मार्क्सवाद र हाम्रा कामरेड

शुक्रबार, २५ फागुन २०७४, ०९ : ०१ डा.सरोज धिताल

38


हामी नागरिक हौँ, हामीलाई राज्य भन्ने चीज चाहिन्छ, त्यो राज्यले लोकतान्त्रिक संघीय गणतन्त्रको रूप लिएको छ, र त्यसको सारथिका ठाउँमा कम्युनिस्टहरू पुगेका छन् । अहिलेको नेपाल र नेपालीको सरल यथार्थ यही हो ।

दोहोर्‍याइरहनै पर्दैन, राजनीतिक स्थायित्वले जीवन केही सहज होला र लाजमर्नु गरिबीबाट देश केही उठिहाल्ला कि भन्ने आशाले सोझा जनताले यिनलाई त्यो ठाउँमा पुर्‍याएका हुन् । जसरी भए पनि, जे गरेर भए पनि जनताका आवश्यकता पूरा गरिदिए, हरेक नागरिकलाई पूर्ण मानिस बन्ने दिशामा ढोका खोलिदिए, र सकारात्मक, रचनात्मक मानवीय सम्भाव्यतालाई फक्रिन सघाइदिए हुन्थ्यो यिनले भन्ने चाहना जनताले राख्नु अत्यन्त स्वाभाविक हो । जनताका जीवनमा, दैनिकीमा, निरन्तर सहजता थपिइरहने हो भने शासन पद्धतिसँग आम जनताको त्यति धेरै मतलब नरहने रहेछ भन्ने कुरा छिमेकमै भइरहेका कतिपय कुराले देखाइरहेका छन् । तर स्थायित्वसँगै जोडिएर आउने लोकतन्त्रका मिहिन सवालहरू धेरै छन् । र समयक्रममा ती सबै सवालहरूले महत्व पाउने छन् । यतिबेला साना देखिएका कुरा पनि ठूलो हुँदै जानेछन्। अहिले तत्कालैको चासो भने जनताका न्यूनतम चाहना– स्थायित्व, समृद्धितर्फको यात्रा र सामाजिक न्यायको प्रत्याभूति नै  यिनले सम्भव तुल्याउन सक्लान् कि नसक्लान् भन्ने नै हो।

त्यो सँगसँगै बौद्धिक जगत्को एउटा तप्काभित्र ठूलै कौतूहल पनि देखिन्छ जो स्वाभाविक छ । माक्र्सवादी, लेनिनवादी र माओवादी भनेर चिनिएका दुई ठूला कम्युनिस्ट समूह मिलेर सरकार बनाउँदै मात्रै छैनन्, एक हुने तयारीमा छन् । अब तिनको निर्देशक सिद्धान्त के हुने होला? ती सत्यप्रति समर्पित रहलान् कि आआफ्नै धारणाका बन्दी बनिरहलान् ? ती साँच्चै प्रगतिशील सत्यानुगामी होलान् कि आधुनिकताका नाममा आफ्नो साँघुरो स्वार्थका निम्ति जस्तोसुकै नौटङ्की देखाउन तयार अवसरवादीमै दरिएलान् ? मानिसको ज्ञान र विज्ञानप्रविधिमा भएको अकल्पनीय विकासका आधारमा आफ्नो निर्देशक सिद्धान्तलाई मलजल, गोडमेल, काँटछाँट गरिरहलान् कि, कर्मकाण्डीय हिसाबले मात्र केही मन्त्र जप गरिरहलान् ?

मानव इतिहासमा अभिलिखित र उल्लेख्य प्रभाव पार्न सकेका विचारहरू सबै आआफ्नो समयमा ‘उग्र’, ‘क्रान्तिकारी’, ‘वैकल्पिक’ विचारका रूपमा आएका थिए । तिनले तत्कालीन समाजमा हाबी भइरहेका प्रमुख विचार समूहलाई जगै हल्लाउने गरी चुनौती दिएका थिए, ती ‘आमूल परिवर्तनकारी’ थिए । कालान्तरमा ती पनि ‘पुराना’ भए ।
आफूलाई वाम बुद्धिजीवी भन्न रुचाउने विद्वान्हरूलेविभिन्न नेताका दरबारमा चाकडी गर्न जानुको सट्टा महत्वपूर्ण विषयमा छलफल चलाए बेसै हुन्थ्यो कि!  

