coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विवादले अस्ट्रेलियाको जित छायामा

डर्बान – अस्ट्रेलियाले सोमबार पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई १ सय १८ रनले पराजित गरे पनि डेभिड वार्नर र क्विन्टन डी ककबीचको विवादले नतिजालाई छायामा पारेको छ।

८३ रनमा खेलिरहेका डी ककलाई जोस हाज्लेउडले एलबिडब्लुको सिकार बनाउँदै पवेलियनको बाटो देखाएपछि विजयी नतिजा निकाल्न अस्ट्रेलियालाई १८ मिनेट र २२ बल नै पर्याप्त बन्यो । २९३–९ बाट पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको दक्षिण अफ्रिका थप ५ रन जोड्दै २ सय ९८ रनमा सीमित भयो । चौथो दिन ओपनर एडियन मार्कामसँग छैटौं विकेटका लागि १ सय ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका डी ककले पनि थप २ रन मात्र जोडे । ८४ बल खेलेका डी ककले ६ चौका  प्रहार गरे।

अस्ट्रेलियाका मिचेल स्टार्कले ७५ रन खर्चंदै ४ र हाज्लेउडले ६१ रन दिँदै ३ विकेट लिए । यस जितसँगै अस्ट्रेलियाले ४ टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ।

खेललगत्तै भिडियो फुटेजमा डी कक आउट भएसँगै वार्नरले उनलाई पवेलियन फर्कन इसारा गर्दा दुई खेलाडीबीच भनाभन भएको देखिएपछि अस्ट्रेलियाको जित छायामा परेको थियो।

‘क्रिकेट अस्ट्रेलिया(सिए)लाई यस खेलदौरान दुई खेलाडीबीच विवाद भएको खबर प्राप्त भएको छ,’ सिएका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस विषयमा छानबिन गर्दै छिटै सत्यतथ्य सार्वजनिक गर्नेछाैं । अनुसन्धानकै क्रममा भएकाले हामी थप विवरण दिन असमर्थ छौं।’

‘यो खेलभावनाविपरीतको काम हो,’ दक्षिण अफ्रिकाका टिम व्यवस्थापक मोहम्मद मोसाजीले भने, ‘हामीले यो घटनाबारे अम्पायरसँग छलफल गरेका छाैं । हामी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यो घटनामा कस्तो कदम चाल्छ भन्ने पर्खाइमा छाैं ।’
यसअघि ३ सय ५१ रन जोडेकोे अस्ट्रेलियाले पहिलो इनिङमा दक्षिण अफ्रिकालाई १ सय ६२ रनमा अलआउट गर्दै १ सय ८९ रनको अग्रता लिएको थियो।

शृंखलाको दोस्रो खेल शुक्रबारबाट पोर्ट एलिजाबेथस्थित सेन्ट जर्ज पार्कमा हुनेछ । डी कक आउट भएसँगै वार्नरले उनलाई पवेलियन फर्कन इसारा गर्दा दुई खेलाडीबीच भनाभन भएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App