८ वैशाख २०८१ शनिबार
खेल

चिनियाँसँग भिड्दै निशा

काठमाडौं–रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अन्तिम तथा सातौं नेपाली खेलाडीको रूपमा तेक्वान्दोकी निशा रावल शनिबार उत्रँदै छिन् ।
निशाले ६७ केजीमाथिको तौल समूहमा चीनकी सुइन झेङसँग प्रतिस्पर्धा गर्नैछिन् । २२ वर्षीया झेङ आफ्नो तौल समूहकी विश्व च्याम्पियन हुन्।

निशाले भने वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्ने अवसर पाएकी थिइन् । ओलम्पिक जानुअघि एक बाउट जित्ने लक्ष्य राखेकी निशाका लागि विश्व च्याम्पियन प्रतिद्वन्द्वी चुनौतीपूर्ण हुनेछ । तर निशाले व्यक्तिगत रूपमा आफ्नो स्वाभाविक खेल देखाउन प्रयास गर्ने बताएकी छन् ।


शनिबार ब्राजिलको कारिओका एरिनामा आफू एक बाउट जित्न संघर्ष गर्ने बताएकी छन् २० वर्षीया निशाले । उनले भनिन्, ‘मेरो प्रतिद्वन्द्वी विश्वकै नम्बर एक खेलाडी हो । मलाई थाहा छ उनी राम्रो खेलाडी हुन् । तर आफ्नो क्षमताअनुसार राम्रो खेल्ने कोसिस गर्छु । उनलाई चुनौती दिने सक्दो प्रयास गर्छु ।’ एक बाउट जिते दोस्रो लक्ष्य खेल बराबरी गर्ने हुने निशाले बताइन् ।

ओलम्पिक खेलकुदमा नेपाली तेक्वान्दोको इतिहास सुखद छ । विधान लामाले सोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलमा राखिँदा कांस्य पदक जितेका थिए । उनको जितेको पदक ओलम्पिकमा नेपालले जितेको एकमात्र पदक हो । नेपाली तेक्वान्दो स्टार संगीना वैद्यले छनोट चरण पारेर सन् २००४ को ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् ।

छनोट प्रतियोगिता जितेर ओलम्पिक खेल्ने संगीनाको नेपाली पहिलो खेलाडी हुन् । उनै कीर्तिमान संगीनाको प्रशिक्षणमा निशाले रियो ओलम्पिक खेल्दैछिन् । निशाले राष्ट्रिय प्रतियोगिता खेल्दा संगीनाबाट प्रशिक्षण लिने गर्छिन् । निशाले आर्मीबाट घरेलु प्रतियोगिता खेल्छिन् । संगीना आर्मी टोलीकी प्रशिक्षक हुन् ।

रियोलाई अन्तिम तयारी निशाले लगनखेलस्थित आर्मीको शारीरिक तथा प्रशिक्षण केन्द्रको तेक्वान्दो हलमा गरेकी थिइन् । संगीना ओलम्पिकमा दोस्रोपटक सहभागी हुँदैछिन् । पहिलोपल्ट खेलाडी हुँदै ओलम्पिक अनुभव बटुलेकी संगीना रियोमा प्रशिक्षकको रूपमा भाग लिँदैछिन् । आफ्नी चेली निशाले आत्मविश्वास साथ खेले राम्रो नतिजा निकाल्न सक्ने उनको भनाइ छ ।

‘ओलम्पिक नेपाली खेलाडीका लागि सहज छैन । हामीले आफ्नो क्षमताअनुसार नर्भस नभएर खेल्ने कोसिस गर्नुपर्छ,’ संगीनाले भनिन्, ‘निशाको विपक्षी राम्रो छ । उसलाई यस्तो बेला मानसिक रूपमा मात्र तयार बनाउन जरुरी छ । मैले त्यही गरिरहेको छु । उसले आत्मविश्वासी भएर खेल्न सके हाम्रा लागि त्यही उपलब्धि हुनेछ ।’

निशाले १२ वर्षको हुँदा तेक्वान्दो खेल्न सुरु गरेकी थिइन् । नेपाल पुलिस स्कुल साँगाबाट तेक्वान्दो खेल्न सुरु गरेकी निशाले काठमाडौंमा सन् २०१४ मा भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियसिपमा स्वर्ण पदक जितेकी थिइन् । त्यो पदक उनको पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।
त्यही वर्ष हङकङमा एसियन सिटी तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, दक्षिण कोरियामा एक वर्षअघि जेन्जो ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेकी निशासँग इन्चोन एसियाली खेलकुदको अनुभव छ । जुन प्रतियोगितामा उनले पहिलो बाउटै हारसामना गरेकी थिइन् ।
स्मरणीय इतिहास बनाएपनि तेक्वान्दो खेलाडीले ओलम्पिकमा प्रदर्शनी खेलबाहेक अहिलेसम्म एक बाउट जित्न सकेका छैनन् । निशाले एक बाउट जिते ओलम्पिकमा नेपालका लागि कीर्तिमानी तेक्वान्दो खेलाडी बन्ने अवसर पाउनेछिन् ।

 

प्रकाशित: ४ भाद्र २०७३ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App