६ वैशाख २०८१ बिहीबार
समाज

चुनौतीपूर्ण सेवामा बढ्दो महिला प्रवेश

काठमाडौं – अन्तर्राष्ट्रिय महिला दिवस अर्थात आठ मार्च आजको दिन महिला र श्रमअधिकारसंग गाँसिएको ऐतिहासिक दिन हो। त्यही दिनलाई आज विश्वभरका श्रमजीवि महिलाहरुले भब्य रुपमा मनाइन्छ। नेपालमा पनि बिभिन्न कार्यक्रमका साथ बर्षेनी मनाइन्छ। 

महिला श्रमिक अधिकारको रुपमा स्थापित यो दिवस नेपालको सन्दर्भमा श्रम बजार र यसले निर्धारण गरेको महिला सहभागिताले महत्व राख्छ। एक दशक अघिसम्म सार्वजनिक सेवामा महिलाहरुको सहभागिता औलामा गन्ने अवस्थामा थियो। त्यो अहिले फेरिएको छ। धेरै क्षेत्रमा सहभागिता बढ्दै गएको छ भने कतिपयमा नेतृत्वतहमै पुगिसकेका छन्। 

सार्वजनिक सेवा अन्तर्गत महिला एकाधिकारकै रुपमा स्थापित छ नर्सिङ सेवा। नर्सिङ अध्ययन संस्थानका डीनदेखि,क्याम्पस प्रमुखसम्मको तहमा महिला नर्सहरु पुगिसकेको नेपालको तथ्याकंले देखाउँछन्। पाटन स्वास्थ्य बिज्ञान नर्सिङ अध्ययन प्रतिस्ठानकी डीन हुन् सरला केसी। उनी नर्सिङ पेशाकै कारण सम्मानित पदमा पुगेकी हुन्। ३८ बर्ष अघि यो सेवामा प्रवेश गर्दा नर्सको समाजमा छुट्टै सम्माान थियो।

यतिसम्म कि विदाको समयमा आंशिक समय जागिर नै पाइन्थ्यो।  ‘छुट्टी भयो कि अस्पतालमा काम गर्न जान्थ्यौं,पैसा पनि पढाइ पनि संगै’उनले ती दिन सम्झिंदै भनिन्। उनको अनुभवमा नेपालमा नर्सिङ पेशालेनै धेरै नर्सको आर्थिक सशक्तिकरण गरेको छ। जुन पक्ष सशक्तिकरणको पहिलो आधार हो। 

तथ्याकं अनुसार हाल नेपालमा ७५ हजार नर्सहरुले नेपाल नर्सिङ काउन्सिलबाट अनुमति पत्र लिइसकेका छन्। ती मध्ये ५० जना पुरुष नर्स छन्। नर्सिङ शिक्षा अन्तर्गत त्रिविवि चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगंजले कुल नर्स कोटाको १० जना पुरुष नर्सको लागि छुट्टयाएको थियो। २०४८ सालतिर पुरुष नर्सहरुले संस्थासंग कि २५ जना पुरुष नर्सको लागि सीट हुनु पर्ने या पुरै सीट खारेज हुनु पर्ने माग राखेपछि संस्थानले पुरै सीट खारेज गरेको थियो। संस्थानले खारेज गरेपछि नर्सिङ क्षेत्रमा पुरुष संख्या बढ्न नसकेको हो।  

रोजगारीको कुरा गर्दा १२ हजार नर्स सरकारी र संस्थान अन्तर्गत सेवामा सक्रिय छन्। १० हजार विदेशका अस्पतालहरुमा,निजी र आइएनजिओमा १० हजार कार्यरत छन्। देशभरका १ सय ११ अस्पतालमा गरी बर्षेनी ५ हजार नर्स उत्पादन हुन्छन्। देशमा रोजगार नपाएका नर्सका लागि विदेश आकर्षक आम्दानी सहित सम्मानजनक काममा सहभागीता नर्सिङ पेशाले नै दिलाएको डीन केसीको तर्क छ। स्वदेशमा दिएको रोजगारीले नर्सलाई आर्थिक रुपमा सशक्तिकरण गरेको छ भने वैदेशिक रोजगारीमा पुगेका नर्सहरुको लागि लोभलाग्दा आम्दानी छ। केसी भन्छिन्, ‘तिनै नर्सहरुको वैदेशिक जागिरले बर्षेनी रेमिट्यान्स भित्रिएको छ’ उनले भनिन्। 

