६ वैशाख २०८१ बिहीबार
अर्थ

निगमको ट्विनअटर निजी कम्पनीलाई

पोखरा – आम्दानीको हिसाबले पोखरा–जोमसोम रुट हवाई कम्पनीका लागि निकै ‘अब्बल’ मानिन्छ । सिजनका बेला निजी हवाई कम्पनीले यो रुटमा एकै दिन झन्डै दुई दर्जनसम्म उडान भर्छन्।

यो रुटमा हवाई टिकट पाउन बाह्रैमास मुस्किल हुन्छ । मुख्य सिजनका बेला निजी कम्पनीले अन्यत्र कटौती गरेर समेत यो रुटमा उडान थप्छन् ।हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङसहित अन्नपूर्ण सर्किट फेरो मार्न आउने विदेशी र मुक्तिनाथ दर्शन गर्न आउने भारतीय तीर्थयात्रीका कारण अबको तीन महिना यो रुटमा हवाई उडानको माग निकै हुन्छ।

सधैंजसो यात्रु पाइने यो रुटमा उडान गर्न निजी कम्पनीबीच प्रतिस्पर्धा भइरहँदा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भने आफैंले उडान नगरेर जहाज भाडामा लगाएको छ । भाडामा लगाएको जहाजले सोमबारदेखि उडान थालेको छ।

विगत दुई वर्षदेखि निगमले यो रुटमा सेड्युल वा चार्टर कुनै पनि उडान गर्न सकेको थिएन । झन्डै दुई वर्षपछि सोमबार बिहान निगमको जहाज जोमसोम अवतरण गरेको हो । निगमले सत्यम टुर्स एन्ड ट्राभल्सलाई तीन महिनाका लागि जहाज भाडामा दिएर उडान गर्न लगाएको छ ।सोमबार सत्यमले नै दुईवटा उडान गरेको हो । सोमबार भएको उडानमा पोखराबाट १८ जनाका दरले यात्रु जोमसोम ओर्लेका छन् । जोमसोमबाट फर्किंदा भने दुईवटामा गरी ६ जनामात्र पोखरा आएका थिए।

‘तीन महिनाका लागि जहाज भाडामा लिएको हुँ,’ सत्यमका सञ्चालक अमृत अधिकारीले नागरिकसँग भने, ‘निगमले मलाई भाडामा दिएको छ । म नियमित रूपमा चार्टर उडान गर्नेछु ।’ १९ सिट क्षमताको ट्विनअटर यो जहाज उडान गरेबापत सत्यमले एक उडान (दुईतर्फी) को १८ सय अमेरिकी डलर निगमलाई बुझाउनुपर्नेछ । सत्यमले यसअघि पनि यसैगरी निगमकै जहाज भाडामा लिएर यही रुटमा उडान गरेको थियो।
‘कम्तीमा मुक्तिनाथ जाने भारतीय तीर्थयात्रीलाई मर्का नपरोस् भनेर आउजाउमा सहजता दिलाउन जहाज लिएको हुँ,’ उनले भने, ‘चार्टर बेसिसमा रहेर मैले पोखरा–जोमसोम–पोखरा उडान गर्छु ।’चार्टर भएकाले यात्रुले केही बढी भाडा तिर्नुपर्ने उनले बताए । चार्टर गरेको यो जहाजमा भारतीयले एकतर्फी भाडा आठ हजार चार सय ५५ रुपैयाँ, विदेशीले एक सय २५ अमेरिकी डलर र नेपालीले करिब तीन हजार रुपैयाँ तिर्नुपर्ने उनले बताए।

‘हामीले यतिबेला भारतीयलाई लक्षित गरेका छौं । पाका भारतीय पाहुना मुक्तिनाथ जान आउने हुँदा जहाजको व्यवस्था गरेका हौं,’ अधिकारीले भने, ‘भारतीयहरू स्थलमार्गबाट जान नसक्ने हुँदा जहाजको विकल्प दिएका छौं।’

