७ वैशाख २०८१ शुक्रबार
समाज

तुइनमुक्त हुन सकेन तनहुँ

तनहुँको ऋषिङ गाउँपालिका–१ का स्थानीय ज्यानको जोखिम मोलेर दुलेपहरोमा राखिएको तुइनबाट सेतीनदी तर्दै ।तस्बिर:श्रीहरि/नागरिक

तनहुँ– सरकारले तुइनमुक्त गर्ने घोषणा गरेको दुई वर्ष पूरा भएपनि तनहुँ अझैसम्म तुइनमुक्त हुन सकेको छैन ।
ऋषिङ र देवघाट गाउँपालिकाका स्थानीय ज्यानजोखिममा राखेर तुइनबाट सेतीनदी तर्न बाध्य छन् । तनहुँमा चार ठाउँमा तुइन विस्थापन गरेपनि अझै तीनस्थानमा भने तुइन विस्थापन हुन सकेको छैन ।

ऋषिङ गाउँपालिका–१ तल्लो सेताङ, भालबोन, बाँझा गाउँका स्थानीय अहिले पनि दमौली बजार आवत–जावतका गर्न तुइन प्रयोग गर्न बाध्य छन् ।

ऋषिङ गाउँपालिका–१ तल्लो सेताङका ५० वर्षीय टीकामाया राना गाउँमा उत्पादन गरेका कृषिजन्य उत्पादन बिक्री गर्न सदरमुकाम दमौली झर्ने गरेकी छन् । रानाहप्ताको दुईपटक सदरमुकाम दमौली झर्ने गरेको बताउँछिन् ।

‘सामान बेच्नका लागि दमौली बजार नआउँदा घरखर्च चलाउन गाह्रो छ, गाउँको अदुवा, खुसार्नी, साग, तरुल, पिँडालु र बोडीजस्ता कृषिजन्यवस्तु लिएर बजार झर्ने गरेकी छु,’ उनले भनिन्,‘उकालो–ओरालोको बाटोमा भारी बोकेर हिँड्न बरुत्यति दुःख भएजस्तो लाग्दैन, तर तुइन तान्नु पर्दा त सासै फुस्किएझै हुन्छ ।’ 

एक्लैले तुइन तान्नै मुस्किल हुने हुनाले कृष्णमाया, कुलीमाया, सोममाया आले सधैं सँगैदमौली झर्ने गरेको बताउँछन् । एकजनाले मात्र तुइन तान्न मुस्किल हुने हुँदातुइन तान्न सहज होस् भनेर साथीसँग मिलेर बजार झर्ने गरेको कृष्णमाया आलेले बताइन् । ‘साथीसँगीआलोपालो गरेर तुइन त तानिन्छ, तुइन चुँडिएरनदीमा खस्छ कि भन्ने अर्को चिन्ता छ,’ आलेले भनिन् । 

सेताङका एक सय ५० घरपरिवारले चन्दा संकलन गरेर तुइन मर्मत र सामान फेर्नका लागि गाउँलेहरूले वर्षमा चन्दा संकलन गर्दै आइरहेका छन् । घरपरिवारको अवस्था हेरेर दुईदेखि तीन सय रुपैयाँ चन्दा संकलन गर्ने गरेको कुलीमाया आलेले बताइन् ।

ऋषिङ गाउँपालिका–१ तल्लो सेताङ, भालबोन, बाँझा गाउँका स्थानीय दमौली बजार आउन–जानका लागि तुइनको प्रयोग गर्न बाध्य छन् । उनीहरूले तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गरिदिन माग गरेका छन् । 

दुलेपहरोमाजस्तै खहरे, साराङघाटमा पनि अहिलेसम्म तुइन विस्थापित हुन सकेको छैन । यस ठाउँमा तुइन विस्थापित गर्नका लागि जिल्ला समन्वय समिति तनहुँले झोलुंगे पुल निर्माण गर्न थालेको छ । 

खहरेमा करिब ७० लाख र साराङघाटमा ९० लाख रुपैयाँको लागतमा सो पुलको निर्माण कार्य अगाडि बढाइएको सबइन्जियिनर सुरेश अधिकारीले बताए । ‘तुइनलाई विस्थापन गर्नका लागि पुल निर्माण गरेको र असार मसान्तभित्र पुल निर्माण सम्पन्न गरी तुइन विस्थापन गर्छौं,’ उनले भने ।

तनहुँको विमलनगर, सिमालताल, आबुखैरेनी, भिरकोटको बलीभज्याङमा झोलुंगे पुल निर्माण गरी यहाँको तुइन विस्थापित गरिसकेको जिल्ला प्राविधिक कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित: २१ फाल्गुन २०७४ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App