उसो त नर्सिङ बिषयमै अध्यापन गर्न सक्ने तहका थुपै स्नकोत्तर नर्सहरु पनि १ सय भन्दा बढी संख्यामा उत्पादन भइसकेका छन्। ती सवै नर्सहरु देशभरका नर्सिङ कलेजहरुमा प्राध्यपकका रुपमा खपत हुन सक्ने केसी बताउँछिन्। नेपालमा २०४७ सालपछि आएको राजनीतिक परिवर्तनसंगै निजीकरणले नर्सिङ कलेज,निजी अस्पताल र नर्सहरु थुपै उत्पादन भएसंगै नर्सहरुको सामाजिक सम्मान भने केही खस्केको पाटोलाई भुल्न नहुने डीन केसीको भनाइ छ। ‘निजी मेडिकल कलेजमा नर्सको लागि राम्रै पारिश्रमिक देखिन्छ, निजी अस्पतालहरुमा कमी छ,यसलाई सरकारले नियमन गर्नु पर्छ’उनले भनिन्। देशमा स्कुल नर्स, औद्योगिक नर्सको अवधारणाले उत्पादित नर्सहरुको लागि थप रोजगारीको अवसर सिर्जना हुने डीन केसीले बताइन्। 

सार्वजनिक सेवामा महिलाहरुको सम्मानजनक उपस्थिति हुँदै गएको क्षेत्रर्म पर्छ नेपाली सैनिक सेवा। नेपाली सेनाको लामो इतिहासमा महिलाहरुको प्रवेश भने २०२६ वैसाखदेखि मात्र सुरु भएको थियो। त्यतिबेला चिकित्सक,नर्स जस्ता प्राविधिक तहमा मात्र महिलालाई समावेश गरेको देखिन्छ। साधरण तर्फ २०६१ सालदेखि मात्र प्रवेश भएको थियो।  नेपालमा चलेको राजनीतिक परिवर्तन र लैगिंक मुद्दाको बहससंगै नेपाली सेनाको साधरण तहमा महिलाले प्रवेश पाएको थियो। औपचारिक प्रवेश पाएको १३ बर्षको अवधिमा ४ हजार ८१ जना महिलाहरुको प्रवेश भइसकेको छ। जुन सहभागिताले महिलाहरुको उल्लेखनीय सहभागिता हुँदै जाने संकेत देखिन्छ। 

ती मध्ये अधिकृत तहमा १ सय ७३ जना छन् भने प्राविधीक तहमा १ सय ८७ जना महिला सक्रिय छन्। नेपाली सेनाभित्र पनि बिशिष्ट भूमिकामा महिलाहरु अघि बढ्दै गएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी बताउँछन्। भण्डारीका अनुसार नेपाली सेनामा महिलाहरु गुल्मपतिदेखि महासेनानी तहसम्मका छन्। सेनामा यी तहमा पुग्नको लागि बिशिष्ट तालिममा सहभागी भई उत्र्तिण हुनु पर्छ। यिनै प्रक्रिया पार गरेर महिला गुल्मपति बनेकी हुन् ३२  बर्षीया सृष्टि खड्गा। नेपाली सेनामा प्रवेश गरेको १३ बर्षको अवधिमा उनी गुल्मपति बनेकी हुन्। सेनामा जागिर खानु भनेको महिलाको लागि आर्थिक, शारिरीक र मानसिक रुपमा बलियो भएको विश्वास खड्गालाई छ। ‘सेनामा महिला सशक्तिकरणकै लागि महिला गुल्मपति पद स्थापना गरेको देखिन्छ’ उनले भनिन्। 

हालै बिशेष तालिमको प्रवेश परिक्षामा उत्र्तिण भएर महासेनानी बनेकी हुन सुलोचना पौडेल। उनले स्टाफ कलेजको प्रशिक्षक तालिममा उत्र्तिण भएपछि महासेनानी दर्जामा बृद्धि भएको थियो। उनी ४९ सीट मध्ये १ जना महिलाले उत्र्तिण गरेकी हुन। सेनाको प्राविधीक तर्फ भने तीन जना महासेनानी छन्। 

नेपाल प्रहरीमा पनि महिला सहभागिता बढ्दै गएको छ ।  यो अवधिमा ५ हजा ४ सय ३३ जना महिला प्रहरीको  सहभागिता छ । ती मध्ये डिआइजी २  जना,एसएसपी १ जना,एसपी ९ र डिएसपी १२,इनिसपेक्टर ८९,सहायक इनिसपेक्टर २६५,असई ४ सय ९, हवल्दार ५ सय ४७, जवानतर्फ ३ हजार ८ ४७ र प्रहरी कार्यालय सहायकमा २ सय ५२ जना सहभागी छन् । 

