८ वैशाख २०८१ शनिबार
राजनीति

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

काठमाडौं-   नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा अब्बासीलाई गार्ड अफ अनर दिइयो। अब्बासीको सम्मानमा नेपाली सेनाको एक टुकडीले १९ तोपको सलामी प्रदान गरेको छ। पाकिस्तानका प्रधानमन्त्री अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

सरकारले २००७ सालदेखि विदेशी अतिविशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक स्वागत र सम्मान गारत दिँदै आएको थियो। समारोहमा नेपाली सेनाले दुवै देशको राष्ट्रिय गानको धुन बजाएको थियो।

२००७ सालअघि अतिविशिष्ट विदेशी पाहुनाको स्वागत तथा सम्मान तत्कालीन राणा साशकहरुले टुँडिखेलमै गर्थे। अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि अतिविशिष्ट पाहुनाको स्वागत विमानस्थलको अतिविशिष्ट कक्षमा गर्न थालिएको थियो । राणा शासनका बेलामा सुरुमा विदेशी विशिष्ट पाहुनाको स्वागत थानकोटमा गर्ने गरिन्थ्यो । त्यसपछि कालीमाटीमा गर्न थालियो । पछि टुँडिखेल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्न थालिएको थियो । अहिले पुनः टुँडिखेलमै स्वागत तथा सम्मान दिने परिपाटी बसाल्न लागिएको हो।

उनीसँगै पाकिस्तानी विदेशमन्त्री र विदेशसचिव पनि भ्रमणदलमा रहेका छन्। प्रधानमन्त्री अब्बासी ह्यात होटलमा बस्नेछन्। टुँडिखेलमा सम्मान लिएपछि पाकिस्तानी प्रधानमन्त्री दरबारमार्गस्थित होटल याक एन्ड यती जाने छन्। त्यहाँ दुई देशका प्रधानमन्त्रीबीच नेपाल–पाकिस्तान द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा कुराकानी हुनेछ। वार्तामा पाकिस्तानमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनका विषयमा पनि कुराकानी हुने बताइएको छ । भारतको असहमतिका कारण पाकिस्तानमा सन् २०१६ को नोभेम्बरमा हुने भनिएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन । द्विपक्षीय वार्तापछि प्रधानमन्त्री ओलीले याक एन्ड यतीमै अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपतिसँग भेटवार्ता सकेपछि ११ बजे उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ।

द्विपक्षीय कूटनीतिक सम्बन्धलाई प्राथमिकतामा राखी पाकिस्तानका प्रधानमन्त्रीले २४ वर्षपछि गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो। यसअघि सन् १९९४ मेमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टोले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन नेपाल भ्रमण गरेकी थिइन् । त्यसपछि पाकिस्तानका एकजना राष्ट्रपति र तीन जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए । ती सबै भ्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनसँग सम्बन्धित थिए।

सबै तस्बिर: केशव थोकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App