८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलको डाटा खपत १३० प्रतिशतले वृद्धि


काठमाडौं – निजी क्षेत्रको पहिलो मोवाइल सेवा प्रदायक एनसेलको वार्षिक डाटा खपत १३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले निकालेको पछिल्लो २०१७ को वार्षिक वित्तीय विवरण अनुसार ग्राहक संख्या र डाटा खपतमा उल्लेख्य वृद्धि भएको छ।

आजियाटाको २०१७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सो वर्ष एनसेलका ग्राहकले दुई करोड ७७ लाख जिबी डाटा प्रयोग गरेका छन् । यो २०१६ को जम्मा प्रयोगभन्दा १३० प्रतिशतले बढी हो । उसको वित्तीय विवरण अनुसार २०१६ मा कुल डाटा खपत १ करोड २० लाख जिबी थियो । त्यसैगरी, एनसेलको २०१५ को डाटा खपत ५३ लाख जिबी मात्र रहेको उल्लेख छ। 

  एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सुरुवात गरेसँगै डाटा खपतमा वृद्धि भएको बताएको छ । एनसेलले २०१७ जुनमा फोरजी सेवा सुरु गरेको थियो । एनसेलले हालसम्ममा देशका विभिन्न २१ सहरमा फोरजी सेवा पुर्‍याइसकेको छ ।कम्पनीको तथ्यांक अनुसार २०१६ को तुलनामा २०१७ मा एनसेलको डाटा सेवाको आय १७.९ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत र कुल ग्राहक संख्यामा झन्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन्।

उसको वित्तीय विवरण अनुसार वर्ष दिनमा एनसेलको ग्राहक संख्या १५ लाख १६ हजारले थपिएका छन् । रिपोर्ट अनुसार जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा एनसेलको १५ लाख १६ हजार नयाँ ग्राहक थपिएका छन् । एक वर्षको अवधिमा १०.१९ प्रतिशतले वृद्धि हुँदै ग्राहक संख्या १ करोड ६४ लाख ३३ हजार पुगेको कम्पनीले जनाएको छ।

सन् २०१७ मा एनसेलको ग्राहक संख्या १० प्रतिशतले वृद्धि हुँदै १५ लाख १६ हजार थपिएका छन् ।

‘एनसेलमा ग्राहक संख्याको राम्रो वृद्घि भएको छ जसको सहयोगले अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयको गिरावटमा टेवा दिएको छ,’ आजियाटाले आफ्नो रिपोर्टमा भनेको छ । उसको तथ्यांक अनुसार १ करोड ६० लाख २८ हजार प्रिपेड र ४ लाख ५ हजार पोस्टपेड ग्राहक रहेका छन् ।
त्यसैगरी, एनसेलको २०१७ को कुल आम्दानी ५८ अर्ब ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष २०१६ मा भने कम्पनीले ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।

अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आम्दनीमा गिरावट आउँदा समग्र आम्दानीमा असर गरेको कम्पनीको भनाइ छ । उसका अनुसार अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने एनसेलको आम्दानी १९.६ प्रतिशतले घटेको छ । पछिल्लो समयमा विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्न इन्टरनेट सेवाका माध्यामबाट विभिन्न एपहरु प्रयोग हुन थालेका छन् । जस्तो कि ह्वाट्सएप, भाइबर, इमो, स्काइप आदिको प्रयोग बढेको लगायत कारणले गर्दा टेलिकम कम्पनीहरुको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा गिरावट आइरहेको छ।

टेलिकम कम्पनीहरूको कुल आम्दानीमध्ये अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट ३० देखि ४० प्रतिशत हुने गरेकोमा अहिले यो आम्दानी ३० प्रतिशतभन्दा कम भइसकेको कम्पनीहरूले बताएका छन् ।
त्यसैगरी, टेलिकम क्षेत्रमा बढेको प्रतिस्पर्धाले पनि सेवा प्रदायक कम्पनीहरूको आम्दानी घट्दै गएको देखिन्छ । प्रतिस्पर्धामा उत्रिन सेवा सुविधा बढाउनु, विभिन्न भ्वाइस प्याकका अफर ल्याउँदा आम्दानीमा असर गरेको देखिन्छ । लामो दुरीको अन्तर्राष्ट्रिय कल तथा अन्य भ्वाइस कलबाट भएको क्षतिलाई डाटा सेवामा वृद्धि, ग्राहकको संख्यामा वृद्धिले पूर्ति गरेको कम्पनीको भनाइ छ।

कम्पनीको तथ्यांक अनुसार उसका ग्राहकमध्ये ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्छन् । गत वर्ष यो संख्या ४२ प्रतिशत रहेको थियो । एनसेलका जम्मा थ्रिजी बिटिएस टावर २ हजार ४ सय ३१ वटा रहेका छन् भने फोरजीको लागि ८ सय ९२ बिटिएस टावर रहेका छन् ।  

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App