८ वैशाख २०८१ शनिबार
राजनीति

मर्जपछिका मन्त्रालय सञ्चालनमा अलमल

काठमाडौं –मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा र नयाँ सांगठनिक संरचना नबन्दा मन्त्रालय सञ्चालनमा अलमल देखिएको छ । सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाए पनि नयाँ संरचनाअनुसार मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो।

मर्ज भएर बनेका मन्त्रालयको सांगठनिक संरचना नबन्दा समेत अन्योल थपिएको छ । मर्जका कारण एउटै मन्त्रालयमा तीनजनासम्म सचिव छन् तर मन्त्रालयको सांगठनिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा केकति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको सचिव बताउँछन्।

मर्जका कारण एउटै मन्त्रालयमा तीनजनासम्म सचिव छन् तर मन्त्रालयको सांगठनिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा केकति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको सचिव बताउँछन्।

नयाँ सरकार गठन भएसँगै संविधानको प्रावधानअनुसार सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाएको थियो । एमाले र माओवादीले मन्त्री कसलाई बनाउने भन्ने टुंग्याउन नसकेको र संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिता विषयमा छलफल चलिरहेका कारण मन्त्री नियुक्तिमा ढिलाइ भएको हो। हाल प्रधानमन्त्रीले ६ मन्त्रीमात्रै नियुक्त गरेका छन् । यी मन्त्री संरचना पुरानै रहेका मन्त्रालयमा नियुक्त भएका हुन्।

पुरानै संरचनाअनुसार जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा लालबाबु पण्डित नियुक्त भएका छन् तर मन्त्रालयको संख्या घटाउने क्रममा जनसंख्या स्वास्थ्यसँग र वातावरण वन मन्त्रालय सँग जोडिन पुगेका छन् । मन्त्रालयको संख्या घटेको अवस्थामा सोही अनुसार मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नयाँ सांगठनिक संरचना नबन्दा काम गर्न अलमल देखिएको मन्त्री लालबाबु पण्डित नै बताउँछन् । ‘मन्त्रालयको संख्या हेरफेर हुँदा मैले पाएको मन्त्रालयको जनसंख्याको पाटो स्वास्थ्य मन्त्रालयसँग मिसिएको छ भने वातावरणको पाटो वन मन्त्रालयसँग मिसिएको छ तर मैले अहिले पुरानै जिम्मेवारीअनुसार काम गरिरहेको छु,’ मन्त्री पण्डितले नागरिकसँग भने, ‘अब केही दिनमै प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुन्छ, नयाँ सांगठनिक संरचना बन्छ । सरकारले पूर्णता पाएसँगै यो अलमल घट्छ।’
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा थममाया थापालाई नियुक्त गरिए पनि महिला र बालबालिका श्रमसँग जोडिएकोले कसरी काम गर्ने भन्ने समस्या छ । हाल श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय बनेको छ तर थापाले पुरानै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय हेर्दै आएकी छन्।

यसैगरी फरक कार्यप्रकृति भएका मन्त्रालय आपसमा गाभिँदा कसरी काम सञ्चालन गर्ने भन्ने पनि अन्योल छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकासलाई हटाएर संघीय मामिला र सामान्य प्रशासन मन्त्रालय मर्ज भए पनि अझै एकीकृत हिसाबले काम हुन सकेको छैन । हाल मन्त्रालयले आआफ्नै ढंगले काम गरिरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले मन्त्रालय पुनर्संरचना भए पनि पुरानै संरचनाअनुसार काम भइरहेको बताए । ‘मन्त्रालयको संख्या घट्दा सामान्य प्रशासनसँग मर्ज भए पनि नयाँ संरचनाअनुसार संगठन संरचना तयार भइनसकेकाले हामीले पुरानै संरचनाअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले नयाँ मन्त्रालयहरुका लागि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणको काम भइरहकाले त्यसपछि मात्रै एकीकृत मन्त्रालयमा कुनकुन विभाग, महाशाखा र शाखा रहने, कति कर्मचारी रहने भन्ने टुंगो लाग्छ र त्यहीअनुसार काम हुन्छ ।’ उनका अनुसार नयाँ मन्त्रालयको होर्डिङबोर्ड, लेटरप्याड, छापलगायत बनाउने काम भने भइरहेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद गरी तीन मन्त्रालय जोडेर एउटै मन्त्रालय बनाइए पनि अझै एकीकृत रुपमा सञ्चालन हुन सकेको छैन। जलस्रोत, ऊर्जा र सिँचाइ गरी तीन छुट्टाछुट्टै मन्त्रालयलाई ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाइए पनि एकीकृत रुपमा काम सुरु हुन सकेको छैन। त्यसैगरी खानेपानी तथा सरसफाइ र सहरी विकास मन्त्रालय मर्ज भए पनि एकीकृत ढंगले काम सुरु हुन सकेको छैन। कृषि, भूमिसुधार र सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मर्ज गरेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको छ तर यिनले पनि आआफ्नै ढंगले काम सञ्चालन गरिरहेका छन्।

मन्त्रालय मर्ज भएपछि कुनकुन निकाय रहने भन्ने टुंगो नलाग्दा र मन्त्री पनि नहुँदा कर्मचारी हाजिर गरेर फर्कने गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणको काम भैरहेकाले त्यो सकिएपछि मात्रै मन्त्रालयमा कुन कुन विभाग, महाशाखा र शाखा रहने, कति कर्मचारी आवश्यक पर्ने भन्ने टुंगो लाग्ने र सोही अनुसार काम हुने बताउँछन्। ‘नयाँ मन्त्रालय बनेलगत्तै एकैपटक सवै काम सक्ने अवस्था हुँदैन,’ उनले भने अहिले नयाँ मन्त्रालयहरुमा बोर्ड टाँस्ने लगायतका कामहरु भैरहेका छन्, अव मन्त्रालयहरुको नयाँ संगठन संरचना पास भएपछि सोही अनुसार काम हुन्छ, हामी रातदिन तयारीमा जुटिरहेका छौं ।’

प्रकाशित: २४ फाल्गुन २०७४ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App