४ वैशाख २०८१ मंगलबार
खेल

देख्नै बाँकी एउटा सपना

काठमाडौं- देशकै एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला भुइँचालोले चिरा पारेको डेढ वर्ष हुन लागिसक्यो। नयाँ रंगशाला बनाउने पहल सुरु गर्नु कता–कता, दशरथ रंगशालामा भुइँचालोले पारेका चिरा पुर्ने पहलसम्म अझै सुरु भएको छैन। अति जोखिमपूर्ण भनेर राज्यले नै रातो स्टिकर लगाएको रंगशालाको भिआइपी प्यारापिटले अहिले पनि कतिपय खेलकर्ममा सेवा गरिरहेकै छ। बरु भुइँचालोपछि टाँसिएको रातो स्टिकर अहिले देखिँदैन, उप्काएर फ्याँकिएको स्टिकर टेकुको डम्पिङ साइटमा मल बनिसक्यो होला।

....

भुइँचालोले एथलेटिक्स ट्र्याक काम नलाग्ने बनाएको वर्षौं बितिसकेको थियो। सन् १९९९ मा नेपालमा दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ हालको साग) को आठौं संस्करण आयोजना गर्दा चीन सरकारले सहयोगस्वरुप जडान गरिदिएको सिन्थेटिकको देशकै एकमात्र एथलेटिक्स ट्र्याक त्यसयता मर्मत वा फेर्ने काम भएको छैन। अत्यधिक प्रयोगले पूरै खिइसकेको ट्र्याकमा ग्रिप बाँकी छैन। त्यसमाथि दर्जनौं कन्सर्ट, त्यत्तिकै राजनीतिक र सामाजिक कार्यक्रम तथा मेला आयोजना गर्दा थुप्रै ठाउँमा ट्र्याक प्वाल परिसकेको छ। कतिपय ठाउँमा फुलेर भुक्क भएको छ। धेरै ठाउँ उप्किएर खेलाडीलाई अभ्यास गर्न काम नलाग्ने हालतमा छन्। भुँडी घटाउन पसिना बगाउनेका लागि दशरथ रंगशालाको ट्र्याक उपयोगी हुनसक्छ तर अहिले पनि नेपाली एथलेटिक्सका स्टारहरूको प्रतिभा निखार्ने एक मात्र थलो यही हो। राष्ट्रिय खेलाडीहरु भु“डी घटाउने 'मिसन' बोकेर रंगशाला घुम्नेहरुको भिड छिचोल्दै अन्तर्राष्ट्रिय स्पर्धाका लागि आफूलाई तयार गर्न बाध्य छन्।

....

रंगशालासँगै गत वर्ष वैशाखको विनाशकारी भूकम्पले खेलकुदका अरु थुप्रै संरचना पनि क्षतविक्षत बनायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै परिसरमा रहेको पौडी पोखरी भुइँचालोमा सुरक्षित रहिरहन सकेन। गर्मीमा शीतल खोज्नेहरुलाई सेवा बेच्दै आएको पोखरी अब त्यसमा पनि लायक रहेन। हिटिङ सिस्टम नभएकाले जाडोमा पोखरीले झन्डै ६ महिना मजाको आराम पाउँथ्यो। बाँकी ६ महिना राखेपले त्यसलाई पैसा कमाउने प्रयोजनमा सञ्चालन गर्ने गरेको थियो। भुइँचालोको डेढ वर्ष बित्न लाग्दासमेत त्रिपुरेश्वरको पौडी पोखरी मर्मत वा पुनर्निर्माणमा कुनै प्रभावकारी चासो देखिएको छैन। खेलाडीका लागि भनेर बनाइएको पोखरी राखेपले निजी पोखरीजसरी पैसाका लागि व्यावसायिक प्रयोजनमा चलाउँदा खेलाडीहरु त्यसको मारमा परेकै थिए। अहिले त्यो पनि नहुँदा राखेपकै स्वामित्वमा रहेको सातदोबाटोको पोखरी देशको एक मात्र सरकारी पोखरी हो। तर, त्यसमा पनि खेलाडीले चाहेका बेला तालिम गर्न पाउँदैनन्, राखेपले 'पैसा कमाउनै' ठेक्कामा जो दिएको छ। अभ्यासका लागि पोखरी प्रयोग गर्न पौडी संघले राखेपका पदाधिकारीको चाकरी गर्नुपर्छ। अनि मात्र राष्ट्रिय खेलाडी र प्रशिक्षकका लागि सीमित संख्यामा पास पाइन्छ।

