८ वैशाख २०८१ शनिबार
विचार

सभापति देउवासँगका अपेक्षा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक जीवनका अनेकौं घुम्ती पार गर्दै अहिले राष्ट्रिय राजनीतिका गम्भीर, चुनौतीपूर्ण र दुरगामी प्रभाव भएका समस्यासँग आम्नेसाम्ने हुनुभएको छ। नेपाली कांग्रेसको निर्णायक पहलमा माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा भर्खर गठबन्धन सरकार बनेको छ। सरकारमा कांग्रेस, माओवादी केन्द्र र अरु साना दल सहभागी भए पनि मुख्य जिम्मेवारी र दायित्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहालकै काँधमा छ। त्यसमा पनि अझ शेरबहादुर देउवाको भूमिका निर्णायक र महत्वपूर्ण हुने निश्चितै छ। किनकि देउवा संसद्मा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेता हुन्। नेपाली कांग्रेस यस्तो पार्टी हो, जसको स्थापना नै प्रजातन्त्र, लोकतन्त्रका लागि भयो र उसको लोकतन्त्र प्रतिको विश्वास र आस्था देश–विदेश जहाँतहीँ स्थापित भइसकेको छ। शेरबहादुर स्वयं पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्व हो। हाम्रो देश अहिले युगान्तकारी परिवर्तनको संघारमा उभिएको छ। संविधान जारी भएको छ। कार्यान्वयनको बाटोमा बाधा व्यवधान तेर्सिएका छन्। सम्मानजनक तरिकाले ती बाधा व्यवधान हटाउनु छ। परिणाममुखी वार्ताका लागि राजनीतिक कुशलता र क्षमता चाहियो। स्थानीय निकायको पुनर्संरचनाको काम बाँकी नै छ। यो पनि त्यति सजिलो समस्या हुँदैन किनकि यो त झन् जनतासँग प्रत्यक्ष सरोकार रहने विषय हो। यसमा नेतृत्व पनि बढी संवेदनशील हुनु पर्छ। भूकम्पपीडितको समस्या पनि नेतृत्वका लागि चुनौती नै छ। अबको १६/१७ महिनाभित्रमा उपरोक्त समस्या सुल्झ्याउनु छ। अनि संघीयदेखि स्थानीय तहसम्मका तीन वटै निर्वाचन सम्पन्न गरेर देशलाई विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने जिम्मा कांग्रेस, माओवादी गठबन्धनलाई प्राप्त छ। यसै सन्दर्भमा मुलुकले र नेपाली कांग्रेसले पनि शेरबहादुरबाट ऐतिहासिक योगदानको अपेक्षा र आशा गर्नु स्वभाविकै हो।

कतै अलोकप्रियतामा पुष्पकमल दाहालले अरुलाई नउछिनून्, मन्त्री संख्या नबढाऊन्। यसको सिधा असर नेपाली कांग्रेस र शेरबहादुर देउवालाई पर्नेछ।

सभापति देउवाका लागि आफ्नो अनुभव र क्षमता राष्ट्र र जनताका लागि सदुपयोग गर्ने सुवर्ण अवसर हो यो। किनकि समसामयिक नेपालका नेताहरुमा शेरबहादुर देउवा अनुभवी र खारिएकै नेता मान्नु पर्छ। देशको प्रधानमन्त्री त पटक–पटक हुनु भयो तर काम गर्न सहज र अनुकूल परिस्थिति थिएन। कहिले राजाको दाउपेच कहिले आफ्नै पार्टीको असहयोग। राजइच्छाका लागि उपयोग होइने जेाखिमबाट बच्न जति होसियारी चाहिन्थ्यो। त्योभन्दा कम कठिन आफ्नै नेतृत्वबाट बच्नु पनि थिएन। दुवै मोर्चामा देउवाको व्यक्तित्व परास्त भएन। देउवाले आफ्नो राजनीतिक विश्वास, सिद्धान्त, आदर्श, मूल्य र मान्यताको मूल्यमा राजासँग सम्झौता गरेनन् बरु जेलै गए। त्यस्तै देउवाले आफ्नै पार्टीमा पनि कम संघर्ष गर्नु परेन। पार्टीको प्रधानमन्त्री साधारण सदस्यता समेतबाट निष्कासित हुनुपरेको कटु अनुभव पनि शेरबहादुरसँग छ। राजाको निरंकुश शासन कालमा नेपाल विद्यार्थी संघको सभापति हुँदै, विभिन्न मोर्चाका संघर्ष, पार गर्दै नेपाली कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीको सभापतिको हैसियतमा शेरबहादुर देउवालाई जुन अवसर प्राप्त भएको छ, यस्ता उदाहरण कमै पाइन्छन्। यो अवसर मात्र हैन, चुनौती पनि हो। चुनौतीको सामना गर्न विगतमा भएका कमी कमजोरी नियत र इच्छाभन्दा परिस्थिति र बाध्यताका उपज थिए भन्ने कुरा  सभापति देउवाले सिद्ध गर्न सक्नु पर्छ यो मौकामा।

