८ वैशाख २०८१ शनिबार
समाज

सार्वजनिक सेवामा महिला सहभागिता बढ्दै

काठमाडौं – एक दशक अघिसम्म नेपालको सार्वजनिक सेवामा महिला सहभागिता आैँलामा गन्ने अवस्थामा रहेकोमा अहिले भने त्यो आँकडा फेरिँदै गएको छ । सार्वजनिक क्षेत्रमा बढ्दै गएको महिला सहभागिता र कतिपय नेतृत्व तहमै महिला पुग्नुले यसलाई पुष्टि गर्छ। 

सार्वजनिक सेवाअन्तर्गत महिला एकाधिकारकै रूपमा स्थापित छ नर्सिङ सेवा । नर्सिङ अध्ययन संस्थानका डिनदेखि क्याम्पस प्रमुखसम्म महिला पुगिसकेको तथ्यांकले देखाउँछ । पाटन स्वास्थ्य विज्ञान नर्सिङ अध्ययन प्रतिष्ठानकी डिन सरला केसी ३८ वर्षअघि सुरु गरेको नर्सिङबाटै आज यो सम्मानित पदमा पुग्न सकेकी हुन्। 

नर्सिङबारे आफ्नो अनुभव साट्दै उनी भन्छिन्, ‘छुट्टी भयो कि अस्पतालमा काम गर्न जान्थ्यौं, पैसासँगुँगै पढाइ पनि ।’ नेपालमा नर्सिङ पेशाले धेरै महिलालाई आर्थिक रूपमा सशक्त बनाएको छ  । आर्थिक पक्ष सशक्तिकरणको पहिलो आधार रहेको उनी बताउँछन्। 

तथ्यांक अनुसार हाल नेपालमा ७५ हजार नर्सले नेपाल नर्सिङ काउन्सिलबाट अनुमति लिइसकेका छन् । तीमध्ये ५० जना पुरुष नर्स छन् । हाल १२ हजार नर्स सरकारी र संस्थानअन्तर्गत सेवामा सक्रिय छन् । १० हजार विदेशका अस्पतालमा, निजी र आइएनजिओमा १० हजार कार्यरत छन् । देशभरका १ सय ११ अस्पतालमा गरी बर्सेनि ५ हजार नर्स उत्पादन हुन्छन् । स्वदेशमा मात्र भनई विदेशमा समेत नर्सले आकर्षक आम्दानीसहित सम्मानजनक काम पाएको डिन केसीको तर्क छ । अहिले नर्सिङ विषयमै अध्यापन गर्न सक्ने तहका थुपै स्नातकोत्तर नर्स पनि १ सय भन्दा बढी संख्यामा उत्पादन भइसकेका छन् । ती सबै नर्सहरू देशभरका नर्सिङ कलेजमा प्राध्यपकका रूपमा खपत हुन सक्ने केसी बताउँछिन्। 

सार्वजनिक सेवामा महिलाको सम्मानजनक उपस्थिति हुँदै गएको क्षेत्रमा पर्छ सैनिक सेवा । नेपाली सेनाको इतिहासमा महिलाको प्रवेश प्राविधिक क्षेत्रमा २०३० देखि र साधरणतर्फ २०६१ देखि मात्र प्रवेश भएको देखिन्छ । औपचारिक प्रवेश पाएको १३ वर्षको अवधिमा ४ हजार ८१ जना महिलाको सेनामा प्रवेश भइसकेको छ । यसले पनि सुरक्षा निकायमा महिलाको सहभागिता बढ्दै गएको संकेत गर्छ। 

तीमध्ये अधिकृत तहमा १ सय ७३ र प्राविधीक तहमा १ सय ८७ जना महिला सक्रिय छन् । नेपाली सेनाभित्र पनि विशिष्ट भूमिकामा महिलाहरू अघि बढ्दै गएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी बताउँछन् । भण्डारीका अनुसार नेपाली सेनामा महिलाहरू गुल्मपतिदेखि महासेनानी, सेनानी र गुल्मपतिको तहसम्मका छन् । सेनामा यी तहमा पुग्नको लागि विशिष्ट तालिममा सहभागी भई उत्तीर्ण हुनुपर्छ । यस्तै प्रक्रिया पार गरेर  गुल्मपति बनेकी हुन् ३२ वर्षीया सृष्टि खड्का । नेपाली सेनामा प्रवेश गरेको १३ वर्षको अवधिमा उनी गुल्मपति बनेकी हुन् । सेनामा जागिर खानु भनेको महिलाको लागि आर्थिक, शारीरिक र मानसिक रूपमा बलियो भएको विश्वास खड्कालाई छ । ‘सेनामा महिला सशक्तिकरणकै लागि महिला गुल्मपति पद स्थापना गरेको देखिन्छ,’ उनले भनिन्। 

नेपाल प्रहरीमा पनि महिला सहभागिता बढ्दै गएको छ । हाल प्रहरीमा ५ हजार ४ सय ३३ जना महिला छन् । तीमध्ये डिआइजी २, एसएसपी १, एसपी ९ र डिएसपी १२, इनिसपेक्टर ८९, सहायक इनिसपेक्टर २६५, असई ४ सय ९, हवल्दार ५ सय ४७ ,जवान ३ हजार ८ सय ४७ र प्रहरी कार्यालय सहायकमा २ सय ५२ जना छन् । आरक्षणको व्यवस्थासँगै नेपाल प्रहरीमा महिला सहभागिता बढ्दै गएको  प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । सम्मानजनक पेशा भएकाले पनि महिलाका लागि सुरक्षा क्षेत्रप्रति महिलाको आकर्षणको बढ्दै गएको एसपी राणा बताउँछिन् । महिलालाई लक्षित गरेर स्थानीय तहमै प्रहरी परीक्षाका लागि शैक्षिक तथा शारीरीक तालिमको व्यवस्था हुने हो भने महिला प्रवेश अझै बढ्ने राणाको भनाइ छ। 

महिलाका लागि अर्को सम्मानजनक क्षेत्र हो बैंकिङ । तीन दशक अघिसम्म महिलाहरू बैंकमा औंलामा गन्न सकिने मात्र थिए । ण्त्यही बेलामा बैंकको जागिरे बनेकी हुन् हाल मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत्त अनुपमा खुन्जेली । ग्रिनलेज, स्टयाण्र्ड, नविल हुँदै उनी मेगाको उच्च तहमा आइपुगेकी हुन् । काउन्टरदेखि प्रमुखसम्मका पदमा महिला सहभागिता बढ्दै गएको उनको अनुभव छ । मेगा मात्र ४० प्रतिशत महिला कार्यरत छन् ।  उनको अनुभवमा एक दशकदेखि यता बैंकिङ सेवामा महिला सहभागिता ह्वात्तै बढेको छ। 

नेपालमा निजी बैँक खुल्न थालेपछि महिला सहभागिता बढेको राष्ट्र वैकका सहायक प्रवक्ता राजेन्द्र पण्डित बताउँछन् । युवा  शक्ति पढेपछि पनि ठूलो अवसरको खोजीमा विदेशिने र पदपूर्ति परिक्षामा महिला नै बढी सहभागी हुँदै गएको पण्डितको भनाइ छ।

बैंकमा अहिलेको सहभागिताको स्थिति हेर्दा अबको दस वर्षभित्र महिलाको संख्या अझै सशक्त देखिने अनुमान खुन्जेलीको छ । उनी भन्छिन्, ‘एक दसकमा बैंकमा महिलाको संख्या ह्वात्तै बढ्नेछ ।’ 

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App