coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कांग्रेसलाई सरकारमा ल्याउने गृहकार्य सुरु’

काठमाडौं – जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक÷दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिइने बताए।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भैरहेको जानकारी दिदै मन्त्री पण्डितले सकेसम्म दुवै दललाई सरकारमा सहभागी गराउने बताए। मन्त्री पण्डितले फोरम र राजपासँग धेरै कुरामा सहमति भैसकेको र स–साना कुरा मिल्नमात्रै बाँकी रहेको दाबी गरे।

मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनको भनाई छ। ‘१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ। विभिन्न विभाग र निकाय व्यवस्थापन हुँदैछ’, उनले भने।

कांग्रेसलाई सरकारमा ल्याउन गृहकारी जारी

मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे।

‘कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ। कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ’, उनले भने। आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरी गृहकार्य गरिरहेको उनले खुलासा गरे।

अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोहीपनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो। 

‘प्रमुख सहरको प्रदुषण हटाएरै छाड्छु’

मन्त्री पण्डितले देशभरीका प्रमुख सहरको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताए।

धेरै वर्ष लागेर बिग्रिएको काठमाडौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै उनले प्रमुख सहरमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए। 

धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिए। 

धुवाँधुलो हुनुको ९० प्रतिशत कारण डिजेलबाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए।

किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले चेतावनी दिए। 

त्यसैगरी प्लाष्टिकका झोलाउत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए। माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App