८ वैशाख २०८१ शनिबार
समाज

धूमपान नगर्नेलाई पनि फोक्सोको क्यान्सर

काठमाडौं – स्वास्थसम्बन्धी अधिकांश अध्ययनले ९१ प्रतिशत फोक्सोको क्यान्सर धूमपानका कारण हुने तथ्यांक प्रस्तुत गरेका छन् । तर, पछिल्लो पटक अस्पतालमा आउने क्यान्सरका बिरामीको प्रकृति हेर्दा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ।

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. उज्ज्वल चालिसे धूमपान नगर्नेमा पनि फोक्सोको क्यान्सर बढिरहेको बताए । ‘नियमित चुरोट पिउनेहरूमा उमेर ढल्किसकेपछि मात्र फोक्सोका क्यान्सर देखापर्छ तर अहिले तीस वर्षकै युवाहरूमा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ,’ डा. चालिसे भन्छन् । सन् २०१७ मा भक्तपुर क्यान्सर अस्पतालमा आएका ४ सय २२ क्यान्सरका नयाँ बिरामीमध्ये १० प्रतिशतले धूमपान नगरेका भेटिएको उनले बताए । धूमपान नगरे पनि फोक्सोको क्यान्सरबाट पीडित हुनेहरू अधिकांश उपत्यकाका अत्यधिक प्रदूषित ठाउँमा बस्नेहरू रहेका उनले बताए।

डा. चालिसेका अनुसार उनीहरू बसपार्क, कोटेश्वर, कलंकी, बल्खु, चाबहिल, पुतलीसडकलगायतका स्थान तथा इँटाभट्टामा काम गर्नेहरू छन् । विगत चार÷पाँच वर्षयता धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर देखिन थालेको हो।

सुरुमा लागेको खोकीको सामान्य उपचार गरेका हुन्छन् । जटिल बनेपछि मात्र उपचारमा पुग्छन् । जतिबेला फोक्सोमा क्यान्सर छिप्पिसकेको हुन्छ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा प्रतिवर्ष ९ सय देखि ९ सय ५० फोक्सोका क्यान्सरका नयाँ बिरामी पुग्ने गरेका छन् । यीमध्ये केही बिरामी चुरोट नपिउनेहरू हुन् । सन् २०१० देखि २०१२ भित्र अस्पतालले अमेरिकी  अनुसन्धान टोलीसँग गरेको अध्ययनमा सन् २०१० मा कुल बिरामीको ४ प्रतिशत धूमपान नगर्नेहरू थिए । सन् २०१२ मा सो संख्या बढेर ९ प्रतिशत पुगेको थियो । त्यसयता अस्पतालले यस विषयमा अध्ययन नभएता पनि सो संख्या बढेको अनुमान छ । अस्पतालमा आउने बिरामीको स्थितिले भने धूमपान नगर्ने बिरामीहरू आउने क्रम उत्तिकै छ। अस्पतालका फोक्सो सर्जन डा. विनय ठाकुरका अनुसार यो समूहका बिरामी देशको मध्यभागका बढी छन्।

विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको सर्वेक्षणअनुसार कुल जनसंख्याको १.४ मा फोक्सोको क्यान्सर छ ।
सन् २०१५ नेपाल क्यान्सर अस्पताल पुगेका ७८ जना फोक्सो क्यान्सरका बिरामीमध्ये ५१ पुरुष र २७ महिला थिए । क्यान्सर भएका महिलाहरू धेरैजसो ४० देखि ५० वर्षभित्रका थिए । ती मध्ये २५ प्रतिशत उपत्यकाबाहिरका र बाँकी उपत्यकाभित्रका थिए । सन् २०१६ मा ८२ जनामा फोक्सोका क्यान्सर भएकामध्ये ४५ पुरुष र ३७ महिला थिए । महिलामध्येमा ८.२ प्रतिशत ५० वर्षमुनिका थिए भने ४० वर्षमुनिका ६ प्रतिशत थिए । उनीहरूलाई सुरुमा सिओपिडी, निमोनिया हुने र पछि फोक्सोको क्यान्सर देखिने गरेको थियो।

