coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१२ वर्ष विदेश बसेका युवा बाख्रापालनमा

नेत्रबहादुर महराको बाख्रा फर्म । तस्बिर : दिनेश/नागरिक

रोल्पा – साउदी अरबमा १२ वर्ष काम नेत्रबहादुर महरा अचेल आफ्नै गाउँमा बाख्रापालनमा लागेका छन्।सुवर्णावती गाउँपालिका–४, मिझिङका ४५ वर्षे महरा व्यावसायिक बाख्रापालनमा लागेका हुन्।

वैदेशिक रोजगारीबाट कमाएको पैसाले पुख्र्यौली थलोमा चार वर्षअघि २५ वटा बाख्रा पालेर व्यवसाय थालेका उनले अहिले ५४ वटा पु¥याएका छन । ‘उता कारिन्दा थिएँ, अहिले मालिक भएको छु । विदेशमै भएको भए यतिबेला कता कता होइन्थ्यो होला, यहाँ परिवारसँग खुसीसाथ बसेको छु,’ महराले भने ।‘१२ वर्ष साउदी बसें, कति अरुको देशमा बस्नु ? यहाँ आएर साथीभाइको सल्लाह बमोजिम बाख्रा पाल्न सुरु गरेको हुँ,’ महराले सुनाए ‘बाख्रा पाल्ने सोच बनाएपछि सो सीप सिक्न सुरुमा खुबै युट्युब हेरें ।

पशु कार्यालयमा गएर बुझें ।’ अहिले करिब १० लाख मूल्यको बाख्रा मात्र राखेका उनले सुरु लगानी ६ लाख रहेको जानकारी दिए । ‘खोर बनाउँदा र सुरुमा बाख्रा ल्याउँदा ६ लाख जति लगानि गरेको बताए । गत सालमात्र करिब पाँच लाख आम्दानी भएको उनले सुनाए । ‘अघिल्ला दुई वर्ष पनि ठिकै भयो । अहिले राम्रो छ । बोयर प्रोडक्सन सुरु गरेको छु । क्रस गराउनलाई बोयर बोका थप्दैछु,’ उनले भने ।अहिले महरासँग भएका सबै पाठापाठी गाउँपालिकाले किन्ने भनेको छ।

‘सबै पाठापाठी गाउँपालिकाले अर्डर गरिसकेको छ । उत्पादन गर्न सके बजारको चिन्ता छैन,’ महराले सुनाए । जिल्ला पशु सेवा कार्यालयबाट राम्रो प्राविधिक सहयोग पाएका महरा किसानका लागि उन्नत बीउबिजन कार्यक्रम, कृषि उद्यम केन्द्र, रोल्पा उद्योग वाणिज्य संघ ‐केयुबिके)ले अनुदान दिएपछि खुसी छन । ‘पशु कार्यालयबाट प्राविधिकहरु आउनुहुन्छ । केही दिनअघि कृतिम गर्भाधान पनि गरिदिनुभएको छ । केयुबिकेले पनि २२ लाख जति खोर सुधार र उपकरण खरिदमा सहयोग गरेको छ,’ उनले सुनाए।

बाख्रा चराउने पखेरो आफ्नै भएका महरासँग समस्या पनि छन् । ‘यहाँ बत्ती छैन । अरु बाख्रा थप्ने त भनेको कामदार पाइँदैन । मान्छे दिनभर हल्लेर बस्छन्, पैसा दिन्छु काम गर भन्दा मान्दैनन् । फार्मसम्म बाटो पनि छैन,’ उनले भने । पशु बिमासमेत गराएका महरा आफ्नो कारोबार बढाउने सोचमा छन् । केयुबिकेले साना अनुदान कार्यक्रम अन्तर्गत विभिन्न सहयोग पनि गर्दै आएको छ।

उता, जिल्ला पशु सेवा कार्यालय पनि आफ्ना किसानले पशुपालनमा सफलता पाउँदै गएकामा खुसी छ । ‘अहिले रोल्पा मासुमा आत्मनिर्भर भइसक्यो । हामी प्लसमा छौं । हिजोआज त रोल्पाबाट खसी–बोका निकासी हुन थालेको छ । होलेरी, सुलिचौर र जिनावाङको बाटो हुँदै ठूलो संख्यामा मासुजन्य वस्तुभाउ निकासी गर्छौं,’ वरिष्ठ पशु चिकित्सक गान्धिराज उपाध्यायले भने, ‘हाम्रा प्राविधिकले किसानकहाँ पुगेर कृत्रिम गर्भाधान लगायतको प्राविधिक सहयोग गरिरहेका छन् । हामीले किसानलाई अनुदानमा केही समयअघि एक सय ८७ वटा बोयर बोकासमेत वितरण गरेका छौं ।’ उनका अनुसार रोल्पाको भूबनोट र मौसमअनुसार यहाँ बाख्रापालन उपयुक्त छ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App