८ वैशाख २०८१ शनिबार
अर्थ

सिद्धार्थनगर उद्योग वाणिज्य संघमा दुई प्यानल

भैरहवा – औद्योगिक नगरी सिद्धार्थनगरमा उद्योगी, व्यवसायीमाझ चुनावी सरगर्मी निकै बढेको छ। भैरहवाका उद्योगी, व्यवसायी अहिले व्यापार, व्यवसायमा भन्दा बढी चुनाव प्रचारमा व्यस्त छन्।

सिद्धार्थनगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका हुन् । नेतृत्वमा आउन र निकटलाई जिताउन उनीहरु दिनरात नभनी प्रचारमा जुटेका छन।
संघको फागुन २५ गते शुक्रबार हुने ५९औं साधारण सभा तथा अधिवेशनबाट नेतृत्व लिन व्यवसायीहरु दुई खेमामा विभाजन भई प्रचारमा लागेका हुन् ।हालका वरिष्ठ उपाध्यक्ष शान्तकुमार शर्मा र उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपाने प्यानलसहित मैदानमा छन्।

शर्मा सत्य साई क्लियरिङ एजेन्सीका सञ्चालक हुन् । भैरहवा नै जन्मथलो भएका शर्माले जलस्रोत मन्त्रालय अन्तर्गतको सिँचाइ विभागमा अधिकृतको जागिर छोडेर २०५४ सालदेखि बाबुको पदचाप पछ्याउँदै भन्सार एजेन्टको व्यवसाय सुरु गरेका हुन् । हाल उनी भन्सार एजेन्ट महासंघका अध्यक्ष छन् । २०५४ सालमा संघको साधारण सदस्यता लिएका उनी तीन कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल सल्लाहकार र हाल वरिष्ठ उपाध्यक्षको भूमिकामा छन्।

संघले यसअघि गर्दै आएका कामलाई निरन्तरता दिँदै सिद्धार्थनगर र आसपासका क्षेत्रलाई आर्थिक तथा औद्योगिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने र समग्र उद्योगी र व्यवसायीका पक्षमा काम गर्ने शर्माले बताए । निर्माणाधीन गौतमबुद्ध विमानस्थल, सेज, औद्योगिक करिडोरहरु, आइसिपी, ६ लेन सडक जस्ता पूर्वाधार निर्माणलाई गति दिन संघका तर्फबाट ठोस पहल गर्ने।

व्यवसायीले भोगेका समस्याहरु, झन्झटिलो कर प्रणाली, बैंकको चर्को ब्याजदर, तरलता, ओभरलोडको बहानामा व्यवसायी माथि भइरहेको दमन, पूर्वाधार अभावमा भोग्नुपरेका समस्या, नाकाको व्यवस्थापन सम्बन्धमा सशक्त आवाज उठाउँदै व्यावसायिक वातावरण निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।

भैरहवामा स्थायी मेला मण्डप, संघको निर्माणाधीन मल्टिप्लेक्स भवन र प्रशासनिक कामलाई चुस्त बनाउँदै व्यावसायिक संरक्षण र सम्बद्र्धनमा लाग्ने उनले बताए । शर्मा प्यानलको वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग उपाध्यक्षमा शान्ता जिसी, वाणिज्य उपाध्यक्षमा विनोद खरेल, महासचिवमा इम्तियाज अहमद, सचिव पशुपति कान्दु र कोषाध्यक्षमा रविकुमार श्रेष्ठ छन् ।

त्यस्तै, अध्यक्षका अर्का प्रत्यासी कुलप्रसाद न्यौपाने मधुचन्द्र जनरल स्टोर र मुक्तिनाथ खाद्य उद्योगका सञ्चालक हुन् । उनी हालका उद्योग उपाध्यक्ष हुन् । विगत २५ वर्षदेखि भैरहवामा व्यवसाय गर्दै आएका न्यौपानेले सिद्धार्थनगर उद्योग वाणिज्य संघमा २०५४ सालदेखि निरन्तर कार्यसमितिमा रहेर काम गरिरहेका छन् । दुई कार्यकाल सचिव, एक कार्यकाल महासचिव र हाल उद्योग उपाध्यक्षको भूमिका सफलतापूर्वक निर्वाह गरिरहेका छन्।

व्यावसायिक हितका पक्षमा इमावदार र लगनशील भएर लाग्ने व्यक्तिका रुपमा चिनिने न्यौपानेले यहाँको पर्यटकीय, आर्थिक, व्यापारिक र औद्योगिक सम्भावना उजागर गर्ने एजेन्डा अघि सारेका छन्। सिद्धार्थनगरमा मेला महोत्सवका लागि स्थायी संरचना, यहाँ सञ्चालित ठूला साना सबै आयोजनालाई छिटो सम्पन्न गर्न सरकारलाइ घच्घच्याउने, उद्योग, पर्यटन, व्यापार र कृषि  क्षेत्रका समस्या समाधानका लागि अवाज उठाउँदै तिनका सम्भावना उजागर गर्न भूमिका खेल्ने उनले बताए ।

यसअघिका कामलाई निरन्तरता र प्रशासनिक सुदृढीकरण गर्दै संघको गरिमा उँचो बनाउन ठूला साना सबै उद्योगी, व्यवसायीले अपनत्व महसुस गर्ने वातावरण सिर्जना गर्ने दाबी पनि उनले गरेका छन्।

ऋाफ्नो प्यानलमा अनुभवी र नयाँ सोचका युवा भएकाले संघका लागि सक्षम नेतृत्व साबित हुने दाबी न्यौपानेले गरे । न्यौपानेको प्यानलमा वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने, उद्योग उपाध्यक्ष अरुण गोयन्का, वाणिज्य उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिवमा नेत्र आचार्य, सचिवमा विजय पाण्डे र कोषाध्यक्षमा दिलीपकुमार कान्दु छन्।  

सात पदाधिकारी सहितको २९ सदस्यीय कार्यसमितिमा खुलाबाट वाणिज्यमा एक महिला सहित ११ जना र उद्योगतर्फ एक महिला सहित ६ जना चुनिने छन् । यसमा दुवैतर्फबाट महिला निर्विरोध भएका छन् । यमकला न्यौपाने र पल्लवी न्यौपाने निर्विरोध भएका हुन्।

एसोसिएटतर्फ पनि दुईजना दिलिप पौडेल र रोहित अग्रवाल तथा वस्तुगततर्फ कृष्ण घिमिरे निर्विरोध भइसकेका छन् ।  दुईजना पछि मनोनित गर्ने व्यवस्था छ । संघमा हाल सम्म २८ सयले सदस्यता लिएको संघका अध्यक्ष रामकुमार शर्माले बताए । तीमध्ये २१ सय ६७ जनाले जनाले मतदानमा भाग लिनेछन्।
 

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App