सिन्धुपाल्चोक – एका बिहान लगाएर निर्माणाधीन घरबाट ढलान फर्मा निकालिसक्दा ४४ वर्षीया सुकुमाया माझी थाकिसकेकी छिन्। गाउँमा पुनर्निर्माणको चटारो रहेकाले उनले थकान भन्न पाइनन्। हतार–हतार दुई गाँस तातो च्यापेर उनी हिँडिन, छिमेकीको घर बनाउन।
हातमा पन्जा लगाइन् र जाबेल समाइन्। छोरा, भतिजाले छेउमा इँटाको थुप्रो लगाए। बालुवा, सिमेन्टले मसला दिए। धागोको सहायताले सिधा नाप लिँदै सुकुमाया इँटा, सिमेन्ट जोडाइको गारो लगाउन तल्लिन् भइन्। ‘मैले गारो लगाएको यो २१ औँ घर हो,’ पिछडिएका, अल्पसंख्यक माझी समुदायको बस्ती साँगाचोक, भीमटारकी उनले भनिन्।
भूकम्पले उनलाई डकर्मी बनाएको हो। भूकम्पपछि छिमेकी–छिमेकी मिलेर अर्म–पर्ममा गाउँ पुनर्निर्माण गर्ने निधो गाउँलेले गरेपछि उनी घर बाहिर निस्कन बाध्य भइन्। छिमेकी पुरुष, छोरा, भतिजाले गारो लगाएको सिक्दै सघाउन थालिन्। ‘हेर्दै, गर्दै, सिक्दै जाँदा डकर्मी भएँ,’ जाबेलले इँटा गारोमा मशला भर्दै सुकुमायाले सुनाइन्।
आरसीसी पिलरजडित उनको घर ढलान गर्ने तहमा पुगेको छ। आफ्नो घरको गारो आफैँलै लगाएकी हुन् उनले। डकर्मीमा मात्र सीमित नगरी उनी आफूलाई ‘अलराउण्डर’ भन्न रुचाउँछिन्। भन्छिन्, ‘आवश्यक पर्दा मशला घोल्ने, इँटा, बोक्ने, फर्मा ठोक्ने सबै काम गर्छु।’
आलोपालोमा पुनर्निर्माण भइरहेकाले गाउँमा ज्याला लेनदेन हुँदैन। त्यसैले सुकुमाया आफ्ना घर बनाउन आएका छिमेकीलाई सघाइरहेकी छिन्। सुरुमा उनलाई गारो लगाउने काम पुरुषको मात्र हो भन्ने लाग्थ्यो। महिलाले गारो काम गर्न सक्दैनन् भन्ने सोच्थिन्। ‘सबै काम कठिन नै हुन्छ। सिकेपछि डकर्मी काम सजिलो लाग्न थाल्यो,’ उनको अनुभव छ, ‘अवसर, सीप र सिक्ने चाहना पाए महिला पनि पुरुषभन्दा कम छैनन्।’
बुधबार मध्यान्ह भीमटार नजिकैको अर्को माझी बस्ती एक्लेफाँट पुग्दा २५ बर्षीया डकर्मी मञ्जु माझी गाउँका दिदीबहिनीलाई बालुवा, सिमेन्टको मशला बनाउन सिकाउँदै थिइन्। त्यहाँ भूकम्पले चर्काएको परम्परागत ढुंगामाटोको घर प्रविधि अपनाएर ‘रेट्रोफिटङ’ गर्ने काम हुँदै थियो। दिदीभिनाजुको घर भएकाले उनी केही दिनदेखि यतै ढुंगामाटोको गारोे लगाउने काममा जुटिरहेकी छिन्। पुनर्निर्माण सम्पन्न भएका एक्लेफाँट गाउँका १५ घरमा उनले डकर्मीको रुपमा काम गरिरहेकी छिन्। यहाँ भने ज्याला लिने चलन रहेछ।
डकर्मी भएबापत दिनको साढे ९ सय ज्याला पाउँछिन् उनी । ‘पुरुष डकर्मीले पनि पाउने यति नै रकम हो,’ उनले थपिन्। मञ्जुलाई पनि भूकम्पले नै डकर्मी बनाएको हो। तर उनले भूकम्पपछि पुनर्निर्माण सम्बन्धी एक दिनको तालिम लिएकी थिइन्। ‘तालिममा केही सिक्ने मौका पाएँ । पछि पुरुष डकर्मीहरुसँग सिक्दै जाँदा डकर्मी काम गर्न सक्ने भएँ,’ साबेलले मशला घोल्दै उनले भनिन्।
उनले इँटा, सिमेन्ट जोडाइ गारोको काम भने अहिलेसम्म गरेकी छैनन्। ढुंगामाटोकै गारोे लगाउन सक्ने भएकाले इँटा, सिमेन्टको काम त्यति कठिन नहुने उनी ठान्छिन्। आफ्नो घर डठ्याएपछि गाउँलेको घर बनाउन निस्केकी उनी डकर्मीको कमाइले घरखर्च धान्न सहज भएको सुनाउँछिन्।