....

एथलेटिक्स र पौडी अन्तर्राष्ट्रिय खेलकुदमा म्यान्डेटरी (अनिवार्य) खेलका रुपमा स्थापित छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिक आयोजना गर्दा पनि प्रत्येक देशबाट यी दुई खेलमा सहभागिता अनिवार्य गरेको हुन्छ। खासमा एथलेटिक्सलाई सबै खेलको 'मदर स्पोटर््स' मानिन्छ। अरु खेलमा पनि एथलेटिक्स कुनै न कुनै रुपमा समावेश हुन्छ। यसैगरी पौडी सबै खेलको तयारी क्रममा व्यायामका लागि सबैभन्दा प्रभावकारी मानिन्छ। एथलेटिक्स र पौडीले त्यही कारण यति धेरै महत्व पाएका हुन्। नेपालमा पनि एथलेटिक्स सबैभन्दा पुरानोमध्ये एक खेल हो। मल्ल वंशका संस्थापक अरिमल्ल नेपाली खेल इतिहासका यस्ता राजा हुन् जसले कुस्ती प्रतियोगितामा सबै प्रतिद्वन्द्वीलाई हराएर काठमाडौंको सिंहासन हत्याएको प्रसंग इतिहासमा पढ्न पाइन्छ। यसैगरी गोरखामा हुने लिगलिग कोट दौडबाट शाहवंश स्थापित भएको प्रसंग नेपालमा अझै लोकप्रिय छ। द्रव्य शाहले लिगलिग कोटको दौड जितेर गोरखाको सिंहासन पाएको प्रसंग नेपाली इतिहासको अत्यन्तै रोचक र लोकप्रिय अध्याय हो। तर यति लामो इतिहास बोकेको खेल नेपालमा अझै परम्परागत अवस्थाभन्दा माथि उठ्न सकेको छैन।

....

राष्ट्रिय इतिहास र अन्तर्राष्ट्रिय महत्व बोकेका एथलेटिक्स र पौडीजस्ता 'युनिभर्सल' खेलका लागि खेल्ने ठाउँ (ट्र्याक र पोखरी) नभएको देशमा अन्य खेलका लागि पूर्वाधार खोज्नु बौद्धिक प्रयास होइन। सामान्य पूर्वाधार पनि नभएको अवस्थामा वैज्ञानिक सुविधा झनै सम्भव छैन।

नेपाली खेलकुद दरिद्रताको आफ्नै वास्तविकताभित्र रुमल्लिइरहँदा राजनीतिक तथा आर्थिक रुपमा समस्याग्रस्त एउटा देश ब्राजिलले विश्व खेलकुदकै सबैभन्दा ठूलो मेला ओलम्पिक आयोजना गरिरहेको छ। आर्थिक मन्दी, भ्रष्टाचार लगायत समस्याबाट ग्रस्त मुलुकको प्राथमिकता खेलकुदका ओलम्पिक र विश्वकप आयोजनामा ठूलो धनराशि खर्चिने भन्दा पनि शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत विषयका लागि खर्चिनुपर्ने मागसहित ब्राजिलका सडक तातिइरहेका छन्। तथापि दक्षिण अमेरिकाको एउटा संकटग्रस्त देशले बडो उत्साहसाथ विश्वभरका खेलाडी र खेलकर्मीलाई आतिथ्य दिइरहेको छ। उच्च सुविधासम्पन्न तयारी गरेका ब्राजिली खेलाडीले विश्व खेलकुदको कुम्भ–मेलामा राम्रो प्रदर्शन र नतिजाबाट देशको गौरव बढाइरहेका छन्। खेलाडीले मैदानमा राम्रो खेल्दै देशको झन्डा फहराइरहँदा ओलम्पिक आयोजनाको विरोधमा सडक प्रदर्शन गर्नेहरुको मन पनि फर्किन थालेका छन्।

