८ वैशाख २०८१ शनिबार
समाज

काभ्रे कारागारका कैदीबन्दी आन्दोलित

काभ्रे सदरमुकाम धुलिखेलस्थित कारागार।

बनेपा – जिल्ला कारागार काभ्रेका कैदीबन्दीले आन्तरिक व्यवस्थापकका रूपमा कारागारभित्र खटिएका नाइके र सहनाइकेहरूले ज्यादती गरेको भन्दै आन्दोलन गरेका छन्।

  आन्दोलनक्रममा उनीहरूले सोमबार बिहानैदेखि चौकीदार, मूलनाइके, नाइके र सहनाइके गरी सातजनालाई १० घण्टा गोलघरभित्रै बन्धक बनाएका छन् । घटनाबारे बुझ्नका लागि जेल परिसरमा पुगेका प्रमुख जिल्ला अधिकारी र काभ्रे प्रहरी प्रमुखसमेत आन्दोलनरत कैदीले जेलभित्रैबाट गरेको तालाबन्दीका कारण अपराह्नसम्म भित्र छिर्न पाएनन्।

 ‘एक त जेलमा हामी खचाखच थुनिएका छौं । हामीलाई रासनमा पनि मनपरी गरिएको छ । सबै कुरा बजारमा भन्दा दोब्बर महँगो लिइन्छ । अनुगमन नहुँदा जेल प्रशासन र नाइकेहरूको ज्यादती बढ्यो,’ काभ्रेका प्रजिअ शिवप्रसाद सिमखडालाई आन्दोलनरत कैदीले जेलको मूलढोकामै गुनासो गरे । पछिल्लो समय जेल प्रशासनले भन्दा पनि आन्तरिक व्यवस्थापनका नाइके र सहनाइकेको अत्याचार खपिनसक्नु भएको भन्दै उनीहरूले प्रजिअ सिमखडासँग ती नाइेकेहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने प्रमुख माग राखेका थिए । ‘हामीलाई अत्याचार गर्ने नाइके र भाइनाइकेलाई अन्य जेलमा नसारेसम्म आन्दोलन छाड्दैनौं,’ प्रजिअसँगको वार्तामा उनीहरूले माग राखे ।

जेलभित्रै कैदीले आन्दोलन र नाराबाजी गरेको समाचार संकलनमा गएका टेलिभिजन पत्रकारहरूलाई प्रहरीले सो दृश्य खिच्नमा रोक लगाएको थियो ।    कारागार प्रशासनले चौकीदार एक, मूलनाइके एक, नाइके तीन र सहनाइके दुई गरी सात कैदीलाई जेलभित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिएको छ । पछिल्लो समय यिनै व्यवस्थापकहरूको रवैयाका कारण बाँकी कैदीको आक्रोश बढेको हो । जेल प्रशासनले चौकीदारमा अर्जुन थापा मगर, मूलनाइकेमा दीपक ठकुरी, नाइकेहरूमा सुरज थापा, जयसिंह तामाङ, सुरेश बलामी तथा सहनाइकेहरूमा मधुकर महत र कुमार कार्कीलाई नियुक्त गरी जिम्मेवारी दिएको हो।

 ‘चामल कमसल दिइन्छ । नुनतेल, आलु, गोलभेंडा र मट्टितेलको समेत दोब्बर मूल्य लिन्छन् । बिहान सबेरै पकाएको खानालाई चिसो भएर डल्लो परेपछि दिउँसो खान दिइन्छ । योभन्दा अत्याचार के होला र,’ आन्दोलनरत कैदीहरूले भने, ‘तोकिएको रासनमा समेत आँखा लगाउने र हामीमाथि ज्यादती गर्नेहरूलाई कारबाही नभएसम्म हामी चुप लाग्दैनौं,’ उनीहरूले थपे । कारागार प्रशासनले नेपाल खाद्य संस्थानबाट चामल झिकाएर कैदीलाई उपलब्ध गराउँदै आएको र अन्य खर्चका लागि तोकिएको रकम नाइकेमार्फत नै दिँदै आएको जानकारी दिएको छ । ‘खाद्य संस्थानबाट झिकाइएको चामल हामीले नै दिन्छौं।

रकम निकासा आएलगत्तै अन्य खाद्य सामग्री किन्नका लागि जेलको आन्तरिक व्यवस्थापनमार्फत कैदीलाई दिने गरेका छौं,’ जेलर महेशकुमार पोखरेलले भने ।  यसैबीच अधिकारकर्मी भोजराज तिमल्सिनाको समन्वयमा काभ्रे प्रशासनले आन्दोलनमा उत्रेका कैदीसँग सोमबार साँझ संवाद गरेको छ । संवादक्रममा प्रजिअसमक्ष आन्दोलरत कैदीहरूले चौकीदार, मूलनाइके, नाइके र सहनाइकेहरूलाई कडा कारबाहीका साथै उनीहरूलाई तत्कालै जेल स्थानान्तरण गरिनुपर्ने माग राखेका छन् ।

  ‘उनीहरूको मागलाई प्रशासनले गम्भीरतापूर्वक सुनेको छ । छानबिन समिति बनाएर कारबाही अघि बढाउने प्रतिबद्धतासमेत जनाएको छ,’ अधिकारकर्मी तिमल्सिनाले भने, ‘जेलका सबै कोठा संयुक्त अनुगमन ग¥यौं । काभ्रे जेलको व्यवस्थापनमा व्यापक सुधार नल्याउँदा समस्या दोहरिरहन सक्ने देखेका छौं,’ उनले थपे । बन्दी बनाइएका चौकीदार, मूलनाइके, नाइके र सहनाइकेहरूलाई जेलभित्रैबाट उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ।

 राणाकालीन जेल भएकाले क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेकाले सधैँभरि व्यवस्थापनमा समस्या आउने गरेको जेलर पोखरेलको भनाइ छ । ‘सोमबारका दिन थुनुवा र कैदी गरी २ सय ४६ जना जेलभित्र छन् । क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा खाना, पानी, सुत्न र शौचालयका लागि ठूलो समस्या छ,’ पोखरेलले थपे ।  कारागार व्यवस्था विभागले काभ्रेको जेललाई ‘ङ’ वर्गमा राखेको छ । ७५ जनाको क्षमता भनिए पनि थुनुवा र कैदी गरी यतिखेर करीब अढाई सयजना जेलभित्र छन् ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App