coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पहिले दाहाल अनि भारतीय राष्ट्रपति

काठमाडौं- भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ। सरकारका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुंगो लगाइएको हो।

निधि र स्वराजले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि मुखर्जी नेपाल आउने सहमति गरेका हुन्। दुवै भ्रमण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउनेमा पनि दुई देश सहमत छन्।

भारतीय राष्ट्रपतिको भ्रमणतिथि तय भइनसके पनि नयाँ संविधान जारी भएको दिन असोज ३ गते आयोजना गरिने विशेष समारोहमा उनलाई विशेष अतिथिका रूपमा निम्त्याउने सरकारी गृहकार्य छ।

'दुवै देशबाट एकअर्कामा उच्चस्तरीय भ्रमण गराउने सहमति बनेको छ। पहिला प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्ने र त्यसपछि भारतका राष्ट्रपति नेपाल आउने तय भएको छ। त्यसपछि राष्ट्रपति भण्डारीलाई भारत भ्रमण गराउन दुवै देश सहमत भएका छन्,' निधि–स्वराज भेटवार्तामा सहभागी एक स्रोतले भन्यो।

उच्चस्तरीय भ्रमणबारे सहमति बनेसँगै विशेष दूत निधिले शुक्रबार साँझ भारतीय राष्ट्रपति मुखर्जीलाई भेटी राष्ट्रपति भण्डारीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका छन्। त्यस क्रममा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारतीय राष्ट्रपतिलाई जानकारी गराए।

 

दुई देशबीच तीनवटा उच्चस्तरीय भ्रमण गराउने सहमति भए पनि मिति भने तोकिएको छैन। छिट्टै आपसी समझदारीमा कूटनीतिक तबरबाट भ्रमणमिति घोषणा गरिने जनाइएको छ। सहमतिअनुसार प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअगावै भारतमा स्वागत गरिनेछ।

'आपसी सम्बन्ध थप मजबुत बनाउन उच्चस्तरीय भ्रमण आवश्यक भएकाले पहिला तिनै कार्यक्रमलाई प्राथमिकता दिइएको हो,' स्रोतले भन्यो।

गत वर्ष असोज ३ गते नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि लगातार ६ महिना अघोषित नाकाबन्दी लगाएको थियो। अन्तर्राष्ट्रिय दबाब बढेपछि भारत नाकाबन्दी हटाउन बाध्य भएको थियो। नाकाबन्दी हटेपछि सम्बन्ध सुधारका लागि भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरे पनि सम्बन्ध पुरानै अवस्थामा फर्कन सकेको थिएन।

ओली नेतृत्वको सरकारले तय भइसकेको राष्ट्रपतिको भ्रमण स्थगित गर्दै भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायलाई समेत फिर्ता बोलाएपछि दुई देशबीच तिक्तता छताछुल्ल भएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल सरकारको नेतृत्वमा आएपछि उनले गत साता छिमेकीसँग सम्बन्ध थप मजबुत पार्न भारत र चीनमा विशेष दूत पठाउने निर्णय गरे। यसअनुसार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका छन् भने निधि बिहीबार भारत गएका हुन्।

निधिसँग भेटमा विदेशमन्त्री स्वराजले नयाँ सरकारले संविधान संशोधनमार्फत मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने प्रक्रिया सुरु गरेकोमा खुसी व्यक्त गरेकी थिइन्। उनले नेपालमा राजनीतिक स्थिरता होस् भन्ने भारतले चाहेको समेत बताइन्। नयाँ सरकारले मधेसी दलसँग सुरु गरेको संवाद र सहमतिमा भारतको साथ रहने उनले स्पष्ट पारिन्।

'मधेस मुद्दा सम्बोधन गर्न संविधान संशोधन प्रक्रियामा अघि बढ्नुभएको छ, यसप्रति हामी असाध्यै खुसी छौं,' स्वराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। भेटवार्तामा प्रधानमन्त्री दाहालको भारत भ्रमणका सम्भावित एजेन्डामाथि पनि संक्षेपमा छलफल भएको थियो।

प्रकाशित: ४ भाद्र २०७३ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App