ब्राजिलमा विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडी आ–आफ्नो देशलाई प्रतिनिधित्व गर्दै ब्राजिल पुग्दा नेपालबाट पनि ५ खेलका ७ खेलाडी चन्द्रसूर्यको झन्डा बोकेर दक्षिण अमेरिका पुगेका छन्। त्यसो त नेपाली खेलाडीले ओलम्पिकमा देशको प्रतिनिधित्व गर्न थालेको ५२ वर्ष पूरा भइसकेको छ तर विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा अहिलेसम्म नेपाली सहभागिता अनुभव बटुल्नै सीमित हुने गरेको छ। नेपाली खेलाडीले ओलम्पिकको मञ्चमा गरेको प्रदर्शनका आधारमा ३ करोड नेपालीले गौरव गर्ने अवस्था आइसकेको छैन।

'ओलम्पिकमा नेपालले पदक आस गर्ने बेला आइसकेको छैन'– यो भनाइमा शतप्रतिशत सत्यता छ। खासमा १९६४ को टोकियो संस्करणदेखि ब्राजिलको रियो दी जेनेरियोमा जारी रियो २०१६ सम्म पनि नेपालको सहभागिता उपलब्धिका लागि भइरहेको छैन। नेपालको ओलम्पिक सहभागिता मित्रता, अनुभव बटुल्ने, खेलभावना प्रवर्द्धन गर्ने र ओलम्पिक अभियानको पात्र बन्नेमै सीमित छ।

हरेक संस्करणमा देशको झन्डा बोकेर जाने खेलाडीलाई बिदाइ गर्दा प्रशासकहरुको शुभकामना राष्ट्रिय कीर्तिमान र आफ्नै विगतको प्रदर्शनमा सुधार गर्नेमा मात्र सीमित हुने गरेको छ। नेपाली खेलकुदको दुरवस्थाबारे जानकार भएकैले प्रशासकहरुले 'पदक जित्नुस्' भनेर शुभकामना दिन नसकेका हुन्। 'टोकियोको प्रचण्ड गर्मीबीच तातेको सडकमा बिनाजुत्ता भूपेन्द्र सिलवालले म्याराथन दौडिँदा पैतालामा धाँजा फाटेको कथा नेपाली खेलप्रशासकलाई जति अरुलाई थाहा छैन। समयक्रमले ल्याउने नगण्य परिवर्तनबाहेक नेपाली खेलकुदको अवस्था अहिले पनि त्यस्तै छ,' खेलविज्ञ सञ्जिव मिश्र भन्छन्, 'अहिलेका धावकले जुत्ता पाउन थाले होलान् तर विश्व खेलकुद जसरी विज्ञान र प्रविधिसँग एकाकार भएर अघि बढिरहेको छ, त्यसविपरीत नेपाली खेलकुद ढुंगेयुगमै छ। यस्तो अवस्थामा पदकको आस गर्नु खेलाडीमाथिको अन्याय हो।'

