८ वैशाख २०८१ शनिबार
समाज

असला माछा मारे जरिवाना

खोटाङ (रासस)- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन्।
पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो।
रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने भुत्याखोलामा माछा मार्न रोक लगाइएको स्थानीय सर्वधन राईले जानकारी दिए। “लोप हुन लागेको असला माछा संरक्षणका लागि समितिसमेत बनाएका छौँ,” उनले भने – “संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटे रु पाँचदेखि १० हजार, दोस्रो पटक रु १० देखि २० हजार र तेस्रो पटक रु २० देखि तीस हजार नगद जरिवानासहित कानूनी कारबाही गर्ने निर्णय गरेको छ।”
संरक्षण समितिमा आबद्ध स्थानीयवासीले माछा पाइने खोलाहरुको नियमित अनुगमन गर्नसमेत शुरु गरेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्यद्वारहरुमा असला माछासहितको होर्डिङबोर्ड राखिएको समितिले जनाएको छ ।
माछा संरक्षण समितिलाई वडाको तर्फबाट समेत आवश्यक सहयोग हुने वडाध्यक्ष रामचन्द्र राईले बताए। स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको छ ।
यसअघि, ती खोलाहरुमा पाइने असला माछा स्थानीयवासीले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलामा पनि प्रशस्त पाइने असला माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ।
 

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App