coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

रसुवा – रसुवामा निर्माणाधिन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ।

आयोजनाको भवन निर्माणका लागि अधिग्रहण गरेको ४१ रोपनी जग्गाको मुआब्जा वितरण गरेको हो। आयोजनाले ७ जना जग्गाधनीलाई ५ करोड रकम वितरण गरेको आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले बताए। 

‘यसअघि निर्माण भएको भवन भूकम्पले पूर्ण क्षति ग-यो,’ जनसम्पर्क अधिकृत सुमन भट्टले भने, ‘अहिले सुरक्षित स्थानमा जग्गा खरिद गरेका छौँ।’ भूकम्पका कारण झरेको पहिरोले संरचना पूर्ण क्षति पु-याएको थियो। पहिरोको कारण जोखिम बढेपछि सुरक्षित स्थानमा जग्गा खरिद गरिएको आयोजनाले जनाएको छ। 

नेपाल वाटर एण्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनाको विद्युत खरिद सम्झौता पिपिए भइसकेको छ । २१६ मेगावट क्षमताको यो आयोजनाको अनुमानित लागत ६२ अर्ब रुपैयाँ छ। 

आयोजनाले अहिले वित्तीय व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। बित्तिय व्यवस्थापन गर्ने कार्य सेप्टेम्बरसम्ममा सकिने र निर्माण प्रक्रिया सुरु हुने आयोजनाका जनसम्पर्क अधिकृत भट्टले जानकारी दिए। अबको दुई हप्तापछि आवश्यक पूर्वाधारको काम सुरु हुने उनले बताए। 

कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहने आयोजनाले जनाएको छ। यो आयोजना करिब ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

आयोजनाले अहिले आयोजनामा आवतजावत गर्ने सडकको सुधार गर्ने, आवश्यक पूर्वाधारहरु निर्माण गर्ने लगायतको कार्यलाई तिब्रता दिएको छ। जिल्लाको उत्तरगया गाउँपालिका–१ मैलुङमा उक्त आयोजना निर्माण हुनेछ। आयोजनाले प्रभावित क्षेत्रमा पर्ने धुन्चे, राम्चे र हाकुका विद्यालयलाई कम्प्युटर प्रदान गर्न लागेको छ। 

प्रकाशित: २३ फाल्गुन २०७४ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App