ओलम्पिक सहभागिताको आधा शताब्दी नाघिसक्दा नेपालका उपलब्धि निकै साना र थोरै मात्र  छन्। संगिना वैद्यले २००४ र दीपक विष्टले २००८ मा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउनु नै नेपाली खेलकुदको ठूलो उपलब्धि थियो। त्यसबाहेक नेपालीले गौरव गर्ने अर्को संस्करण १९८८ को सोल ओलम्पिक हो जहाँ तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिँदा विधान लामाले कांस्य पदक जितेका थिए जब कि लामाको त्यो पदक ओलम्पिक खेलकुदको आधिकारिक इतिहासमा कँहीकतै उल्लेख छैन, हुँदैन। तेक्वान्दोका दुई स्टार संगिना र दीपकबाहेक अरु सबैको ओलम्पिक सहभागिता एथलेटिक्स र पौडीमा भाग लिनैपर्ने बाध्यता तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाट आउने 'वाइल्ड कार्ड' का भरमा जुर्ने गरेको छ।

त्यसैले विश्व खेलकुदको सबैभन्दा ठूलो जमघटमा देशलाई प्रतिनिधित्व गर्न तम्तयार खेलाडीलाई बिदाइ गर्दा खेल प्रशासकहरु लाजै नमानी 'शुभकामना' दिन्छन्, 'राष्ट्रिय कीर्तिमानमा सुधारको प्रयास गर्नुस्!' अनि 'तयारी राम्रो हुन सकेन। छोटो तयारी बाबजुद तपार्इंहरुबाट हामीले राम्रो प्रदर्शन आस गरेका छौं' भन्न पनि लजाउँदैनन्। यस्तै दरिद्रता भजाएर एउटा देशको आधा शताब्दी समय सीमित 'शासक'हरूले खेर फालिसकेको नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ बताउँछन्। 'सिलवाल खाली खुट्टा दौडिएको आधा शताब्दी बितिसक्दा पनि नेपाली खेलकुदले गुणात्मक फड्को मार्न नसक्नुका मुख्य कारक यिनै सीमित व्यक्ति हुन्,' उनले भने, 'उनीहरुलाई दरिद्रता भजाएर राज गर्ने बानी लागिसकेको छ।'

यसपालि रियो ओलम्पिक टोली बिदाइ गर्ने क्रममा पनि खेलाडीलाई राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउने शुभकामना दिइएको थियो। नागरिकसँगको कुराकानीमा पौडीका दुई खेलाडी गौरिका सिंह र शिरीष गुरुङ, आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरि रिमाल र सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्य रहेको बताएका थिए। उनीहरूका प्रशिक्षक र सम्बन्धित खेलको राष्ट्रिय संघले पनि त्यही सपना देखेका थिए।

जुडोकी फुपुल्हामु खत्रीको लक्ष्य पूरा ४ मिनेट टिक्नुमा थियो भने तेक्वान्दोकी निशा रावलको उद्देश्य अनुभव बटुल्ने मात्र थियो। लक्ष्यमा शिरीष, सरस्वती र फुपुल्हामु सफल भए। शिरीष र सरस्वतीले राष्ट्रिय कीर्तिमानमा सुधार गरे भने फुपुल्हामु क्युबाकी विपक्षीसँग खेल्दा पूरा ४ मिनेट टिकिन्। हरिको लक्ष्य सफल भएन भने निशाको खेल आजै शनिबार हुँदै छ। यद्यपि उनीबाट पनि नेपाली खेलकुदले ठूलो आस गरेको छैन।

राष्ट्रिय कीर्तिमानमा सुधार गर्नु आफैंमा उपलब्धि हो तर त्यसले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो अर्थ राख्दैन। देशभित्र मात्र त्यसको चर्चा सीमित हुन्छ। अझ त्यसमा पनि चुक्दा 'ओलम्पिक अभियान' को पात्र बनेर फर्किनुबाहेकको महत्व रहन्न। यस्ता प्रदर्शनले विश्वको आँखा रहेको ओलम्पिकमा देशको उपस्थिति देखाउन सक्दैन। उद्घाटन र समापन समारोहमा हुने मार्चपासमा सहभागी प्रत्येक देशको झन्डा बोक्नैपर्ने बाध्यता नहुने भए अहिलेसम्म नेपालको उपस्थिति कहीँकतै देखिँदैनथ्यो।