सत्य, र सत्यका बारेमा कसैले बनाएका धारणा फरक कुरा हुन् । जो सत्यप्रति समर्पित छ, ऊ सधैँ आफ्नो सीमालाई स्वीकार गर्छ । ऊ बुझ्छ, सम्पूर्ण सत्य तत्काल बुझिने कुरा हैन– त्यो दिशातर्फ उन्मुख भइरहने मात्र हो । त्यसैले नयाँ तथ्य उद्घाटित हुनेबित्तिकै आफूले बोकेका धारणाहरूलाई सम्पादन गर्न ऊ पटक्कै गाह्रो मान्दैन ।आफूले कोरेको सत्यको चित्रलाई सपार्न वा नयाँ चित्र कोर्न अल्छी मान्दैन।

तर जसले आफ्नो ‘म’भावको जरालाई मलजल गर्नका निम्ति मात्र कुनै जमानामा ‘सत्य’ ठानेर ग्रहण गरेको धारणालाई प्रयोग गरिरहेको छ, ऊ भने सत्यको नाममा त्यही धारणालाई बोकिरहन्छ, बेचिरहन्छ । कुनै पनि नवउद्घाटित तथ्य उसका निम्ति अग्राह्य हुन्छन्, पीडादायी हुन्छन्, आफूले बोकेको धारणामा अलिकति पनि केरमेट गर्नुप¥यो भने उसका निम्ति त्योभन्दा दुख्ने घाउ अरू केही हुँदैन । यथार्थमा आफ्नो धारणाको बन्दी भएको ऊ ‘विचारधारा’मा (वा पार्टीको पक्षमा) ‘सती सालझैँ दृढ भएर उभिइरहेको’ भावमा रमाउँछ, वा अरूलाई त्यो भ्रम दिन खोज्छ । नवोद्घाटित तथ्यहरूलाई स्वीकार्ने क्षमताको अभावमा ऊ आफ्नो ‘आस्था’को जग भएको सिद्धान्त र विचार पद्धतिलाई झन्झन् कमजोर पारिरहेको हुन्छ । यस्ता मानिसहरू एकखाले कर्मकाण्डीय ‘धार्मिक’ जस्ता हुन्छन्।

