४ वैशाख २०८१ मंगलबार
अर्थ

रोजगारी सिर्जना गर्न उद्योग चाँहिन्छ : अभिमन्यु गोल्छा (अन्तर्वार्ता)

मुलुकको अग्रणी व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनले अटोमोबाइल्स, स्टिल, खाद्यान्न, इलेक्ट्रोनिक्सलगायत विभिन्न ट्रेडिङ तथा सेवामूलक क्षेत्रमा व्यापार गर्दै आएको छ। अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका २४ वर्षीय अभिमन्यु गोल्छा अर्गनाइजेसनका निर्देशक हुन्। अभिमन्युले अर्गनाइजेनमा कान्छो सदस्यका रूपमा व्यावसायिक नेतृत्व गरिरहेका छन्। उनी  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गेल्छाका छोरा हुन्। अहिले उनले थ्रि ह्विलर सेग्मेन्टको नेतृत्व गरिरहेका उनीसँग नागरिक दैनिकका लागि दिलीप पौडलले गरेको कुराकानीः

सानो उमेरमै व्यवसायमा आउँदा कस्तो अनुभूति भइरहेको छ?

दश वर्षसम्म नेपालमै पढेँ। दुई वर्ष भारतमा काम गरेँ र कलेज अध्ययन गर्न अमेरिका गएँ। त्यहाँ अध्ययन गर्दा नेपालमा फिर्ता हुन्छु भन्ने सोचेको थिइनँ। अध्ययनपछि मलाई लाग्न थाल्यो नेपालमा यतिधेरै बिजनेस छोडेर बस्यो भने के हुन्छ होला? धेरै मान्छेले हाम्रो कम्पनीमा जागिर पाइरहेका छन्। यो समयमा म आएन भने भागेर गएजस्तो हुन्छ होला भन्ने ठानेर नेपाल फर्कें। मैले भारतमा दुई वर्ष बजाजको पुनामा र सामसङको नयाँदिल्ली कार्यालयमा पनि काम गरेँ। अनुभव हासिल गरेँ। ६ महिनाअघि यहाँ आएपछि थ्रि ह्विलरको बिजनेस लिड गरेको छु। यसको बिजनेस पूरै मैले हेरिरहेको छु। थ्रि ह्विलर तराईमा बेच्छौं। चुनौती त स्वभाविक हुने भयो। तर, उत्साहित छु। हाम्रो  टिमले २० वर्षदेखि ड्याडीलाई  रिपोर्टिङ गरिहेको छ। टिमलाई पनि केही अप्ठ्यारो होला र  टिमलाई मेरो भिजनमा कसरी अघि बढाउने चुनौती छ।

अमेरिका बस्ने सोच हुँदाहुँदै स्वदेश फर्कें भन्नुभयो । त्यहाँ केले आकर्षित गरेको थियो?

अमेरिकाको लाइफ फरक छ। बसाइ क्वालिटी त हुन्छ नै। त्यहाँ सबै साथी थिए। म त्यहाँ घुलमिल भइसकेको थिएँ। आमाबुवाले पनि बस्न मन छ भने त्यहीँ बस भन्नुहुन्थ्यो। मैले आफ्नै कम्पनीमा र बाहिर पनि इन्टर्नसिप गरेँ। त्यसपछि मलाई लाग्यो कि हामीजस्तो शिक्षित मान्छे अमेरिका बस्न थाल्यो भने कसरी नेपालको विकास होला? हामी आफ्नै  देशमा बसेर आर्थिक विकास गर्ने हाम्रो दायित्व पनि हो। त्यही सोचेर स्वदेशमै केही गर्नुपर्छ भनेर आएको हुँ।

कुन व्यवसाय यहाँले लिड गर्नुभएको छ?

थ्रि ह्विलर पूरै मैले हेरिरहेको छु। बजाज मोटरसाइकलमा विस्तारै हेर्दैछु।

थ्रि ह्विलर व्यवसाय नेपालमा कस्तो छ?

