coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाली बजारमा भारतीय आकर्षण बढ्दो

काठमाडौं- नेपाल घुम्ने भारतीय पर्यटकका लागि सुन्धाराको चाइनाटाउन आकर्षक क्षेत्र बन्दै गएको छ। सस्तो, आकर्षक र गुणस्तरीय सामग्री पाइने भएकाले पनि उनीहरु नेपालबाट फर्किदाँ विभिन्न उपहार सामग्री खरिद गर्न आउने गरेको व्यापारीहरु बताउँछन्।

धार्मिक उद्देश्यले भारतीय पर्यटक धेरै आउने गरेको तथ्यांकका आधारमा नेपालको चिनो र दैनिक प्रयोगमा आउने सामग्री बढी खरिद गर्ने गरेको व्यवसायीको भनाइ छ। नेपालबाट फर्किदाँ रेडिमेट कपडा, ज्याकेट, छाता, विद्युतीय सामग्री उनीहरुको रोजाईमा पर्ने गरेको सम्बद्ध व्यापारी बताउँछन्।

नेपालबाट फर्किने क्रममा बिहारबाट आएका शिवानन्द पटेलले नेपालको चिनो किन्न चाइना टाउनमा आएको बातए। काठमाडौंको अन्य क्षेत्रमा पनि यस्ता सामग्री उपलब्ध हुने भए पनि चाइना टाउनमा सस्तो र राम्रो सामग्री पाइन्छ भन्ने सुनेकाले यहाँ आएको उनले बताए। ४० जनाको समूहमा पशुपतिनाथको दर्शन गर्न आएको बताउँदै आफूले घरपरिवारका लागि रेडिमेट कपडा किनेको बताए। नेपाली बजारमा पाइने यस्ता सामान भारतमा नपाइने र यता सस्तो पनि रहेको पटेलले बताए।

काठमाडौंका धार्मिकस्थल दर्शन गर्न भारतको राजस्थानबाट आएकी सिता चौहानले पनि घरायसी सामग्री किनेको बताइन्। हिन्दी भाष बोल्दै उनले भनिन्, 'नेपालको चिनोको रुपमा टर्च, बत्ति र ब्लाङ्केट किनेकी छु, अरु ठाउभन्दा यहाँ सस्तो लाग्यो।' यहाँ पाइने धेरैजसो सामान भारतमा उपलब्ध भए पनि यहाँ धेरै सस्तो हुने भएकाले खरिद गरेको उनको भनाइ छ।

'धार्मिक तथा घुमफिरमा आउने भारतीय नै हाम्रोमा धेरै आउने गरेका छन्,' चाइना टाउन व्यापार संघका अध्यक्ष ज्योती चन्द्र मुडभरीले भने, 'सस्तो, शुलभ र आकर्षक सामान पाइने भएकाले धेरैजसो भारतीय हाम्रोमा आउने गरेका छन्।' उनका अनुसार नेपालमा आउनेमध्ये मध्यम वर्गीय परिवारको रोजाई चाउना टाउन हुने गरेको छ।

आफ्नो पसलमा आउने ग्राहकमध्ये धेरै मात्रामा भारतिय नै रहेको तथ्याङक प्रस्तुत गर्दै अध्यक्ष मुडभरीलले भने, 'चाउना टाउनको ६० प्रतिशत व्यापारको हिस्सा भारतीय ग्राहकले ओगटेको छ।' 'चाइना टाउनमा भारतीय ग्राहकको आगमनले भारत र चिनबीच व्यापारिक केन्द्र बन्दै गएको छ,' उनले भने।

चीनबाट नेपाल भित्रिने सामानमा भारतीय बजारभन्दा सस्तो हुने गरेकाले भारतीयको आकर्षण रहेकोे हुनसक्ने उनले बताए। 'हामी नयाँ नयाँ चिनियाँ सामग्री नेपाल भिœयाउने गछौं, त्यसले भारतमा नपाउने सामान पनि यहाँ पाइने भएकाले भारतीयको बाहुल्यता रहेको हो,' मुडभरीले भने।

चाइना टाउनको स्थापनाकालदेखि नै व्यापार गर्दै आएकी शकुन्तला श्रेष्ठले चाइनाबाट आउने र भारतमा नपाइने सामान धेरैै बिक्री हुने गरेको बताउँदै उनले भनेन्, 'राम्रो र सस्तो सामग्री पाइने भएकाले पनि चाइना टाउन भारतीय पर्यटकको आकर्षक व्यापारिक क्षेत्र बनेको छ।' एउटैले ४० वटासम्म छाता खरिद गर्ने गरेको उनको भनाइ छ।

भारतीय ग्राहकले धानेको व्यापारबाटै सन्तुष्ट हुने गरेको बताउँदै शकुन्तलाले भनिन्, 'भारतीयकै भरमा चाइना टाउन चलेको छ भन्दा पनि फरक पर्दैन्।' नाकाबन्दी र भूकम्पपछि अन्य क्षेत्रमा जस्तै यहाँ पनि व्यापारमा कमी आएको उनले सुनाइन।

चिनियाँ सामाग्रीमात्र रहने चाइना टाउनमा नेपालीको क्रय क्षमताअनुसार सस्तोदेखि महंगो सामग्री रहेकाले भारतीयको आकर्षण बढेको व्यापारीको बुझाइ छ। नेपाल, चीन र भारतबीचको व्यापारिक  केन्द्रका रुपमा  चाइना टाउन स्थापित हुँदै गएको छ।

प्रकाशित: ३ भाद्र २०७३ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App