८ वैशाख २०८१ शनिबार
राजनीति

केन्द्र सरकार गम्भीर नभएको प्रदेशमन्त्रीको आरोप

मकवानपुर – प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संघ (केन्द्र) सरकार प्रदेशप्रति गम्भीर नभएको आरोप लगाएका छन्। केन्द्रिय मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी भएपनि प्रदेश सरकारका लागि गर्न सक्ने सामान्य सहयोग पनि नगरेको उनले तर्क गरे। ‘प्रदेश सरकारहरुको विषयमा केन्द्रिय सरकार पनि गम्भीर देखिएको छैन, उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीहरुलाई पटकपटक भन्यौ, तर निर्देशन आउँदैन।’

टेम्पो तथा मझौला यातायात व्यवसायी संघको बार्षिक साधारण सभाको उद्घाटन पछि उनले प्रदेश सरकार पनि जनताबाट निर्बाचित भएकाले आफै काम सुरु गर्ने बताए। ‘अहिले पख्नुहोस्, मन्त्रीहरु आउनु भएको छैन, सरकारले पूर्णता पाएको छैन भन्नुभयो, उनले थपे, ‘भएका संघीय मन्त्रीहरुले समेत प्रदेशको समस्या समाधान गर्न चासो देखाउनु भएन।’

पहिलेकै सरकारले प्रदेशको केही ऐन, कानून नबनाईदिएकोमा गुनासो गर्दै सत्तारुढ नेकपा माओवादी ३ नम्बर प्रदेश संसदीय दलका नेता समेत रहेका उनले नयाँ सरकारले समेत चासो नदिनु दुःखद पक्ष भएको बताए। बोलेर र नारा दिएर मात्र समृद्धी नआउँने भन्दै हरेक नागरिक पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ। ‘मुखले भनेर मात्र समृद्धि आउँदैन, हाम्रो संस्कार र संस्कृति बदलेर काम गर्नुपर्छ।’

संघीयताको नयाँ अभ्यास अनुसार सुशासन, समृद्धी र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री जम्कट्टेलले कानुन बनाएपछि प्रदेश सरकारले धमाधम काम गर्ने बताए। सम्बन्धित विभागीय मन्त्रालय मार्फत् कानुन निर्माणका लागि सुझाव दिन सबै पक्षलाई आग्रह गर्दै उनले जनतालाई नआत्तिन र धैर्य गर्न समेत अनुरोध गरे। 

प्रदेश सरकार गठन भएपनि कानूनविहिन अवस्थामा रहेको भन्दै उनले जनता र व्यवसायीलाई असर पर्ने कुनै कानून नबनाउने दाबी गरे। यातायात क्षेत्रको समस्याबारे आफू जानकार बताउँदै उनले निर्माणका क्रममा रहेको प्रादेशिक कानूनमा उपभोक्तालाई सरल र सहज सेवा तथा व्यवसायीलाई राहत दिने व्यवस्था राख्ने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, महासचिव सरोज सिटौला र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले २० बर्षे सवारी हटाउने सरकारी तयारीको बिरोध गरे। सरकारी कर्मचारीले गाडी निर्माता कम्पतीसँग अर्बौको चलखेल गरेको आरोप लगाउँदै उनीहरुले सरकारी निर्णय पुर्नविचार गर्न र व्यवसायीलाई भन्सार छुट दिन आग्रह समेत गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने लगायतले जनताले सहज र सरल भाडामा यातायात सेवा उपभोग गर्न पाउनुपर्ने बताउँदै व्यवसायीको लगानीको पनि सुरक्षा हुनुपर्ने बताए।

कार्यक्रममा संघका अध्यक्ष प्रदीपराज गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २० बर्ष पुरानो सवारी हटाउन आफुहरु तयार रहेको बताउँदै सरकारले विकल्पसहित ९९ प्रतिशत भन्सार छुट दिनुपर्नेमा जोड दिए। संघले टेम्पो तथा मझौला पत्रकारिता पुरस्कारबाट नगद १० हजार १ रुपैंयासहित पत्रकार धु्रव अधिकारीलाई सम्मान गरेको छ भने दुर्घटनामा परेका संघका सदस्य विष्णुप्रसाद उप्रेतिलाई ५१ हजार १ सय ११ रुपैंया सहयोग गरेको थियो। संघको २९ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ।

प्रकाशित: २१ फाल्गुन २०७४ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App