८ वैशाख २०८१ शनिबार
समाज

किर्ते गरी जग्गा नामसारी गर्ने गिरोहको पर्दाफास

नक्कली उबेदुर रहमानको बनाइएको नक्कली नागरिकता । तस्बिर : किरणमान बज्राचार्य- नागरिक

कपिलवस्तु –  अरूको नाममा रहेको जग्गा किर्ते गरी नामसारी गर्ने गिरोहको पर्दाफास भएको छ । सो गिरोहका एकजना जिल्ला मालपोत कार्यालयमा पक्राउ परेपछि त्यसको खुलासा भएको हो।वाणगंंगा नगरपालिकाको पटनाका उबेदुर रहमानको जग्गा किर्ते गरी नामसारी प्रक्रिया अघि बढाइरहँदा कपिलवस्तु नगरपलिका १ आनन्दबागका विकास चौधरी पक्राउ परेका हुन्।

जग्गा नामसारीकालागि गिरोहले नक्कली नागरिकता बनाई मालपोत कार्यालयको मोठ फाँटमा उबेदुरको फोटोसमेत साटेका छन् । गत फागुन १४ गते मालपोत अधिकृत भोजबहादुर भण्डारीको कक्षमा विकासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो । नामसारीकालागि नक्कली उबेदुर रहमान भन्ने व्यक्तिसमेत खडा गरिएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयमा रहेको मोठमा समेत सक्कली उबेदुरको फोटोमा नक्कली उबेदुरको फोटो राखिएको मालपोत अधिकृत भण्डारीले बताए । ‘नागरिकता, राजीनामाको कागज हेर्दा शंका लाग्यो, मोठमा छानबिन गर्दा किर्ते गर्ने गिरोहको पोल खुल्यो ’ अधिकृत भण्डारीले भने।

जग्गाधनीको पुर्जाको प्रतिलिपि २०६९ सालमा लिइएको देखाइएको थियो । सो प्रतिलिपिमा मालपोत अधिकृत भण्डारीले प्रमाणित गरी दस्तखत गरेको देखिएको थियो । जबकि मालपोत अधिकृत भण्डारी २०७० सालमा यहाँ हाजिर भएका थिए । आफू मालपोत अधिकृतका रूपमा यहाँ कार्यरत नभएका बेला कसरी आफ्नो नाम आयो भन्ने लागेर छानबिन गर्दा किर्तेको रहस्य खुलेको अधिकृत भण्डारीले बताए । गिरोहले उबेदुरको नाममा रहेको पटना १ ख ८९, ९६, ९८, २४८, ३००, र ३१७ गरी कुल ११ कठ्ठा १८ धुर जमिनको राजीनामा पास गराउने प्रक्रियामा लागेका थिए । तिनै गिरोहले फागुन ९ गते पटनामा रहेको उबेदुरको ११ कठ्ठा १३ धुर जग्गा भने पास गराउन सफल भएका थिए।

फागुन १४ गते तिनै उबेदुरको अरू जग्गा पास गराउनेक्रममा मालपोत कर्मचारीको फन्दामा परेका थिए । सो जग्गाका लागि लेखापढी गर्ने लेखापढी व्यवसायी गंगेश बर्माले आफूले ती गिरोहले देखाएको कागजातका आधारमा राजीनामा फारम भरेको बताए । ‘ गिरोहका बारेमा मलाई कुनै जानकारी थिएन,’ उनले भने । मालपोत कार्यालयका प्रमुख ईश्वरी भण्डारीले किर्ते गर्ने विकास चौधरी, नक्कली राजीनामा र नागरिकता प्रहरीलाई बुझाइएको बताए । उनले ती गिरोहका बारेमा मालपोत कार्यालयमा समेत अध्ययन गरिएको बताए।

प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले पक्राउ परेका विकास चौधरीमाथि सरकारी छाप दस्तखत र किर्ते मुद्दा लगाई आवक्श्यक अनुसन्धान भइरहेको बताए । नक्कली उबेदुर भारतीय नागरिक हनु सक्ने उनले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट यो कार्यमा एउटा गिरोह नै सामेल भएको देखिएको छ,’ उनले भने ‘मुद्दाको सुक्ष्म अध्ययन गरिरहेका छौं, फरार भएका व्यक्तिहरूको व्यापक खोजी भइरहेको छ ।’ उबेदुरले किर्ते गर्ने गिराहेको चाँडै पर्दापास हुनुपर्ने माग गरेका छन्
जग्गाकालागि नक्कली नागकिरता
पटनाका उबेदुर मुसलमान नामको नक्कली नागरिकतासमेत गिरोहले बनाएको छ । तत्कालीन पतरिगा गाविस १ ठेगाना देखाई २०४५ वैशाख १० गते टोली प्रमुख कृष्णप्रसाद कुईकेलले प्रथमपटक उबेदुरलाई नागकिरताको प्रमाणपत्र जारी गरेको देखाइएको छ ।

२०७३ फागुन १७ गते उबेदुरको जारी गरिएको नागरिकताको प्रतिलिपिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राकेश पाण्डेयको हस्ताक्षर छ ।हाल प्रशासकीय अकिृत पाण्डेय प्युठान प्रशासन कार्यालयमा कार्यरत छन् । उता मालपोत कार्यालयको मोठमा २०६९ फागुन २० गते उबेदुरको फोटोको ठाउँमा नक्कली उबेदुरको फोटो साटिएको थियो । गिरोहले कसरी नक्कली नागरिकता बनाए, मोठ फाँटमा कसरी फोटो साटे भन्नेबारे सुक्ष्म छानबिन हुनुपर्ने मालपोत कर्मचारीकै माग छ ।

 

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App