लामो संघर्ष र प्रयत्नपछि देउवालाई नेपाली कांग्रेसको सभापति हुने अवसर प्राप्त भएको छ। पार्टीमा सानो घेरा र सानो गुटमा रमाउने नेताको रुपमा उहाँको चर्चा हुने गर्छ। यसो भनिरहँदा देउवाका लागि गुट बनाउनुपर्ने बाध्यता थियो कि इच्छा थियो भन्ने पक्षमा सोच्न कोही आवश्यकता ठान्दैन। हिजो पार्टीको साधारण सदस्यता समेतबाट निष्कासित हुँदा आफ्नो राजनीतिक अस्तित्व रक्षाका लागि पनि साथीहरुसँग हारगुहार माग्नु पर्‍यो होला। साथीहरुले आफ्नो राजनीतिक भविष्यको परवाहन गरी सहयोग गरे होलान्। ती साथीको राजनीतिक भविष्यको सुरक्षा गर्नु नैतिक जिम्मेवारीबोध भयो पनि होला। नेपाली कांग्रेसमा देउवा गुट बन्नुमा देउवालाई मात्र जिम्मेवारभन्दा न्यायपूर्ण हुँदैन। हिजोसम्म देउवा गुट बन्नु अतिशयोक्ति मानिँदैन किनकि गुट बनाउनु परिस्थितिजन्य बाध्यता थियो देउवाका लागि। गुट मात्र हैन पार्टी नै विभाजित भयो। नेपाली कांग्रेसको इतिहासमा यो एउटा स्मरणीय र मननीय घटनाको रुपमा घट्यो र सिद्धियो पनि। पार्टी एकीकरण भयो, शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति पनि हुनुभयो तर अब भने गुटगत राजनीतिको अन्त्य गर्ने दायित्य पनि देउवाकै काँधमा आइपरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुरसँग राष्ट्रले गर्ने आशा र अपेक्षा दुरगामी प्रकृतिका र युगान्तकारी छन्। सभापति देउवाको राष्ट्रिय व्यक्तित्व र नेतृत्व अनुरुपको भूमिकाबिना राष्ट्रिय समस्या समाधान हुँदैनन्। पार्टी र साथीको समस्या र स्वार्थभन्दा माथि नउठी उहाँको भूमिका प्रभावकारी र निर्णायक हुन सक्दैन। उहाँको विगत त्यति सफल र आशाप्रद छैन। उहाँको विगतका अप्ठ्यारा र बाध्यतातिर ध्यान दिन आवश्यकता नै ठानिँदैन सायद। हिजो केही कमी कमजोरी भए, गरिएका थिए भने पनि ती नियतवश थिएनन्, बाध्यताका उपज थिए भनी सिद्ध गर्ने मौका पनि देउवाका लागि यही हो। आशा गरौं, यो मौका गुम्ने छैन।

सभापति देउवाबाट नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकदेखि मतदातासम्म अधिकांशको अपेक्षा हो पार्टीलाई लोकतान्त्रिक विधि, मर्म र व्यवहारअनुरुप सञ्चालन गर्न सफलता मिलोस् किनकि नेपाली कांग्रेस  मात्र नेपालमा लोकतन्त्रका प्रति अविचलित आस्था भएको पार्टी हो। सात सालदेखि गणतन्त्र नेपालको संविधान जारी हुँदासम्मका प्रत्येक ऐतिहासिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गर्दै आएको छ। अति दक्षिणपन्थीदेखि उग्रवामपन्थीसम्मका सबै शक्ति र व्यक्तिलाई देशको राजनीतिको लोकतान्त्रिक मूुलधारमा ल्याउन पनि नेपाली कांग्रेस नै सफल भएको छ। यसरी नेपाली कांग्रेसको सिद्धान्त, आदर्श, मूल्य र मान्यता हाम्रो देशका लागि सर्वस्वीकार्य भएका छन् तर नेपाली कांग्रेस जसरी परिवर्तनकारी संघर्ष र आन्दोलनको नेतृत्व गर्न सफल भएको छ, त्यसरी नै उपलब्धिहरुको संरक्षण संवर्द्धन र संस्थागत गर्न भने सधैँ असफल रह्यो। नेपालमा मात्र हैन अफ्रिका, एसिया र मध्यपूर्वका देशहरु प्रायः सबैमा यस्तो समस्या देखिएको छ। विद्वान लेखक हन्टिङ्टन भन्छन्, ‘यी देशका नेता संघर्षकालमा लोकतन्त्रको पक्षमा जति दृढ वकालत गर्छन्, सत्ता र सरकार प्राप्त भएपछि बिर्सन्छन् र उपलब्धि गुम्छ। हाम्रो देश नेपालमा पनि विगतको इतिहासले हन्टिङ्टनको यही भनाइ सत्यसिद्ध गरेको छ। नेता देउवालाई यो भनाइ गलत साबित गर्ने अबसर प्राप्त भएको छ तर आजसम्मका उपलब्धि अर्थात् लोकतन्त्र असफल हुँदा वा खोसिँदा राजसंस्था, राजाहरु कारक बन्थे, लोकतन्त्रवादी नेताहरु जोगिन्थे। अब भने त्यो सुविधा छैन। त्यसैले गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानले स्थापित गरेको लोकतन्त्रको सफलता र असफलताको जस, अपजसको भार नेताहरुले नै वहन गर्नुपर्ने छ। इतिहासले यो महान् जिम्मेवारी मुख्य रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको छ। आमअपेक्षा छ, यो जिम्मेवारी सफलताका साथ पुरा हुनेछ।

