८ वैशाख २०८१ शनिबार
अर्थ

चार उत्पादनको गुणस्तर इजाजत खारेज

काठमाडौं- गत आर्थिक वर्षमा १५ नयाँ उत्पादनले नेपाल गुणस्तर चिह्न (एनएस) पाउँदा ४ वटाको भने खारेज गरिएको छ। समयमा नवीकरण नगर्दा इजाजतपत्र खारेज गरिएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागको गत आर्थिक वर्षको तथ्यांक अनुसार १५ वटाले एनएस पाएका छन्। ४ वटाको इजाजतपत्र खारेज गरिएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओपिसी सिमेन्ट उत्पादन गर्ने जय मंगलम सिमेन्ट उद्योग, जाम, जेल्ली लगायत खानेकुरा उत्पादन गर्ने सुनसरीको जेबिएस इन्डस्ट्रिज, आइरन बार उत्पादन गर्ने नवलपरासीको काठमाडौं स्टिल र चामल उत्पादन गर्ने झापाको सूर्य एग्रोको इजाजतपत्र खारेज गरिएको हो।

कुनै पनि उत्पादनले समयमा नवीकरण नगर्दा, मापदण्ड अनुसारका गुणस्तरीय उत्पादन नगर्दा इजाजतपत्र खारेजसँगै एनएस चिह्न पनि खोसिने पुडासैनीले बताए। इजाजत खोसिएका उद्योगले उत्पादन गर्न चाहेमा पुनः दर्ता प्रक्रियामा जानुपर्ने उनले बताए।

ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको जय मंगलम सिमेन्टले २०५८ असोजमा एनएस चिह्न पाएको थियो। आइरन बार उत्पादन गर्ने काठमाडौं स्टिलले २०७० असारमा एनएस पाएको थियो। यस बाहेक खाद्यान्य उत्पादन गर्दै आएका जेविएस इन्ड्रष्ट्रिजले २०६५ फागुन र सूर्य एग्रोले २०५९ मंसिरमा नेपाल गुणस्तर चिह्न पाएको विभागले जनाएको छ।

त्यसैगरी, गत आर्थिक वर्षमा १४ वटा उद्योगका १५ उत्पादनले एनएस चिह्न पाएका छन्। एनएस चिह्न प्राप्त गर्ने उद्योगमा युनाइटेड सिमेन्ट, गोयन्का सिमेन्ट, कञ्चनजंगा सिमेन्ट उद्योग, ओम सिमेन्ट र एमजेपी सिमेन्टका ओपिसी सिमेन्टले एनएस चिह्न पाएका छन्। त्यसैगरी एनएस चिह्न पाउने अन्य उत्पादनमा एसियन बिस्कुट एन्ड कम्फेक्सनरीको हाई इनर्जी बिस्कुट, सुगम म्यानुफेक्चरको एलपिजी रेगुलेटर, मंगलम इन्ड्रस्ट्रिजको पिभिसी पाइप, हिमालयन बु्रअरीका बियर, अंकुर ट्यावसम एन्ड भल्बको विब ट्याब रहेका छन्। यसै वर्ष एनएस चिह्न पाउने उद्योगहरूमा हरि इन्जिनियरिङ वर्कस्को एलपिजी रेगुलेटर, नेपाल शालिमारको पिपिसी सिमेन्ट, किसन पाइप प्रोडक्टको वाटर स्टोरेज ट्यांक, शालिमार स्टिलको आइरन बार, ओम सिमेन्टको पिपिसी सिमेन्ट रहेको विभागले जनाएको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागको हालसम्मको तथ्यांक अनुसार ३ सय १३ वटा वस्तुलाई एनएस चिह्न इजाजत वितरण गरिएको छ। तीमध्ये १ सय ९५ उद्योगका ६० प्रकारका उत्पादनले एनएस पाएका छन्। गुणस्तर चिह्न प्राप्त गर्ने उत्पादनमध्ये स्वेच्छाले एनएस लिने ५० प्रतिशत मात्र छन्।

गुणस्तर ऐनले विभिन्न ११ वटा वस्तुलाई एनएस चिह्न अनिवार्य गरेको छ। एनएस पाउने अधिकांश त्यस्तो चिह्न लिन अनिवार्य गरिएका वस्तु छन्। अनिवार्य गरिएका भन्दा अन्य उत्पादनको संख्या अत्यधिक भए पनि उल्लेख्य रुपमा एनएस चिह्न लिएका छैनन्। 'अनिवार्य गरिएकाले ती उद्योगको संख्या धेरै देखिएको हुन सक्छ,' पुडासैनीले भने, 'हाम्रो आन्तरिक जनशक्तिको कमीले गर्दा पनि अन्य उत्पादनलाई समेट्न सकिएको छैन।' 

खुला रुपमा जस्तो पनि वस्तु उत्पादन गर्न पाउने भएकाले व्यवसायीले गुणस्तर चिह्न लिन चाहँदैनन् । वस्तुको गुणस्तरीय उत्पादनमा व्यवसायी र सरकार दुवै गम्भीर नभएको उपभोक्ता अधिकारवादीको भनाइ छ।

पिपिसी, ओपिसी र पिएससी तीन प्रकारका सिमेन्ट, आइरन बार, पिभिसी केबल, माइल्ड स्टिल वायर, जिआई सिट, एलपिजी रेगुलेटर, एलपिजी सिलिन्डर, एलपिजी भल्ब फिटिङ र ड्राइ सेल ब्याट्रीमा एनएस चिह्न अनिवार्य गरिएको छ। जनसाधारणको सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले यी वस्तुमा एनएस अनिवार्य गरिएको हो। विभागसँग एक हजार प्रकारका उत्पादनलाई एनएस चिह्न दिन सक्ने क्षमता छ। यसमध्ये ६० प्रकारका उत्पादनले एनएस प्रयोग गरिसकेका छन।

पहिलोपटक एनएस चिह्न पाएपछि हरेक उत्पादनले ३ वर्षमा र त्यसपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ। एनएस पाएपछि विभागले बेलाबेलामा अनुगमन गर्छ। त्यसबाहेक जनसाधारणबाट गुनासो आएमा विभागबाट थप अध्ययन हुने गर्छ।  

प्रकाशित: ३ भाद्र २०७३ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App