नेपाली झन्डाको उपस्थिति देखाउने विषयमा यसपालिको रियो ओलम्पिक फलदायी रह्यो। सुखद नतिजा ल्याउन नसके पनि पौडीले नेपालको उपस्थिति देखायो। गौरिका सिंहले कान्छी खेलाडी भएर नेपालको चर्चा गराइन् भने शिरीष आफ्नो स्पर्धाका उत्कृष्ट तीन जुनियर खेलाडीमा समेटिए। त्यो सुखद पक्ष रह्यो। पारिवारिक लगानी र लगावका भरमा ओलम्पिकसम्मको यात्रा गरेकी १३ वर्षे गौरिका रियो २०१६ कै सबैभन्दा कम उमेरकी खेलाडीका रूपमा चर्चा बटुल्न सफल भइन्। रियोमा सहभागी विश्वभरका ११ हजारभन्दा बढी खेलाडीमा कान्छी भएर गौरिकाले कीर्तिमान नबनाएको भए ब्राजिलबाट पनि नेपाल गुमनाम भएर फर्किनुको विकल्प हुँदैनथ्यो तर गौरिकाको उपलब्धिमा गौरव गर्ने अधिकार उनी, उनको परिवार र नेपाली खेल समर्थकलाई मात्र छ। खेलप्रशासकलाई छैन। १३ वर्षे बालिकाले रियोमा उपस्थिति जनाएर गरेको बहादुरीमा नेपाली खेलजगतको कुनै योगदान छैन।

राष्ट्रिय कीर्तिमान (आफ्नै विगत) सुधार्ने सानो लक्ष्यमा पनि अक्सर नेपाली खेलाडी किन चुक्छन् त?

खेलकुद विश्लेषक दुर्गानाथ सुवेदीको भनाइले धेरै जवाफ दिन्छ। 'हामी अहिलेसम्म वास्तविक रुपमा खेलसम्म पुग्न सकेकै छैनौं। नेपाली खेलकुदका गतिविधि धेरै हदसम्म  खेल–राजनीतिमै अल्भि्कइरहेको छ। केही महिना अन्तरमा फेरिइरहने सरकारमा युवा तथा खेलकुदमन्त्री को होला? राखेप सदस्यसचिवको भविष्य के होला? खेलका राष्ट्रिय संघहरु कसरी कब्जा गर्ने वा आफ्नो शासन कसरी कायम राख्ने? अन्ततः एनओसी (नेपाल ओलम्पिक कमिटी) को नेतृत्व कसरी हत्याउने? जस्ता उद्देश्यभन्दा बाहिर नेपाली खेलकुद जान सकेकै छैन,' रियो मैदानमा नेपाली प्रतिनिधि पालैपालो असफल भइरहँदा खेलाडी चोकको चियापसलमा सुवेदी गम्दै थिए। 

सुवेदीसँग नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष एवं एनओसीका सहमहासचिव राजीव श्रेष्ठ पनि सहमत देखिए। भन्छन्, 'रियोमा नेपाली खेलाडी असफल भइरहँदा हामीले उनीहरुलाई दोष दिएर पन्छन मिल्दैन। ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजाको जिम्मेवारी खेलाडी वा प्रशिक्षक एक्लैलाई बोकाउनु जायज हुँदैन। हाम्रा खेलाडीलाई पदक जित्न सक्षम बनाउन नसक्नुको दोष खेलकुदका हामी सबै सरोकारवालाले लिनुपर्छ। लगानी नगर्ने सरकारले लिनुपर्छ।'

