coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

म्याग्दीमा विद्युतीय भुक्तानी सेवाको सुरुवात

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा विद्युतीय भुक्तानी सेवाको सुरु भएको छ। जिल्लामा सरकारी कार्यालयहरुबाट हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले मंगलबार विद्युतीय भुक्तानी कार्यान्वयनसम्बन्धी सरोकारवालाहरुसँग अन्तक्र्रिया गरेको थियो। 

विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्दै म्याग्दीका जिल्ला न्यायाधीश राजकुमार कोईरालाले आर्थिक अनुशासन कायम गर्न, जनताले सेवासुविधा छिटो पाउन, पारदर्शी बनाउन र प्रविधिको जानकारीका साथै प्रविधिको सिकाइका लागि सहयोग पुग्ने बताए। ‘अबदेखि सरकारी कार्यालयहरुले प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्छ। आर्थिक प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्छ’  कोईरालाले भने। उनले सेवालाई प्रभावकारी बनाउन, वित्तीय सेवालाई पारदर्शी बनाई सुशासन कायम गरी भ्रष्टाचार रोक्न विद्युतीय प्रणाली कोशेढुंगा सावित हुने बताए। 

इ–पेमेन्टमार्फत सफ्टवेयरको प्रयोग गरेर कार्यालयको खाताबाट सिधै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने भएकाले चेक बनाउन कोष तथा लेखा नियन्त्रकको कार्यालयमै पुग्न, चेक साट्न बैङ्कको शाखामा पुग्न र लाइन बस्नुपर्ने बाध्यताको अन्त्य कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द्र बेलबासले बताए। उनले सरकारी कार्यालय तथा संघसंस्थाबाट निर्माण व्यवसायी, आपूर्तिकर्ता, व्यक्ति, फर्म, संस्था एवं उपभोक्ता समितिलाई उपलब्ध गराइने भुक्तानीलाई छिटोछरितो, सरल र सहज बनाउन विद्युतीय भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताए। इ–पेमेन्ट सुविधाका लागि इन्टर पेमेन्ट सिस्टममा सदस्य भएका बैङ्कमा खाता भएको हुनुपर्ने व्यवस्था रहेको छ। 

प्रत्येक कार्यालयका प्रमुख र लेखापाल सूचना प्रविधिको नजिकमा रहेर काम गर्नुपर्ने महालेखा नियन्त्रकको कार्यालयका उपमहानिर्देशक नेत्रप्रसाद भट्टले बताए। ‘वित्तीय शुसासनलाई प्रभावकारी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको छ। यसलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेबारी तपाईहरुमा छ’ उनले भने। गएको वर्षमा सिंहदरबारका मन्त्रालयहरुमा लागू गरिएको विद्युतीय भुक्तानी प्रणालीको परीक्षण सफल भएपछि आगामी बैशाखदेखि ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने तयारी भैरहेको महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत शेवनाथ सुवेदीले बताए। उनका अनुसार काठमाडौं उपत्यकापछि बागलुङ र म्याग्दीमा अनलाइन पेमेन्ट सेवा सुरु गरिएको हुँदा बुधबारदेखि पर्वत जिल्लामा पनि लागू गरिने जनाइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App