गरिएको शब्दभोज, दृश्यपान र सत्संगत यो मनको पत्र–पत्रमा खोपिएर रहनेछ। न जरा सुक्नेछ, न नियाराकृति ओइलाउनेछ, न त नियाराका कवि बाबा–आमा मुक्कुम र सीताहरू झर्नेछन् यो मनको आँखाबाट। क्याबात् ताप्लेजुङ! क्याबात फुङलिङ्! क्याबात तोक्मेडाँडा! आन्छन लुंगा, हाम्रो सादर सेवारो है सत्कर्मयोजनका निम्ति।

प्रकाशित: ४ भाद्र २०७३ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App