८ वैशाख २०८१ शनिबार
अर्थ

भीमदत्तमा ३ अर्बको सहरी विकास आयोजना

भीमदत्त नगरपालिका कार्यालय परिसर । तस्बिर : नागरिक

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैँयाको क्षेत्रीय सहरी विकास आयोजना औपचारिक रुपमा सञ्चालानमा आएको छ। 

आयोजनाको क्षेत्रीय कार्यान्वयन ईकाइले एक कार्यक्रमबीच सरोकारवाला निकायलाई आयोजना सम्बन्धी जानकारी दिएर औपचारिक रुपमा यो सञ्चालनमा ल्याएको जनाएको छ।

सहरी पूर्वाधार विकास विकासका लागि प्रदेश ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैकको सहयोगमा आयोजना सञ्चालन गरिएको हो।

भीमदत्त नगरपालिकामा तीन वर्षदेखि अनौपचारिक रुपमा आयोजना सञ्चालनमा थियो। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न सहर बनाउन आयोजना सञ्चालन गरिएको बताए। 
‘अहिले गाउँदेखि सहरीकरणमा गएका छौ, त्यो सहर कस्तो बनाउने भन्ने छ’ नगर प्रमुख विष्टले भने,‘भीमदत्तलाई व्यवस्थित सहर, प्रदेश ७ मा उत्कृष्ठ नमूना सहर बनाउन अघि बढेका छौ, यसका लागि सबैको सहयोग आवश्यक छ।’

भीमदत्तलाई नमूना सहर बनाउन २० वर्षे योजना बनाएर जाने उल्लेख गर्दै नगर प्रमुख विष्टले सबैले क्षेत्रबाट आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिए।

नगर प्रमुख बिष्टले भीमदत्तलाई पूर्वाधारमा समृद्ध बनाउन एशियाली विकास बैंैकको पूर्ण अनुदान पाउनु अवसर भएको बताए। ‘यो अवसर हो, यसलाई पूर्ण रुपमा सफल बनाउन भीमदत्त पूर्ण रुपमा प्रतिवद्धता व्यक्त गर्छ’ उनले भने।

आयोजनाबाट उपलब्ध अवसर र यसको सञ्चालनमा आउने सबै चुनौतीको सबैले मिलेर सामना गर्ने नगर प्रमुख बिष्टले जनाए।

पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। फोहरमैला व्यवस्थापन केन्द्र, ढल सहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन्। 

आयोजना अन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्रे सडकको सर्भे गरिएको छ। फोहरमैला व्यवस्थापनकालागि जग्गाको खोजी गरिएको छ। 

भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले एक अर्ब ७० करोड लगानीमा ढल सहितको दुई लेनको नमूना सडक निर्माण ह्ुने बताए। ‘फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माण हुन्छ’ उनले भने। फोहरमैला व्यवस्थापन केन्द्र र फोहर पानी प्रशोधनका लागि पनि छिट्टै कार्य अघि बढ्ने इन्जिनियर ऐरले बताए।

प्रदेश ७ का भीमदत्त सहित चार नगरपालिकामा पाँच वर्षमा ११ अर्ब बजेट खर्च हुनेछ। यो आयोजना सञ्चालनका लागि २०७१ कार्तिकमा पहिलो पटक छलफल गरिएको थियो। गतवर्ष सहरी विकास डिभिजन कार्यालयसित आयोजना सञ्चालनका लागि सम्झौता गरिएको थियो।

आयोजना कार्यान्वयन इकाईका निर्देशक चक्रमणि पन्तले अहिलेसम्म आयोजना सञ्चालनकालागि पूर्व तयारी गरिएको बताए। ‘अहिलेसम्म पूर्व तयारीको क्रममा थियौ, अहिले औपचारिक रुपमा सुरुवात गर्न गएका हौ’ उनले भने।

पहिलो चरण सफल भए दोस्रो आयोजनाको दोस्रो चरण सञ्चालन हुन सक्ने निर्देशक पन्तले बताए।

प्रकाशित: २३ फाल्गुन २०७४ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App