६ वैशाख २०८१ बिहीबार
समाज

गुठीको चोक मासेर व्यापारिक संरचना निर्माण

धरहराको दक्षिणतिर गुठि संस्थानको नाममा रहेको खुला चोकमा मापदण्ड विपरीत निर्माणाधीन व्यापारिक संरचना।

काठमाडौं - गुठी संस्थान र ठेकेदार कम्पनीको मिलोमतोमा काठमाडौंको सुन्धारास्थित धरहराको देव्रेपट्टि गुठी संस्थानको नाममा रहेको सरकारी खाली जग्गामा मापदण्ड विपरीत व्यापारिक बनाउन लागिएकोे छ । सरकारी स्वामित्वमा रहेको उक्त जग्गाका बारे कसैलाई पत्तो नदिई वरिपरि बार लगाएर भवन निर्माण थालिएको हो।

भवन निर्माणका लागि जग खन्न थालिएपछि स्थानीयले महानगरपालिकामा उजुरी गरेका थिए । साथै सोमबारै स्थानीयले निर्माणाधीन भवनको विरोध गरे । विरोध कार्यक्रममा बोल्ने अधिकांश वक्ताले भवन निर्माणको विरोध गर्दै निर्माण कार्य तुरुन्तै रोक्नुपर्ने माग राखे।

‘यो ठाउँमा धेरैको आँखा लागेको छ,’ २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनले भने । गुठी संस्थानले सम्पदा क्षेत्रको जग्गा दोहन गर्न लागेकाले यसको विरोध गर्नुपर्ने उनले बताए । महर्जनले सार्वजनिक जग्गामा व्यापारिक भवन निर्माणका लागि नक्सा पास गरिदिने महानगरका कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने  बताए ।महानगरपालिका– ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले भवन बनाउन थालेको सुनेपछि आइतबार निर्माण कार्य रोक्का गर्न महानगरलाई वडाले पत्र काटिसकेको जनाए । गुठी संस्थानले बगैंचा बनाउन लागेको होला भन्ने अनुमान गरेको तर व्यापारिक भवन बन्न लागेको जानकारी पाएको बताउँदै उनले सो निर्माण कायै तत्काल राक्नुपर्ने बताए।

करिब २ रोपनी क्षेत्रको सो जग्गा पहिलादेखि नै खाली थियो । धरै वर्षअघि सो ठाउँमा इँटा छापिएका थिए।
‘डेढ महिनाअघि मात्रै महानगरमा नक्सापास भएको रहेछ,’ तण्डुकारले भने, ‘मलाई नै थाहै नदिई वडा कार्यालयबाट नक्सापासको सिफारिस भएको रहेछ ।’ उनले यसमा संलग्न कर्मचारीलाई कारबाही गरिने बताए।महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सोमबार मात्रै सो खाली जग्गामा भवन बनाउन थालेको जानकारी पाएको बताइन् । उनले भनिन्, ‘चलानी र मिति नै नराखी नक्सापासको स्वीकृति भएको रहेछ । नक्सापास गरिदिने कर्मचारीलाई कारबाही हुन्छ,’ उनले सो जग्गालाई खुला रूपमा राख्ने बताइन्, ‘गुठी संस्थानसँग कुरा गर्छौं।

सरकारी निकाय भएर पनि सम्पदा क्षेत्रमा व्यवसायिक भवन बनाउनु अवराेध हो।’उक्त जग्गा भीम गुप्तेश्वर गुठीको नाममा रहेको भन्दै उपमेयर खड्गीले गुठी संस्थानलाई तुरुन्तै निर्माण कार्य रोकी जग्गा खाली गर्न निर्देशन दिइन् ।पुरातत्व विभागका अधिकृत श्याम राजवंशीले सरकारी निकायहरूबीच समन्वय सम्पदा संरक्षण हुन नसकेको बताए । उनले मापदण्ड विपरीत र गोप्य मिलोमतोमा बनाउन लागिएको भवन निर्माण महानगरपालिकाले तत्काल रोक्नुपर्ने बताए।

गुठी संस्थानका प्रमुख नारायण चौधरीले ५ वर्षको लागि अमात्य इन्टरप्राइजेजलाई उक्त जग्गा टेन्डरमा भाडामा दिइएको बताए ।   उक्त जग्गाको विषयमा संस्थानले दुई वर्षसम्म आरोप खेप्दै आएको र अदालतको फैसलाअनुसार व्यापारिक टहरा निर्माण गर्न टेन्डर गरिएको जनाए । ‘अस्थायी टहरो बनाउने सम्झौता गरेका हौं,’ उनले भने, ‘ठूला व्यापारिक भवन निर्माणको स्वीकृति दिएका होइनौं ।’

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App