मान्छेहरु भन्छन्, देउवाको पुरानै सोचाई, शैली, विचार र व्यवहारबाट उपरोक्त कार्यसम्पादन सहज हुँदैन तर देउवाद्वारा विगतमा भएका सामान्य कमीकमजोरी देउवाको नियत र इच्छाबाट नभै वाद्यताका उपज थिए भन्नेहरु पनि छन्। देउवाका काँधमा संविधान कार्यान्वयनका साथसाथै नेपाली समाजमा लोकतान्त्रिक सांस्कृतिक, मूल्य र मान्यतालाई संस्थागत गर्ने अझ ठूलो जिम्मेवारी पनि छ। उहाँले आफ्ना निर्णय र कदमबाट अरु पार्टीका नेताहरुलाई पनि निर्देश गर्न सक्नु पर्छ। उहाँका व्यवहार र निर्णयहरु अरु दलका लागि पनि उदाहरणीय र अनुकरणीय हुनु पर्दछ। त्यसनिम्ति सरकार बनाउँदा नै उहाँले प्रजातान्त्रिक मूल्य, मान्यता र विधिविधान अनुरुप गर्ने हिम्मत गर्नु पर्छ। नयाँ संविधानको व्यवस्थाअनुुसार मन्त्रीको संख्या २५ कट्नु हुँदैन। कांग्रेसको भागमा १३ छ। यो सीमा कट्यो भने, पहिले उनान्पचास सदस्यीय मन्त्रिपरिषद् बनाउँदा बाध्यता थियो भनेर कोही पत्याउँदैन। १२ जना मन्त्री छान्दा पनि आफ्नो पार्टीमा पनि लोकतान्त्रिक मान्यता र मर्मअनुरुप गर्नु पर्‍यो। कमसेकम पार्टीको केन्द्रीय समितिबाट सीमा पारित गराउने अनि वरिष्ठ नेताहरुले छलफल गरेर नाम चयन गर्न सके प्रजातान्त्रिक संस्कृति र संस्कार निर्माणको दिशामा ऐतिहासिक कदम सिद्ध हुने थियो। १३ जना मन्त्री छान्दा पनि महिला, क्षेत्र, जाति सबैको प्रतिनिधित्व गराउन नसक्ने कुनै कारण देखिँदैन। मात्र गुट र साथीको घेराबन्दीबाट मुक्त हुनु पर्‍यो ताकि अरु पार्टी र नेतालाई पनि देशको आवश्यकता, जनचाहना र संवैधानिक व्यवस्थाको बेवास्ता नगर्न नैतिक दबाब परोस्।

वर्तमान सरकारका दुई प्रमुख नेता शेरबहादुर देउवा र पुष्पकमल दाहालका लागि यो एैतिहासिक अवसर हो। दाहाल ओलीपथमै लागेर उछिन्ने तरखरमा भएजस्तो छ, सहायक र राज्यमन्त्री थपेर। हजारौँ जनाको केन्द्रीय समिति बनाउन अप्ठ्यारो नलाग्ने नेताका लागि पचासौं जनाको मन्त्रिपरिषद् बनाउन असहज नहोला तर नेपाली कांग्रेसका सभापति शेरबहादुरका लागि भने गम्भीर नैतिकताको विषय हुनेछ, हुनुपर्छ। अहिले देश र जनताको चाहना छोटोछरितो र मितव्ययी सरकार, भोलिको समृद्ध नेपालको आधार बनोस् भन्ने छ, कमसेकम नेपाली कांग्रेसका सभापति देउवाबाट यो जनचाहनाको कदर हुनुपर्‍यो। यो आम अपेक्षा पनि हो।

प्रकाशित: ३ भाद्र २०७३ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App