८ वैशाख २०८१ शनिबार
खेल

ब्राजिल स्वर्ण नजिक

रियो दी जेनेरियो- नेइमारले ओलम्पिक इतिहासमै सबैभन्दा छिटो गरिएको गोलसँगै दुई गोल ठोकेपछि ब्राजिलले ओलम्पिक स्वर्ण पदकका लागि जर्मनीविरुद्धको 'रिम्याच' पक्का गरेको छ। बुधबार रियोस्थित माराकाना रंगशालामा सम्पन्न सेमिफाइनलमा आयोजक ब्राजिलले होन्डुरसलाई ६–० को फराकिलो अन्तरमा पराजित गर्दै ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पदक जित्ने आशा जीवित राखेको छ। शनिबार माराकानामै हुने फाइनल दुई वर्षअघि विश्वकप फुटबलको सेमिफाइनलको रिप्लेजस्तै हुनेछ। विश्वकप २०१४ को सेमिफाइनलमा पनि यिनै दुई टोली भेट हुँदा जर्मनीले घरेलु टोलीमाथि ७–१ को रवाफ जमाएको थियो। ब्राजिलले अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा भोगेको त्यो अहिलेसम्मकै फराकिलो हार हो।

साओ पाउलोमा लुकास क्लोस्टरम्यान र निल्स पिटरसनले गोल गरेपछि नाइजेरियामाथि २–० को जित हालिस गर्दै संगठित टोलीको पहिचान बनाएको विश्व च्याम्पियन जर्मनीले फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको सुरुआती दुई खेलमा गोलरहित बराबरीमा सीमित हुँदा नेइमारको तीव्र आलोचना भएको थियो। तर सही समयमा फर्ममा पुनरागमन जनाउँदै देशको निरीह केटाबाट स्वर्णिम युवामा रुपान्तरित भएका नेइमारले बुधबार खेल सुरु १५ सेकेन्डमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए।

'नेइमार एउटा अत्यन्तै खतरनाक खेलाडी हुन्। उनलाई फुटबल खेल्ने कला उपहारका रूपमा प्राप्त भएको छ। उनी आफ्नो प्रतिभाबाट सबैलाई खुसी पार्न सक्छन्,' ब्राजिलका प्रशिक्षक रोगेरियो मिसेलले भने, 'नेइमार हामी सबैबाट सम्मानको हकदार छन्। किनकि उनले ब्राजिललाई माथिल्लो उचाइँमा पुर्‍याएका छन्।'

बार्सिलोनाका स्टारले विपक्षी रक्षक जोनी पालासियोसबाट पेनाल्टी बक्सको छेउमै बल खोसेर गोलकिपर लुइस लोपेजलाई पनि असफल पार्दै खालि पोस्टमा गोल गरेका थिए। उनले दिलाएको अग्रतामा ग्याब्रिअल जिससले पहिलो हाफमै दुई गोल थपे। ग्याब्रिअलले २६ औं मिनेटमा पहिलो व्यक्तिगत गोल गर्दै अग्रता दोब्बर पारे भने ३५ औं मिनेटमा अर्को गोल थपे। पहिलो हाफमा ३–० को अग्रता लिएको टोलीका लागि मार्किन्होजले ५१ औं मिनेटमा चौथो गोल गरे। लुआनले ७९ औं मिनेटमा अर्को गोल गर्दै होन्डुरसलाई थप निरीह पारिसकेको अवस्थामा नेइमारले इन्जुरी समयमा दोस्रो व्यक्तिगत गोल गरे।

होन्डुरसका प्रशिक्षक लुइस पिन्टोले नेइमारको प्रभावशाली प्रदर्शनका कारण नतिजा धेरै फराकिलो भएको प्रतिक्रिया दिए। 'नेइमार विश्व फुटबलका सर्वोत्कृष्ट वा दोस्रो नम्बरका खेलाडी हुन्। त्यसैले उनलाई नियन्त्रण गर्न जस्तोसुकै विपक्षीलाई पनि गाह्रो हुन्छ,' शुक्रबार नाइजेरियाविरुद्ध हुने खेलमार्फत होन्डुरसलाई इतिहासकै पहिलो पदक जिताउने सम्भावना कायम रहेका पिन्टोले भने, 'तर रेफ्रीहरू उनको जालमा सजिलैसँग फसे। हामीलाई ब्राजिलसँग हारेकोमा धेरै पछुतो छैन। उनीहरू निकै माथिल्लो स्तरका टोली हुन्। हामीसँग अझै कांस्य पदक जित्ने सम्भावना कायम छ।'

बुधबारको जितले ब्राजिलको ओलम्पिक पुरुष फुटबलमा चौथो पदक पक्का भएको छ। १९९६ र २००८ मा कांस्य पदक जितेको ब्राजिल चार वर्षअघि फाइनलमा मेक्सिकोसँग स्तब्धपूर्ण पराजय भोग्दै रजत पदकमा सीमित भएको थियो। बुधबारको जितपछि फाइनलको नतिजा जस्तो आए पनि ब्राजिलले रजत पदक जित्ने पक्का भएको छ। विश्वकपमा कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिक फुटबलको इतिहासमा भने ब्राजिलले अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन।

प्रकाशित: ३ भाद्र २०७३ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App