यी भन्दा अझ सतही हुन्छन् अर्काथरी यी झनै ‘दृढ सतिसाल’ भएर देखाउन खोज्छन् । तर केवल नाममा कुनै सिद्धान्त बोकेर हिँडिरहेका हुन्छन् । नामको त्यो ‘ट्याग’ झिकिदिएपछि आफ्नो पहिचान, आफ्नो अस्तित्व नै गुम्छ भन्ने भय हुन्छ । जमानादेखि बोकिरहेको त्यो ट्यागलाई यिनीहरू बोकिरहन्छन् । तर त्यसको कुनै अर्थ बाँकी रहँदैन । अनि आफू समयसापेक्ष परिवर्तन हुन तयार भएको बहाना गर्छन् । यिनको पनि सत्यसँग कुनै नाता हुँदैन, नवोद्घाटित कुनै तथ्यसँग सरोकार हुँदैन, उत्तरदायित्वबोध हुँदैन ।ज्यादै साँघुरो स्वार्थमा रमाइरहन्छन्, र त्यही सानो स्वार्थका निम्ति आफ्ना हरेक गतिविधिलाई सही साबित गर्न तर्क खोजिरहन्छन् । उनीहरू अति नै परिवर्तनशील देखिन्छन् पनि । तर त्यो ‘परिवर्तनशीलता’ यथार्थमा अवसरवादको सस्तो नमुना मात्र हुन्छ । यी अर्काथरी कर्मकाण्डीय ‘धार्मिक’ हुन् ।
कुनै नयाँ विचारमा दम छ भने त्यसले तरङ्ग ल्याउँछ । हल्लिखल्ली मच्चाउँछ । स्थापित मान्यताहरूलाई त्यसले जति ठूलो चुनौती दिएको छ त्यो तरंग,त्यति नै ठूलो छाल बन्छ, त्यसका वरिपरि सृजित हल्ला त्यति नै ठूलो नाद बन्छ । मानव इतिहासमा अभिलिखित र उल्लेख्य प्रभाव पार्न सकेका विचारहरू सबै आआफ्नो समयमा ‘उग्र’, ‘क्रान्तिकारी’, ‘वैकल्पिक’ विचारका रूपमा आएका थिए । तिनले तत्कालीन समाजमा हाबी भइरहेका प्रमुख विचार समूहलाई जगै हल्लाउने गरी चुनौती दिएका थिए, ती ‘आमूल परिवर्तनकारी’ थिए । कालान्तरमा ती पनि ‘पुराना’ भए । यसरी ‘पुराना’ हुँदै गएका विचारका पक्षपातीहरू कि त माथि उल्लिखित दुईमध्ये एकमा परिणत भए, कि भने नवउद्घाटित तथ्यका आधारमा आफूले ग्रहण गरेको विचार प्रणालीलाई अझै समुन्नत बनाउन लागे । मानव समाजको दुर्भाग्य के छ भने यस्ता प्रगतिशील सत्यानुगामीहरूको जहिले पनि अभाव नै रहिआएकोछ । जसले गर्दा जुनसकै कालखण्डमा नयाँ विचारको, नयाँ खाले कर्ताको, नयाँ राजनीतिक संस्कारको आवश्यकताबोध भइरहन्छ।

माक्र्सवादको उदय हुँदा त्यसले साँच्चैको तरङ्ग ल्याएको थियो । हल्लिखल्ली मच्चाएको थियो । त्यसबेलाका केही यथार्थको जगमा उभिएको थियो माक्र्सवाद । केही शताब्दीअघि नै पुराना पश्चिमा धारणाहरूलाई बेस्सरी हल्लाइसकेको न्युटनको भौतिकशास्त्रका आधारमा विकसित यन्त्र, यान्त्रिक ज्ञान र सीपले औद्योगिक क्रान्तिको लहर ल्याएको थियो र त्यो लहरभित्रबाट जन्मिएको थियो नयाँ उत्पादन प्रणाली र जन्मिएका थिए उत्पादनसँग गाँसिएका नयाँ वर्गहरू । न्यूटनीय भौतिकीको वस्तुपरकता, अस्तित्वको स्वतन्त्रता र परिवर्तनशीलतालाई डार्बिनको विकास सिद्धान्तले टेवा दिइरहेको थियो । यी सबैबाट माक्र्सवादले पोषण प्राप्त ग¥यो ।तर त्यसले अङ्गिकार गरेको सम्भवतः सबभन्दा सुन्दर कुरा थियो हेगलको ओफेबुङ जसलाई माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादमा ‘निषेधको निषेध’को नियमका रूपमा सर्वत्र पढिन्छ, पढाइन्छ । (माओले भने यसमा विश्वास गर्दिनँ भनेका रहेछन् कतै!)

