८ वैशाख २०८१ शनिबार
अर्थ

भेरीमा र्‍याफ्टिङ सुरु

सुर्खेत- आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु भएको छ। प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा जलयात्रा सुरु भएको हो। जलयात्राको लागि फागुनदेखि जेठ महिनासम्मको समय उपयुक्त मानिन्छ।

भेरीमा भेरी–कर्णाली र्‍यापिड एड्भेन्चर प्रालि र कर्णाली–भेरी र्‍यापिड एडभेन्चर प्रालिले जलयात्रा गराउँदै आएका छन्। मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर दूरीको जलयात्रालाई दुई खण्डमा विभाजन गरेर जलयात्रा गराउने गरिएको कर्णाली–भेरी र्‍यापिड एडभेन्चर प्रालिका सञ्चालक हरि विष्टले जानकारी दिए ।

मेहलकुनादेखि भेरी पुलसम्मको २१ किलोमिटरलाई पहिलो खण्ड र भेरी नदीदेखि रानीघाटसम्मको २४ किलोमिटरको दूरीलाई दोस्रो खण्डका रुपमा विभाजित गरिएको छ । ‘पहिलो खण्डमा धेरै र्‍यापिड छैन्, यहाँ सबैले सहजै जलयात्रा गर्न सक्छन्’ विष्टले भने, ‘दोस्रो खण्डमा धेरै र्‍यापिड भएकाले साहसिक पर्यटकहरुका लागि उपयुक्त छ।’

प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि भेरी नदी महत्वपूर्ण गन्तव्य बन्दै गएको बताए । ‘भेरीमा र्‍याफ्टिङ सुरु भएको चार वर्षयता उल्लेख्य मात्रामा बाह्य पर्यटक सुर्खेतमा भित्रिएका छन्’ अध्यक्ष शाहीले भने, ‘यसलाई अझै प्रचार–प्रसारमा ल्याउन जरुरी छ ।’ अध्यक्ष शाहीले नजिकको छिमेकी मुलुक भारतका पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले र्‍याफ्टिङले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भेरी पुलदेखि कर्णाली (चिसापानी) सम्म र्‍याफ्टिङ सञ्चालन गर्नुपर्ने बताए । ‘छोटो दूरीका साथै कम्तीमा दुई–तीन दिनको प्याकेज बनाउन सकेको खण्डमा बाह्य पर्यटक आकर्षित गर्न सहज हुन्छ’ उनले भने, ‘निजी क्षेत्रकातर्फबाट र्‍याफ्टिङ व्यवसायको प्रवद्र्धनका लागि हामी सहयोग गछौं ।’ 

भेरी–कर्णाली र्‍यापिड एड्भेन्चर प्रालिले एक र कर्णाली–भेरी र्‍यापिड एडभेन्चर प्रालिले दुई र्‍याफ्टिङ, आठ वटा काइट सञ्चालन गर्दै आएका छन् । भेरी–कर्णाली र्‍यापिड एड्भेन्चर प्रालिका सञ्चालक समुन्द्र गौतमले पछिल्लो समय र्‍याफ्टिङ गर्नेहरु बढ्दै गएको बताए। ‘हरेक सिजनमा र्‍याफ्टिङ गर्नेहरुको संख्या बढ्दै गएको छ’ उनले भने, ‘आन्तरिक मात्रै होइन्, बाह्य पर्यटकहरु पनि बढ्दै गएका छन्।’

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App