७ वैशाख २०८१ शुक्रबार
खेल

मेसीको जादु यथावत्

बार्सिलोना – प्रशिक्षक डिएगो सिमोनले लियोनेल मेसी आफ्नो टोलीमा भएको भए आइतबार एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गर्ने बताएका छन् । मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले घरेलु क्याम्प नोउ मैदानमा १–० को नतिजा निकाल्दै स्पेनिस ला लिगाको उपाधि सम्भावना बलियो बनाएको छ।

पछिल्लो आठ खेलमा अपराजित रदँहै एट्लेटिकोले बार्सिलोनाको भ्रमण गरेको थियो । तर, सिमोनको टोली क्याम्प नोउमा त्यही प्रेरणादायी शृंखलाको नतिजालाई निरन्तरता दिन असफल भएपछि लिगका ११ खेल बाँकी रहँदा बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता लिएको छ । पुनः एक पटक आफूलाई विशेष साबित गरेका मेसीले पहिलो हाफमा  गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । यससँगै मेसीको खेलजीवनमा गोलसंख्या ६ सय पुगेको छ । बार्सिलोनाका लागि ५ सय ३९ गोल गरेका मेसीले अर्जेन्टिनाका लागि ६१ गोल गरिसकेका छन्।

‘बार्सिलोनाबाट मेसीको नाम मेटाएर एट्लेटिकोमा राखेको भए, १–० को नतिजा हाम्रो पक्षमा आउँथ्यो।’

‘बार्सिलोनाबाट मेसीको नाम मेटाएर एट्लेटिकोमा राखेको भए, १–० को नतिजा हाम्रो पक्षमा आउँथ्यो,’ सिमोनले भने । मेसीको प्रशंसा गर्दै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘मेसीजस्तो खेलाडी विश्वमा अरू कोही छैन । मलाई थाहा छैन, उनी नभएको भए के हुन्थ्यो । म त्यसको कल्पना गर्न चाहन्नँ।’

मेसीले फ्रि–किकबाट गोल गरेको यो लगातार तेस्रो खेल हो । यसअघि जिरोनाविरुद्ध ६–१ को नतिजा निकाल्दा गोल गरेका मेसीले लस पाल्मससँग १–१ को बराबरीमा रोकिँदा पनि फ्रि–किकमा गोल गरेका थिए । भ्रमणकारी टोलीलाई दबाबमा राखेको बार्सिलोनाका लागि कप्तान आन्द्रियास इनियस्टाको चोट महँगो पर्न सक्छ । ३४औं मिनेटमा मैदान छाडेका इनियस्टाको तिघ्रामा चोट लागेको क्लबले जनाएको छ । कप्तान इनियस्टाको चोट ठीक हुन अझै १० दिन लाग्नेछ । यद्यपि च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा चेल्सीविरुद्ध खेल्न उनी उपलब्ध हुनेछन्।

‘मेसीजस्तै इनियस्टाको पनि विकल्प छैन, उनको स्थान पूर्ति गर्न धेरै कठिन हुन्छ,’ बार्सिलोनाका प्रशिक्षक भाल्भार्डेले भने, ‘आशा गरौं उनको चोट गम्भीर हुनेछैन।’

बार्सिलोनाले लिगका पछिल्ला ५ मध्ये ४ खेलमा बराबरी नतिजा निकालेको देखेर स्पेनिस सञ्चारमाध्यमले आइतबारको खेललाई ‘ग्रान्ड फाइनल’ का रूपमा चित्रण गरेका थिए । एट्लेटिकोले जितेको भए बार्सिलोनासँगको दूरी २ अंकमा छोट्याउने थियो । तर सिमोनको पर्ख हेर र ‘काउन्टर अट्याक्क’ को रणनीति विफल बन्दा बार्सिलोना तीन अंक जोड्न सफल भयो । पछिल्लो दुई खेलमा सात गोल गरेका एट्लेटिकोका फरवार्ड एन्टोनियो ग्रिजम्यान गुमनामजस्तै बनेका थिए।

पाउलिन्होलाई बेन्चमा राख्दै फिलिप कौटिन्होलाई खेलाएर आक्रामक रणनीति बनाएका भाल्भार्डेको टोलीले पनि अपेक्षाअनुसार लय समाउन सकेन । तथापि मेसीले एउटा फ्रि–किक खेर गएको थियो भने चार विपक्षी रक्षकलाई पन्छाएर गरेको प्रहार एटलेटिकोका गोलकिपर यान ओब्लाकले सहजै बचाएका थिए । भ्रमणकारी टोलीका रक्षकले २६औं मिनेटमा गरेको एउटै गल्ती महँगो साबित भयो । २५ यार्डबाट मेसीले हानेको फ्रि–किकमा ओब्लाक निरीह बने । खेल सकिन पाँच मिनेट बाँकी रहँदा डिएगो कोस्टाले हेडमार्फत बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड करार दिएपछि एट्लेटिको महत्वपूर्ण अंक खोस्न असफल रह्यो।

आइतबारै चौथो स्थानको भ्यालेन्सियाले नवौं स्थानको रियाल बेटिसलाई २–० को नतिजामा हरायो । भ्यालेन्सियाको जितमा रोड्रिगो र सिमोन जाजाले गोल गरेका थिए । १२औं स्थानको रियाल सोसिडाडले १६औं स्थानको आल्भेसमाथि २–१ को नतिजा निकाल्यो । सोसिडाडका लागि हेक्टर मोरेनो र एसिएर इलारामेन्डीले गोल गरे भने अल्फोन्सो पेड्राजाले गरेको गोल आल्भेसका लागि सान्त्वना बन्यो।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App