उल्लेखित अध्ययन तथा तथ्याकंलाई केलाउँदा उपत्यकाभित्रको प्रदूषणले धूमपान नगर्नेहरूमा पनि फोक्साको क्यान्सर भएको हुनसक्ने चिकित्सकको ठम्याइ छ । भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. चालिसे भन्छन्, ‘इँटाभट्टामा काम गर्ने र बढी प्रदूषित क्षेत्रमा बस्ने व्यक्तिहरू चुरोट नपिए पनि युवा उमेरमै फोक्सोको क्यान्सर भएर आएका छन्,’ विपी कोइरला क्यान्सर अस्पतालका डा. ठाकुरले भने । उपत्यकाको प्रदूषणकै कारण यो संख्या बढेको हुनसक्ने नेपाल क्यान्सर अस्पतालका अनुसन्धानविद् डा. माधव गौतमले बताए।

कारण
चिकित्सकका अनुसार औद्योगिकीकरण र सहरीकरणसँगै प्रदूषण बढेसँगै धूमपान नगरेकामा फोक्सोका क्यान्सर देखिएको हो । डा. ठाकुरका अनुसार खानी तथा कारखानामा काम गर्ने व्यक्ति, खानीछेउका वस्तीमा बस्ने मानिस, धुवाँ, धुलोजन्य वातवरणमा बस्ने, दाउराको धुवाँमा  नियमित दुईदेखि ४ घण्टा या त्यो भन्दाबढी समय खाना पकाएमा, फोक्सोमा पुराना संक्रमणहरू क्षयरोग, ब्र्रोङकाइटिश भइरहेमा धूमपान नगरे पनि फोक्सोको क्यान्सर हुनसक्छ। धूमपान गर्ने सबैलाई फोक्सोको क्यान्सर नहुन पनि सक्छ।

डा. ठाकुर भन्छन्, ‘दुई घण्टा दाउराको धुवाँमा खाना पकाउनु भनेको एक प्याकेट चुरोट पिए सरह हुन्छ, चार घण्टा पकाएमा दुई प्याकेट पिएसरह।’

दैनिक दुई घण्टा धुँवामा खाना पकाउने या प्रदूषित धुवाँमा श्वास फेर्ने व्यक्तिलाई करिब ३० वर्षभित्र र चार घण्टा धुवाँको सम्पर्कमा हुनेलाई १५ वर्षभित्र फोक्सोको क्यान्सर हुन सक्छ।

चिकित्सकका अनुसार पछिल्लो समय सहरीकरण, औधोगिकीकरणसँगै वावतरणमा प्रदूषण बढ्नाले धूमपान नगर्नेमा पनि फोक्सोको संक्रमण र क्यान्सर बढेको देखिन्छ। प्रदूषित वातवरणमा क्यान्सरजन्य तत्वहरू, निकोटिन, कार्बनजस्ता क्यान्सरजन्य तत्वहरू हुनछन् । यी तत्वहरू प्रदूषित श्वासँगै फोक्सोमा पुग्ने र पछि गएर फाक्सोको भित्री लेयर संक्रमित हुन गई क्यान्सरको रूप लिन्छ।

डा. चालिसेका अनुसार उपत्यकामा बढ्दो धुवाँसहितका गाडी गुड्नु, इँटाभट्टा सञ्चालन हुनु, सडकमा प्लास्टिकका फोहोर बाल्नु जस्ता कारणले हावामा विभिन्न क्यान्सर बनाउने कण र धुवाँ मिश्रित छ र यसको कारण उपत्यकावासीमा फोक्सोका क्यान्सरको जोखिम बढेको छ । ‘चुरोट पिउनै पर्दैन, क्यान्सर बनाउनसक्ने धेरै कुरा हावामै छन्,’ उनले भने।
उनको अनुसार फोहोरको धुवाँमा मनोअक्साइड, धुवाँयुक्त गाडीबाट हाइड्रोकार्बन, औधोगिक क्षेत्रबाट निस्कने पोलिहाइड्रो, कार्बन पेरोअन्साइड जस्ता दूषित तत्व हुन्छन् । जुन श्वासको माध्यमबाट फोक्सोमा पुगेपछि गएर क्यान्सर बनाउन भूमिका खेल्छन् । हावामा मिसिकएै धुलोको कणबाट फोक्सोमा लामो समयपछि क्रोनिक इन्फलामेशन गराउँछ र फोक्सोको क्यान्सर हुन पुग्छ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App