नाकाबन्दी हुनेबेला धेरै इलेक्ट्रिक थ्रि ह्विलर बिक्यो। अहिले बढिरहेको छ। हामीले सोचेका थिएनौं। थ्रि ह्विलरको यति ठूलो मार्केट हुन्छ भनेर। यो वर्ष पाँच हजार गाडी बेचिसक्यौं। पाँच हजार रोजगारी सिर्जना गरेर जीवनस्तरमै परिवर्तन आएको छ। यसमा हामीलाई गौरव अनुभूति भएको छ। व्यापारमा नाफा कमाउने ध्येय मात्र राख्न हुँदैन। बजार हेर्ने हो भने प्रतिस्पर्धा त छ। काठमाडौं, पोखरालगायत सहरमा अनुमति नभए पनि तराईका विराटनगर, नेपालगन्ज, भरतपुरलगायतमा फस्टाएको छ। भैरहवामा थ्रि ह्विलरको एसेम्ब्लिङ गर्ने तयारीमा छौं। जस्तै, हामीले गरिरहेकै थ्रि ह्विलर आए भने गुडाउन अनुमतिको विषय उठ्न सक्छ। रूट परमिटमा कठिन हुनसक्छ। तर, अहिले पनि नेपालमा सार्वजनिक यातायात भरपर्दो छैन। अहिले पनि बस सर्भिस राम्रो छैन। हामीले न्यून मूल्यमा दिएका छौं।

अटोमोबाइल्स क्षेत्रको व्यवसाय वृद्धिका लागि के आवश्यक छ जस्तो लाग्छ?

अब सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्छ। अहिले काठमाडौंमै गाडी धेरै भयो भनेर आलोचना हुन थालेको छ। तर, मलाई लाग्छ, भोलुम कम गर्ने होइन बाटोलाई ठूलो बनाउनुपर्छ । अहिले विदेशमा जसरी बाटो विस्तार भएको छ हाम्रो मुलुकमा हुन सकेको छैन। पूर्वाधार विकास भयो भने अटोमोबाइल्स क्षेत्रलाई सहयोग पुग्छ।

भर्खर व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएको छ। नेपालको व्यावसायिक वातावरण कस्तो देख्नुहुन्छ?

नेपालमा फरक प्रकारको चुनौती आइरहेको हुन्छ किनभने यहाँको प्रक्रिया झन्झटिलो छ। तर, मलाई लाग्छ बिनजेसमा केही ग्याप त हुन्छ। त्यो नभए अवसर पनि हुँदैन। नेपालमा उद्यमशीलताको ठूलो स्कोप छ। नेपालमा व्यापार गर्न नसक्नेले केही गर्न सक्दैन। नेपालमा सिर्जनशिलताको ठूलो स्कोप छ। जनशक्ति पनि पूरा उपयोग गरेका छैनौं। 

निजी क्षेत्रले कस्ता नीतिगत समस्या झेलिरहेको छ?

ठूलो पोलिसीमा ड्याडीले हेरिरहनुभएको छ। तर, मलाई लाग्छ कि सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ। साना उद्योगलाई प्रोत्साहन गर्नुपर्छ।

युवा अहिले पनि रोजगारीका लागि विदेश गइरहेका छन्। यहाँ युवा उद्यमीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न के गर्नुपर्छ?

अब यो दायित्व बिजनेस हाउससँगै सरकारको पनि हो। नयाँ रोजगारी सिर्जना गर्न उद्योग सञ्चालन गर्नुपर्छ। जस्तै, हाम्रो कम्पनीले बिक्री गरिरहेको थ्रि ह्विलर हेरौं। एकजना गल्फ कन्ट्रीमा विदेश जान एक–डेढ लाख रूपैयाँ लाग्छ। त्यति डाउन पेमेन्टमै थ्रि ह्विलर दिएका छौं। त्यसले रोजगारी दिलाएको छ। आफ्नै परिवारसँग बसेर विदेशमा कमाउने पैसा कमाउन सकिन्छ। त्यहाँ कतार लगायतका खाडी मुलुकमा घाममा काम गर्न कति कठिन हुन्छ सबैले सुनिरहेका छौं। स्वदेशमै काम गर्न स्वरोजगार क्याम्पेनिङ चलाएका छौं। विदेश जानेलाई लक्षित गरेर यो सञ्चालन गरेका छौं। अहिले पनि नेपालमा म्यानुफ्याक्चरिङ धेरै देखिँदैन। अटोमोबाइल्स क्षेत्रमा पहिलो पटक मोटरसाइकलमा एसेम्बल्स गर्न सुरू गरेका छौं। यसले पनि रोजगारी सिर्जना गरेको छ। अझै रोजगारी सिर्जना गर्नुपर्छ।

नेपालमा लगानी गर्न सक्ने पुँजी भएका धेरै व्यापारिक घराना ट्रेडिङ बिजनेसमा लगानी गरिरहेका छन् किन?