अहिले पनि न्युटनको भौतिकशास्त्र असान्दर्भिक भएको छैन, तर त्यसका सीमा स्पष्ट भएका छन् । पूर्ण सत्यका रूपमा केही शताब्दीसम्म मानिसको ज्ञान माथि अविच्छिन्न शासन गरेको न्युटनीय भौतिकशास्त्रको पर्खाल नाघेर आइन्स्टाइन धेरै पर पुगे । तिनै आइन्स्टाइनको सापेक्षिकताको सिद्धान्त भित्रका सीमाहरू पनि देखाउँदै उनीपछिका वैज्ञानिकहरूले निरन्तर फड्को मारिरहेकाछन् । त्यो सापेक्षिकताको सिद्धान्तले देखाइदिएको चार आयामहरू बुझ्नसमेत मानिस मस्तिष्कले अझै भ्याइसकेको छैन एकातिर, अर्कोतिर एघार आयामका कुरा समेत पुराना हुने डर भइसक्यो । मापन गर्न सकिने, मानव विचारदेखि स्वतन्त्र वस्तुगत तथ्य नै सत्यको आधार मानिँदै आएकामा अहिले क्वान्टम भौतिकीले ‘अब्जर्भर डिपेन्डेन्ट ट्रुथ’ (द्रष्टानिर्भर सत्य)को कुरा गर्न थाल्यो । आइन्स्टाइनले समेत कुनै जमानामा ‘वाहियात टुनामुनाको विज्ञान’ भनेर उँडाएको यही क्वान्टम भौतिकशास्त्रले अहिलेको मानिसको ‘डिजिटल’ जिन्दगी धानिरहेको छ । र यसले देखाइरहेको द्रष्टानिर्भर सत्यले द्वन्द्वात्मक भौतिकवादका निम्ति सृजना गरेको पहेलीलाई कामरेडहरूले ध्यान दिएका छन् कि छैनन् होला?

माक्र्सवादको विशेषता नै के थियो भने यो समकालीन विज्ञान र प्रविधिको उपलब्धिलाई स्वीकार गर्दै, त्यसैको जगमा उभिएको थियो । आज, झन्डै दुई सय वर्षपछि, विज्ञान र प्रविधिमा यति धेरै परिवर्तन आइसक्दा, उत्पादनका साधनहरूमा अकल्पनीय परिवर्तन आइसक्दा, मानव श्रमकै दृश्यरूप मात्रै हैन, ज्ञानसँगको घनिष्ठताका कारण यसको स्वभावमा समेत परिवर्तन आइसक्दा नवोद्घाटित सत्यहरूलाई आत्मसात् गर्दै माक्र्सवादीहरू अघि बढ्ने साहस गर्लान् कि कर्मकाण्डीय नै रहलान् ?

कुनै जमाना थियो– जति बेला औद्योगिक क्षेत्रका चिम्नीहरूबाट पुत्पुताउँदै निस्केका धुवाँका मुस्लाहरू कम्युनिस्ट कला साहित्यमा सौन्दर्यशास्त्रका अनुपम विम्ब र गौरवका विषय बन्थे । अहिले वातावरणीय संवेदनशीलता यसरी बढेको बेलामा त्यही कुरा कति भयावह, असुन्दर र विध्वंशक लाग्छ ! पूर्णतातर्फको यात्रामा सर्पिल आकारको (स्पाइरल) बाटोमा ‘निषेधको निषेध’ गर्दै मानव जाति ओफेबुङको साक्षी भइरहेको छ । आफ्नो सैद्धान्तिक आधारलाई रिट्रोफिटिङ  गरिरहँदा कामरेडहरूले यी सबै कुरालाई कहाँ ‘फिट’ गर्लान् ?

स्वास्थ्य अधिकार, शिक्षा अधिकार र सामाजिक न्यायका सवालहरू ‘समानता’को सतही नाराबाट धेरै माथि उठेर पृथ्वीकै भविष्यसँग जोडिन पुगिसकेको छ । बजार अर्थतन्त्रले आँखा तिर्मिराएको ‘नयाँ जोगी’ भएर छाडा बजारको खरानी घस्न तँछाडमछाड गर्लान् कि स्वधर्म निर्वाह गर्लान् ?

जतिसुकै बुद्धिविलास जस्तो लाग्ने भए तापनि अहिलेका सारथिहरू यी प्रश्नहरूमा गम्भीरतापूर्वक पसिदिए भलो हुनेथियो । प्रत्यक्ष राजनीतिमा लागेका बडा नेताहरूलाई त यो फुर्सद कहाँ होला र! आफूलाई वाम बुद्धिजीवी भन्न रुचाउने विद्वान्हरूले बरू विभिन्न नेताका दरबारमा चाकडी गर्न जानुको सट्टा यी लगायत महत्वपूर्ण विषयमा छलफल चलाए बेसै हुन्थ्यो कि! 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...