खेलकुदलाई व्यवस्थित गर्दै अगाडि बढाउन सरकारी निकाय राखेप र अन्तर्राष्ट्रिय समन्वयकारी भूमिकाको एनओसीजस्ता संस्था आधुनिक खेलकुदको स्थापनाकालदेखि नै नेपालमा सक्रिय छन् तर राजनीतिक नियुक्तिले नेतृत्व गर्ने नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको राजनीतिक चरित्र र अन्तर्राष्ट्रिय मान्यताको धाक देखाएर व्यक्तिगत स्वार्थ सिद्ध गरिरहने एनओसी नेतृत्वको गैरजिम्मेवारी नै नेपाली खेलकुदका ठूला समस्या हुन्।

'राखेप कार्यकर्ता भर्तीमै मस्त भइरहने अनि एनओसी ओलम्पिक चार्टर र ओलम्पिक अभियानको डम्फु बजाउँदै अन्तर्राष्ट्रिय धाक देखाएर व्यक्तिगत स्वार्थसिद्धिमा निरन्तर लागिरहने कारण आधा शताब्दीमा पनि नेपाली खेलकुदले गुणात्मक फड्को मार्न नसकेको हो,' श्रेष्ठ भन्छन्, 'पदक नै जित्नुपर्छ भन्ने होइन, पहिलो एउटा मात्र हुन्छ, पदक एउटैले जित्छ तर प्रगति भइरहेको प्रमाण चाहिँ दिन सक्नुपर्छ। अन्यथा सधँै अनुभव, खेलभावना, भाइचारा, ओलम्पिक अभियानजस्ता नाराको भरमा देशलाई दिग्भ्रमित पार्न पाइन्न। साथमा खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीलाई पनि प्रदर्शनका आधारमा पुरस्कार र कारबाहीको व्यवस्था गर्नुपर्छ। रियो ओलम्पिकको पनि त्यही आधारमा समीक्षा हुनुपर्छ।'

उनका अनुसार यथास्थितिलाई कसैले चुनौती दिन नसकेका कारण ओलम्पिकका १४ संस्करणमा सहभागिता जनाइसक्दा पनि नेपाली खेलकुद जहाँको त्यहीँ रह्यो। 'उनीहरू नेपालीको नियति नै हार्ने हो, नेपालीले जितको सपना देख्न पाइन्न जस्ता हुतिहारा तर्कले यसलाई सत्यका रुपमा प्रमाणित गर्न चाहन्छन्। तिनको 'हो' मा 'हो' मिलाउने भलाद्मी धेरै भएकाले उनीहरु त्यसमा सफल भइरहेकै छन्,' उनले थपे, 'सीमित शासकसँगै अरु सबै सरोकारवालाको पनि खेल विकासमा रचनात्मक सहकार्य हुनुपर्छ।'

नेपाली खेलकुदले आधा शताब्दीदेखि भोग्दै आएको दुर्नियत नफेरिनुको कारण राजनीतिक भागबन्डा र आपसी शक्तिसंघर्षमै रुमल्लिएर खेलुकदमाथि रजाइँ गरिरहेका सीमित शासकसँग माग्नुपर्ने उनी बताउँछन्।

'नेपाली खेलकुदको नेतृत्व सम्हालिरहेका युवा तथा खेलकुद मन्त्रालय, राखेप र एनओसीका वर्तमान नेतृत्वसँगै विगतमा पदमा रहनेलाई पनि जवाफदेही बनाउनुपर्छ,' श्रेष्ठले भने, 'खेलप्रशासकलाई खेलकुदप्रति जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन सकिन्छ र सुखद भविष्यको कल्पना गर्न सकिन्छ। उनीहरुलाई नैतिकताको कठघरामा उभ्याइरहनुपर्छ।'

एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक सुशीलनरसिंह राणा तमाम समस्याका बीच पनि खेलाडी र प्रशिक्षकले सफलताका लागि प्रयास गर्नुपर्ने बताउँछन्। 'उपलब्ध साधन र स्रोतबीच उच्चतम नतिजाका लागि प्रयास गर्नुपर्छ,' नयाँ प्रतिभा पहिचान गर्दै तिनलाई नजिकबाट प्रगति मूल्यांकन गर्दै अगाडि बढाउनुपर्ने औंल्याउँदै राणाले गुनासो गरे, 'कुनै पनि एउटा खेलाडीले कसरी ग्रोथ लिइरहेको छ, नयाँ खेलाडी आयो, विद्यालय स्तरमा च्याम्पियन भयो। त्यसपछि त्यो कहाँ गयो भन्ने मोनिटर गर्ने व्यवस्था छैन। कसैको आँखामा परेर विभागीय टोलीमा ल्यायो भने राष्ट्रिय स्तरमा पुग्छ, नत्र एउटा राम्रो प्रतिभा त्यत्तिकै बिलाउँछ। हामीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन खेलाडी छान्दा ग्रोथ हेरेनौं, हिजो च्याम्पियन भएको आधारमा निर्णय गर्‍यौं। यसमा सबैको दोष छ, मिडियाको पनि।'

समयले २१औं शताब्दीमा पुर्‍याए पनि नेपाली खेलकुद पूर्वाधार र तालिम सुविधाका हिसाबमा अझैसम्म १९६४ कै अवस्थामा रहेको उनले दुःखेसो गरे। 'त्यो बेला अन्तर्राष्ट्रिय खेलाडीले पाउने सुविधा हामीकहाँ अहिले पनि पाइँदैन। पूर्वाधार बनाउन नसक्नुमा खेलाडी र प्रशिक्षकले केही गर्न सक्दैनन्। यो सरकारको नीतिमा भर पर्ने कुरा हो। तर हामीले वैज्ञानिक तालिम र रणनीतिक सहभागितामा ध्यान दिनु पनि उत्तिकै जरुरी छ,' वैकुण्ठ मानन्धरले २ घन्टा १५ मिनेटको कीर्तिमानी समयमा म्याराथन पूरा गरेर साफमा स्वर्ण पदक जित्दाको स्मरण गर्दै राणाले भने, 'त्यतिबेला उहाँलाई ६ महिना रुसका प्रशिक्षकले तालिम गराएका थिए। त्यसपछि अर्को ६ महिना जर्मनीका मार्कुसले विशेष तालिम गराएपछि त्यो नतिजा आएको हो। हामीले अहिलेसम्म पनि ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउँछु भन्नु नै कमजोरी हो। राष्ट्रिय कीर्तिमान सिस्टमेटिक रूपमा तालिम गराए देशमै पनि सम्भव छ। मैले प्रमुख प्रशिक्षक हुँदाको पाँच वर्षमा ३२ वटा राष्ट्रिय कीर्तिमान देशभित्रै बनेका थिए।'

...

अर्थात् नेपाली खेलकुदका दिनहरु उसै बितिरहेका छन्। देखिने प्रगति केही नहुनुका अन्तर्यमा अनेक कारण होलान्, केलाएर नियाल्न सकिन्छ। उक्ति छ नि– 'उडी छुनू चन्द्र एक!' ठूलो सपना देखे मात्र ठूलै विपना निम्तिन सक्छ। क्षितिजको लक्ष्य लिए मात्र कम्तीमा अलि पर पुग्न सकिन्छ, लक्ष्य नै नजिकको लिँदा कहिल्यै टाढा पुग्न सकिन्न। नेपाली खेलकुदले ओलम्पिकजस्तो अन्तर्राष्ट्रिय मैदाननिम्ति जस्तो लक्ष्य लिने गरेको छ, वास्तवमा त्रुटि त्यहीँबाटै सुरु हुन्छ, कमजोरी त्यहीँनिर प्रकट हुन्छ। राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य लिएपछि त्यहाँभन्दा पर कसरी पुग्न सकिन्छ र?

प्रकाशित: ४ भाद्र २०७३ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App