अमेरिकाबाट फर्केपछि ड्याडीसँग मेरो पहिलो प्रश्न पनि यही थियो। हामी सबै किन ट्रेडिङमा मात्र। ठिक छ यो प्रोफिटेबल छ। तर, आफ्नै प्रोडक्टजस्तो ओनरसीप हुँदैन। हामी बजाज मोटरसाइकल, सामसुङ मोबाइल बेचिरहेका छौं। ती हाम्रो कम्पनी त होइन नि। मैले इम्पोर्ट ड्युटीको बारेमा पढें। अहिले पनि पार्टपूर्जा ल्यायो भने त्यति धेरै फरक देखिँदैन। सरकारले सहयोग गर्नुपर्छ। कुनै पनि वस्तुको उत्पादन गर्नको लागि पार्टस्को मूल्य महंगो भन्सार दर हुनु भएन। त्यस्तो भयो भने किन एसेम्बल गर्छ।

यहाँ युवा उद्यमी, पुस्तौली व्यवसायबाहेक नयाँ कुनै क्षेत्रको व्यावसायिक योजना बनाउनुभएको छ?

हो, मेरो नयाँ योजना छ। अहिले ड्याडीले सुरू गर्नुभएको बिजनेस नै हेरिरहेको छु। आफ्नो केही सुरू गरेको छैन। तर, केही समयमा तपाइँले देख्नुहुनेछ। हाम्रो ट्रेडमा धेरै छ। डिष्ट्रिब्युसन र सर्भिस्मा पनि छ। तर, एसेम्बलिङमा त्यति धेरै छैन। रिटेलमा आएको छैन। एउटा सामसुङको मात्र छ। मेरो योजना छ कि अब रिटेलमा पनि केही गर्नुपर्छ। आफ्नै कम्पनी पनि सुरू गर्ने योजनामा छु। आकर्षक बजारको पनि स्कोप देखिरहेको छु। रिटेल र सुपरमार्केट चेनको पनि राम्रो अवसर रहेको छ। अहिले मार्केट क्याचअप भएको छैन। म व्यवसायमा आएको ६ महिनामात्र भयो। रिसर्च गर्दै सिकिरहेको छु, कसरी नेपालमा काम गने । अर्को ६ महिनामा केही नयाँ काम गर्छु।

यो ६ महिनाको अनुभवले के भन्छ ? व्यवसायमा कति चुनौती झेल्नुपर्दो रहेछ ?

मेरो ठूलो चुनौती त आफैंसँग रहेछ। जस्तो मेरो कम्पनीको टिम लामो समयदेखि ड्याडीलाई रिपोर्टिङ गरिरहेको थियो। अहिले आफ्नोभन्दा आधा उमेरकोलाई रिपोर्टिङ गर्दा उहाँहरुलाई पनि अप्ठेरो भएको होला। तर, म जहिले पनि टिमबाट सिक्छु भन्ने मान्यतामा छु। आफ्नो धारणा भए पनि अनि उहाँहरू(टिमकै) भिजनलाई लिन्छु। अहिले पनि टिमबाट सिकिरहेको छु। मैले धेरै एक्स्पोजर पनि पाएको छु। मार्केटिङ र ब्रान्डिङमा धेरै पढेको छु। त्यसको भ्यालु एड गर्न सक्छु। हामीसँग २५ वर्षदेखि गोल्छा अर्गनाइजेसनमा काम गरेको टिमको अनुभवलाई पनि प्रयोगमा ल्याइरहेको छु। यो टिमलाई सही नेतृत्व दिनुनै मेरो मूख्य चुनौती हो।

नेपालको व्यावसायिक वातावरण कस्तो देख्नुभएको छ ?