निगम र सत्यमबीच भएको सहमतिअनुसार सत्यमले महिनामा कम्तीमा ६० वटा उडान गर्नैपर्नेछ । यो भनेको दिनमा कम्तीमा दुईवटा उडान गर्नैपर्ने बाध्यता सत्यमलाई छ । दिनमा कुनै पनि हालतमा (मौसमी अवरोधबाहेक) दुईवटाका दरले उडान गर्न नसके सत्यमलाई जरिवाना गर्ने पनि सम्झौतामा छ । भारतीय पाहुनाको सिजन परेकाले यो बेला भाडामा लिएर उडान गर्न थालेको उनले बताए।

सातै दिन यो रुटमा जहाज उडाए पनि हरेक मंगलबार र शनिबारको एक–एकवटा उडान निगमको सेड्युलमा हुनेछ । सेड्युल फ्लाइट निगमको आफ्नो हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सातै दिन चार्टर उडान गर्न नदिने भएकाले निगमले यो रुटमा मंगलबार र शनिबार सेड्युल उडान राखेको हो । साताको दुई दिन एक–एक उडान निगमको नाममा रहेनछ । त्यसबाहेकका उडान सत्यमले गर्ने निगमले बताएको छ।

निगमको सेड्युल फ्लाइटमा हुँदा भने यात्रुले सस्तोमा उड्न पाउनेछन् । निगमले पोखरा–जोमसोम रुटमा स्वदेशीका लागि २९ सय १० रुपैयाँ, विदेशीले ९६ अमेरिकी डलर र भारतीयले पाँच हजार आठ सय रुपैयाँ तिर्ने गरी भाडा तोकेको छ । चार्टरभन्दा यो निकै नै सस्तो पर्न जान्छ ।निगमका पोखरा प्रमुख विजय बस्नेतले तीन महिनाका लागि सत्यमलाई जहाज भाडामा दिएको बताए । उनले सातै दिन पोखरा–जोमसोम उडान भए पनि मंगलबार र शनिबारको एक–एकवटा निगमको आफ्नो हुने बताए।

‘मंगलबार र शनिबार सेड्युल फ्लाइट हो । ती दुई दिन पनि सुरुका उडान सत्यमले गर्नेछ । सत्यमको उडान सकिएपछि मात्र निगमले गर्ने हो,’ बस्नेतले भने, ‘सातामा दुईवटा मात्र निगमको आफ्नो हुनेछ । बाँकी सत्यमले सकेजति उडान गर्न पाउनेछ।’

स्रोतका अनुसार पाइलट अभाव खेपेको निगमसँग पछिल्लो समय एउटा मात्र ट्विनअटर जहाज थियो । ग्राउन्डेड भएका दुईवटामध्ये अर्काे एउटा उड्न योग्य बनाएपछि अहिले दुईवटा मात्र उडानमा रहेका छन् ।
सोमबार उडान गरेको जहाजको इन्जिनको अवधि पनि सकिनै थालेको छ । जहाज उडाउन पाइलटको अभाव खेपेको बेला एक निजी कम्पनीबाट दुईजना पाइलट ल्याएर मात्र चार्टर उडानमा राखेको स्रोतको भनाइ छ । ‘पोखरा–जोमसोम निगम आफैंले उडान गर्न पनि सक्थ्यो । तर, भाडामा दिइएको छ,’ स्रोतले भन्यो, ‘राम्रोसँग व्यवस्थापन गर्ने हो भने जहाजलाई यात्रु अभाव हुँदैन ।’

यो रुटमा सातै दिन उड्न जहाजमा यात्रु अभाव नहुने स्रोतले जनायो । ‘व्यवस्थापन चुस्त हुुनुपर्छ । पोखरा–जोमसोम उडानलाई यात्रु अभाव हुँदैन,’ स्रोतले भन्यो, ‘निगम आफैंले चार्टर गर्न मिल्दैन । त्यही भएर निजी क्षेत्रलाई दिएको हो । आफैले नियमित उडान गर्नु भन्दा भाडामा दिँदा निगमलाई फाइदा हुन्छ । तर, यात्रुले बढी भाडा तिर्नुपर्छ।’
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App