 आरक्षण्को व्यवस्थासंगै  नेपाल प्रहरीमा महिला सहभागिता बढ्दै गएको  प्रहरी प्रवक्ता मनोज न्यौपाने बताउँछन्। ‘पहिला सीमित थिए,अहिले हजारौंको संख्यामा छन्’उनले भने। नेपाल प्रहरीमा महिला आरक्षण अघि नै २०५१ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रवेश गरेकी हुन् भक्तपुर प्रहरी परिसरकी प्रमुख एसपी किरण राणा। सम्मान जनक पेशाको रुपमा स्थापित भएकोले पनि महिलाहरुको लागि आकर्षणको पेशा बन्दै गएको एसपी राणा बताउँछिन्। उनको बिचारमा यो पेशामा प्रवेशका लागि शैक्षिक र शारिरीक क्षमता पुग्नु पर्ने भएकोले उपयुक्त वातवरणको अभावमा भनेजति महिलाले प्रवेश पाउन सकेका छैनन्। शैक्षिक क्षमता भएकाहरु कतिपय शारिरीक फिट नभएको कारण अनुत्तिृण हुन पुग्छन्। महिलालाई लक्षित गरेर स्थानीय तहमै प्रहरी परिक्षाका लागि शैक्षिक तथा शारिरीक तालिमको व्यवस्था हुने हो भने महिला प्रवेश अझै बढ्ने राणा बताउँछिन्। 

तीन दशक अघिसम्म महिलाहरु वैकमा औलामा गन्ने महिलाको मात्र सहभागिता थियो। त्यही बेलामा बैकको जागिरे बनेकी हुन् हाल मेघा बैककी एक्टिङ सिओ अनुपमा खुन्जाली। प्रिभिलेज, स्टयाण्र्ड, नविल बैक हुँदै उनी मेघा बैकमा जागिर खान पुगेकी हुन्। उनले पहिले र अहिले बैंकमा फरक पाएकी छिन्। महिला कर्मचारीको सहभागिता हवात्तै बढ्दै गएको छ। काउन्टरदेखि प्रमुखसम्मका पदहरुमा। उनले काम गर्दै आएको मेघा बैकमा हाल ४० प्रतिशत महिलाहरु कार्यरत छन्। अन्य वैकमा पनि यही अवस्था हुन सक्ने उनको अनुमान छ। उनको अनुभवमा एक दशकदेखि यता वैकिङ सेवामा हवात्तै महिलाको सहभागिता बढ्र्दै गएको हो। 

नेपालमा निजी बैक खुल्न थालेपछि महिला सहभागिता हवात्तै बढेको राष्ट्र वैकका सहायक प्रवक्ता राजेन्द्र पण्डित बताउँछन्। युवा शक्ति पढेपछि पनि ठूलो अवसरको खोजीमा विदेशिने र पदपुर्ति परिक्षामा महिलाहरुले नै बढी मात्रामा परिक्षा दिएकैले महिलाहरुको सहभागिता बढ्र्दै गएको प्रवक्ता पण्डितको भनाइ छ। महिलाहरुलाई दिने घरविदा, सुत्केरी विदा र सरुवा असुविधा जस्ता कारणले निजी वैकले महिला भन्दा पुरुषलाई नै उचित छन्। तर  बैकिङ परिक्षाको स्थान महिलाले नै ओगट्दै गएकोले निजी बैकले बाध्य भएर महिलाहरु नियुक्त गरेको उनको भनाइ छ। सरकारी वैकमा भने आरक्षणको नीतिले महिला प्रवेशलाई बढाएको प्रवक्ता पण्डित बताउँछन्। 

बैकमा महिलाको अहिलेको सहभागिताका स्थिति हेर्दा अवको दश बर्षभित्र थप संख्यामा देखिने अनुमान सिओ खु्न्जालीको छ। उनी भन्छिन् ,‘एक दशकमा बैकमा महिलाहरुको संख्या हवात्तै बढ्नेछ।’ वैकिङ पेशामा आकषृक तलब र सुरक्षित जागिर भएकोले महिलाहरुको आकर्षण बनेको सिओ खुन्जाली बताउँछिन्। 

प्रकाशित: २४ फाल्गुन २०७४ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App