यहाँको वातावारण निकै सकरात्मक छ। अब स्थीर सरकार बनेको छ। पाँच वर्षे सरकारले निजी क्षेत्रमा पनि ग्रोथ ल्याउँछ। निर्माण कम्पनीलाई पनि राम्रो अवसर छ। सिमेन्ट कम्पनीहरूले धेरै राम्रो गरिरहेका छन्। अटोमोबाइल्स क्षेत्रमा पनि अवसर बढिरहेको छ। निजी क्षेत्रको लागि पनि अबको यात्रा निकै राम्रो देखिन्छ।

व्यापारिक घरानाहरू उपभोक्ता/जनतासँग साझेदारिता गर्न त्यति उत्सुक छैनन्, किन ?

साझेदारितामा जानुपर्छ। जस्तो हामीले केही कम्पनीलाई पब्लिक कम्पनी बनाउने तयारी गरेका छौं। ट्रेडिङमा जान अलि कठिन हुन्छ। सेवामूलक कम्पनीलाई लैजान सकिन्छ। धेरै सेवाप्रदायक कम्पनी पब्लिक भैसकेका पनि छन्। पब्लिक शेयरिङको मलाई धेरै अनुभब छैन।

एफडिआई (प्रत्यक्ष वैदेशिक लगानी) ल्याएर साझेदारिता गर्ने केही योजना छ की ?

अहिले मैले त्यसमा केही सोचेको छैन। भविस्यमा एफडिआई आवश्यक छ।

व्यवसायमा आउन चाहने युवालाई के सुझाब छ?

धेरैले सोचेको छैन। तर, यहाँ नेपालमा अवसर धेरै छ। अहिले सात प्रदेश भएपछि धेरै विकास हुन्छ। मानौं १० वर्षअघि भैरहवामा केही थिएन। अहिले धेरै परिवर्तन भैसक्यो। हरेक ठाउँमा त्यसैगरी अवसर बढ्छ। शिक्षित व्यक्तिहरू देशमै बसेर केही गर्नुपर्छ। मुलुकको विकासको लागि केही योगदान गर्नुपर्छ।

नेपालमा लगानीको लागि कुन क्षेत्रमा अझै अवसर छ ?

यहाँ लगानीको लागि अवसरै अवसर छ। नेपालमा जस्तो पर्यटनको अवसर अरू कुनै मुलुकमा छैन। म आँफै युरोप, अमेरिका घुमें। हामीले फाइदा लिन सकेका छैनौं। अर्को रिटेल चेनहरू गर्न सकिन्छ। हाम्रोमा एउटा भाटभटेनीले मात्र छ। अरूको प्रतिस्पर्धा देखिँदैन। अब निर्यातमा हामी फोकस गर्नु पर्यो। त्यसको लागि कच्चा पदार्थ तयार गर्न सकिन्छ। अहिले रेमिटेन्सबाटमात्र डलर आएको छ। निर्यात बढाएर डलर आम्दानी गर्न सक्छौं।

तपाइँले पढेर धेरै सिक्नु भयो की परिवारबाट ?

म बच्चा हुने बेला देखिनै डिनर टेवलमा विजनेसकै विषयमा छलफल हुन्थ्यो। त्यो बेला म सुन्थें। कलेजको पढाई भन्दा काम र परिवारको व्यवसायिक वातावरणले सिकिरहेको छु।

गोल्छा अर्गनाइजेसनको कान्छो ड्राइभर । यो संस्थालाई कहाँ पु-याउने ड्रिम छ ?

(मुसुक्क हाँस्दै ) अलि ग्राहो प्रश्न। तर, मलाई हजुरबुवाको एउटा भनाई जहिले पनि थियो की। विजनेशमा नाफा मात्र नहेर। व्यवसायमा नाफा त आइहाल्छ। सामाजिक बेनिफिट र सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्छ। उहाँको त्यही भिजनलाई आत्मसाथ गरेर समाज र मुलुकको सम्बृद्धिको लागि योगदान गर्नुपर्छ भन्ने विषयमा फोकस भएर काम गरिरहेको छु। हाम्रो विजनेशलाई नयाँ उचाइमा पु-याउने योजना छ। 

प्रकाशित: २२ फाल्गुन २०७४ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App