coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एयर एसियाले १८२ जहाज बेच्ने

क्वालालम्पुर– मलेसियाको सस्तोमा उडान गर्ने निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाले आफूसँग रहेका १ सय ८२ थान जेट जहाज बिक्री गर्ने घोषणा गरेको छ।

एयर एसियाले भाडामा जहाज उपलब्ध गराउने र केही वित्तीय लगानीकर्तालाई ती जहाज १ अर्ब २० करोड अमेरिकी डलरमा बिक्री गर्ने घोषणा गरेको हो । यो घोषणालाई यस क्षत्रकको हालसम्मकै सबैभन्दा ठूलो जहाज–बित्तीय कारोबारका रूपमा हेरिएको छ।

संसारकै सबैभन्दा ठूलो जहाज व्यवस्थापक कम्पनी बिबिएएम, आयरल्यान्डस्थित जहाज भाडामा उपलब्ध गराउने कम्पनी फ्लाई लिजिङ लिमिटेड र उसका साझेदारले एयर एसियाका जहाज खरिद गर्नेछन् । यो समूहलाई एयर एसियाका लागि आगामी तीन वर्षपछि आपूर्ति गरिने जहाज खरिद गर्न पाउने विकल्प पनि दिइएको छ।

एयर एसियासँगको ‘डिल’ हेर्दा पछिल्ला तीन वर्षभित्र उड्डयन क्षेत्रमा लगानीको ओइरो लागेको देखाएको छ । बढ्दो मात्रामा ठूला आकारका जहाज पर्याप्त संख्यामा आपूर्ति गर्नका लागि यो वर्ष १ खर्ब ३९ अर्ब डलर आवश्य रहेको अमेरिकी जहाज निर्माता कम्पनी बोइङले जनाएको छ । अर्को वर्ष सन् २०१९ मा रकम बढेर १ खर्ब ५० अर्ब डलरबराबर पुग्ने बोइङको प्रक्षेपण छ।

एयर एसियासँग २ सयभन्दा बढी जहाज सञ्चालनमा छन् । उसको साझेदारीमा केही अन्य वायुसेवा कम्पनी पनि उडान गरिरहेका छन् । बोइङको बजार प्रक्षेपणअनुसार यस क्षेत्रमा गत वर्ष १० करोड नयाँ हवाई यात्रु थपिएका थिए । यही बजार कब्जा गर्न एयर एसिया समूहका वायुसेवा कम्पनी तीव्र गतिले अगाडि बढेका छन्।

एयर एसिया युरोपेली जहाज निर्माता कम्पनी एयरबसको सबैभन्दा ठूलो ग्राहक हो । यसले ४ सय थान नयाँ जहाज खरिद अर्डर गरेको छ भने चीनका गन्तव्यमा उडान विस्तार गर्ने योजना पनि बनाएको छ ।
एयर एसियाका जहाज खरिद गर्ने फ्लाई लिजिङले पहिलो ब्याचका ५५ थान जहाजका लागि एयर एसियालाई १ अर्ब डलर चुक्ता गर्ने छ भने आफ्नो १० प्रतिशत सेयर एयर एसियालाई बिक्री गर्ने छ । यो भनेको थप २० थान ‘ए३२० निओ’ सिरिजका जहाजको मूल्यबराबर हो।

क्यानडामा केन्द्रीय कार्यालय रहेको एक सम्पत्ति प्रबन्धक कम्पनी ओनेक्स कर्पोरेसनले फ्लाई लिजिङमा नयाँ लगानी थप्ने घोषणा गरिसकेको छ । त्यसपछि फ्लाई लिजिङमा ओनेक्सको सेयर १७ प्रतिशत पुग्ने छ । त्यसैगरी बिबिएएमले फ्लाई लिजिङका ८४ थान जहाज व्यवस्थापन गर्ने छ।

ओनेक्स र बिबिएएम तथा उनीहरूका साझेदार कम्पनीले संयुक्त लगानीमा एयर एसियासँग थप एयरबस जहाज खरिद गर्ने घोषणा पनि गरिसकेका छन् । यसमा ३० थान ए३२० निओ सिरिजका जहाज विकल्पका रूपमा लिइएको छ । यी जहाज आगामी केही वर्षभित्र आपूर्ति गरिनेछन्।

बिबिएएमले आफू मातहतका विभिन्न लगानी समूहसँग रहेका ४ सयभन्दा बढी जहाज व्यवस्थापन गर्दै आएको छ । यसले गत वर्ष सिंगापुरको जिआइसी नामको कम्पनीलाई आफ्नो ३० प्रतिशत सेयर बिक्री गरेको थियो । युरोप र अमेरिकाका केही बैंकले जहाजमा लगानी गर्न छोडेपछि त्यस ठाउँमा एसियाका बैंक तथा लगानीकर्ता प्रवेश गर्न थालेका छन् । पछिल्लो पाँच वर्षयता पुँजी आवश्यकता सम्बन्धी नियममा परिवर्तन भएपछि युरोपेली र अमेरिकी बैंक यस क्षेत्रबाट बाहिरिँदै गएका छन्।

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App