भीमटार माझी गाउँको पुनर्निर्माण त महिलाले धानेका छन्। यहाँ आलोपालोमा दैनिक १५–२० समूह पुनर्निर्माणमा सक्रिय छन्। ६–१० जनाको उक्त समूहमा आधाभन्दा बढी महिला छन्। स्थानीय इन्द्रबहादुर माझी महिलाकै बलियो साथले गाउँको पुनर्निर्माणले तीव्रता पाएको बताउँछन्। उनका अनुसार यहाँ झण्डै डेढ सय घरको पुनर्निर्माण भइरहेको छ। ‘यो डकर्मी, त्यो लेबर भन्ने हुँदैन। आवश्यकताअनुसार महिला, पुरुषले जे पनि काम गरिरहेका छन्,’ उनले भने।
गाउँका धेरै महिला इँटा, सिमेन्ट, ढुंगा, माटो र ब्लकको गारोे लगाउन सक्ने उनी बताउँछन्। इन्द्रबहादुरसँगै उनकी श्रीमती माया पनि छिमेकीको घर बनाउन सक्रिय छिन्। ‘उनी गारो लगाउँछिन्, लेवरको काम पनि गर्छिन्,’ उनले श्रीमतीको प्रसंशा गर्दै भने।
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक ठड्याउन महिला, पुरुष सरह जागेका छन्। आफ्नो, छिमेकीको हुँदै बस्ती र गाउँ ठड्याउन उनीहरु पुरुष बराबर सक्रिय छन्। जिल्लाको सबै बस्ती र गाउँमा पुनर्निर्माणको चटारो छ। त्यहाँ महिला पुरुषसरह काम गरिरहेका भेटिन्छन्। ज्यामीदेखि मिस्त्रीसम्मको काम गरिहेका छन् महिला। समग्र पुनर्निर्माणलाई हेर्ने हो भने निर्माणमा पुरुष तुलनामा महिलाको उपस्थिती उत्साहजनक देख्न सकिन्छ।
डकर्मी (मिस्त्री) काम गर्ने महिला पुरुष बराबर दैनिक १ हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन्। लेवर काम गर्ने महिला, पुरुष दुबैले बराबर दैनिक ८ सय रुपैयाँसम्म ज्याला पाइरहेका छन्। भूकम्पअघि महिला लेवर जस्ता तल्लो स्तरका कठिन काममा मात्र सक्रिय देखिन्थे। अहिले महिला बिगतमा पुरुषले मात्र गर्ने र कठिन भनिएको गारोे लगाउने, झ्याल ढोकाको तह मिलाउने, ढलान फर्का ठोक्ने जस्ता काम पुरुष सरह गरिरहेका देखिन्छन्। प्राविधिक सुझबुझ पनि उत्तिकै छ महिलामा।
सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना इकाइ प्रमुख टंक गौतम भन्छन् भूकम्पपछिको पुनर्निर्माणमा जिल्लाका महिलाको सहभागिता उत्साहजनक छ। भूकम्पपछि एकसाथ ठूलो संख्यामा घर बनाउनुपर्दा भएको कामदार अभावले महिलालाई अवसर दिएको उनको बुझाइ छ। भन्छन्, ‘निर्माण क्षेत्रमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने देखाउने अवसर पनि हो यो।’
गौतमका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी लगायत अन्य संघसंस्थाको सहयोगमा भूकम्पपछि ९ हजारलाई सिकर्मी, डकर्मी तालिम दिइएको थियो। यो संख्यामा महिला सहभागिता २ हजार ५ सय रहेको उनले बताए। उनको बिचारमा तालिम पाएका केही बाहेक अधिकांश पुनर्निर्माणमै तल्लीन् छन्।
यसबाहेक पनि गाउँ–गाउँमा विभिन्न संघ, संस्थाले सिकर्मी, डकर्मी तालिम दिएका थिए। यसको एकीन तथ्यांक भने छैन। आफूखुशी सिक्ने महिला पनि धेरै छन्। ‘कति महिला पुनर्निर्माणमा जुटिरहेका छन् भन्ने तथ्यांक भन्न नसकिए पनि पुरुष बराबर सहभागिता रहेको अनुमान गरेका छौँ,’ इकाइ प्रमुख गौतमले भने।
प्रकाशित: २५ फाल्गुन २०७४ ०६:३४ शुक्रबार